s

बेलारुसमा अलपत्र नौ महिलालाई स्वदेश फर्काइयो

काठमाडौं, चैत १० गते । बेलारुसमा अलपत्र नौ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । शुक्रबार उनीहरूलाई नेपाल फर्काइएको हो । नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राई हुनुहुन्छ ।

नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले नेपाल फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिनुभयो ।

उहाँले विदेशमा पु¥याइ अलपत्र बनाउने अपराधीलाई सरकारले कारबाही गर्ने आश्वासन दिनुभयो । सांसद राईले भन्नुभयो, ‘‘नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाइ काम गर्नुहोला, तपाईँहरूलाई हामी न्याय दिनेछौँ, अपराधीलाई कारबाही गर्नेछौँ ।’’

त्यस्तै नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभाग सदस्य क्रितु भण्डारीले नौ जना महिलालाई ललाईफकाई बेलारुस पु¥याइ अलपत्र पारिएकालाई स्वदेश फर्काइएको बताउनुभयो ।

त्यस्तै, स्वदेश फर्काइएकी पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरूले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमिक नदिएको र पीडा दिने गरेको बताउनुभयो । उहाँले नेपालबाट जाँदा एजेण्टहरुले डलरमा पैसा दिने भनेपनि बेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ रुपियाँ दैनिक पाउने गरेको जानकारी दिनुभयो ।

पीडित नौ जना महिलालाई विभिन्न संघसंस्थाहरुको सहयोगमा नेपाल फर्काइएको हो । उनीहरू टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको थियो ।

Published on: 27 March 2023 | Gorkhapatra

Link

Back to list

;