s

बेलायत, अस्ट्रेलिया र माल्दिभ्स पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

१३ चैत, काठमाडौं । बेलायत, अस्ट्रेलिया र माल्दिभ्स पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार ३ जनालाई पक्राउ गरेको हो ।

काठमाडौंको शंखरापुरका ३८ वर्षीय सुवास आचार्य, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ का २७ वर्षीय महेन्द्र अधिकारी र म्याग्दीको बेनी नगरपालिका–४ का ३९ वर्षीया राममाया गुरुङ पक्राउ परेका छन् ।

आचार्यले बेलायत पठाइदिने भन्दै १६ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ । उनले बेलायतमा ‘वर्किङ भिसा’मा पठाउने भन्दै नक्कली ‘अफर लेटर’समेत देखाएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए ।

त्यसैगरी अधिकारीले अस्ट्रेलिया पठाइदिने भनेर १२ लाख ठगी गरेको आरोप लागेको छ । उनले अर्जुन तामाङ नाम गरेका व्यक्तिलाई अस्ट्रेलिया पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोप छ ।

गुरुङले आकर्षक तलबमा माल्दिभ्स पठाउने भन्दै नक्कली भिसा देखाएर ३ लाख ठगी गरेको आरोप छ । पक्राउ परेका सबैलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइने एसपी पोखरेलले बताए ।

Published on: 27 March 2024 | Onlinekhabar

Link

Back to list

;