s

बेलहिया नाकामा साढे २ सय बढी नेपाली दुई दिनदेखि अलपत्र

मोहम्मद हबिब

 

भैरहवा- भारतबाट नेपाल फर्कनेहरुको संख्या अझै रोकीएको छैन। रुपन्देहीको बेलहिया नाकाबाट अहिले पनि  भारतका बभिन्न शहरबाट घर जान भन्दै नेपालीहरु आइरहेका छन्। तर नाका बन्द र लकडाउन भएका कारण ती नेपालीहरु दुई दिनदेखि सीमामै अलपत्र छन्। शनिबारदेखि सोमबारसम्म आएका साढे २ सय बढी नेपालीहरु अहिले बेलहिया नाका पारी सुनौलीमा अलपत्र छन्। त्यसरी आउनेमा केही भारतका बिभिन्न शहरमा अध्ययनरत किशोर किशोरी र केही महिला पनि छन्।  

प्रवेश नपाएपछि नेपालीहरु यत्र तत्र छरिएर बसेका छन्। नेपाल आएर भने शर्त अनुसार क्वारेन्टाइनमा बस्न तयार रहेको उनीहरूले बताएका छन्। ‘हिजैबाट हामी सीमामा छौ। हामीलाई क्वारेन्टाइनमा बस्ने गरी प्रवेश दिएपनि हामी मान्न तयार छौ, यही हुन्छ वा आफ्नो क्षेत्रको क्वारेनटाइनमा बस्ने गरी हामी जान तयार छौ’ दिल्लीबाट आएका सुजन कण्डेलले भने। स्वदेश फर्किने वातावरण मिलाई छिटो भन्दा छिटो उद्वार गरिदिन आग्रह गरे। दिल्लीमा अलपत्र परेकाहरुलाइ उद्वार गरी सम्बन्धित ठाँउमा पुर्‍याउने क्रममा भारतको उत्तर प्रदेश सरकारले नेपालीहरुलाई पनि बेलहिया नाकामा ल्याएर छोडीदिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए। 

त्यसरी ल्याइएकाहरुले दुई दिनदेखि सीमावर्ती भारतीय बजार सुनौलीकै सडकमा पेटीमा रात काट्न बाध्य छन्। नाकामा अलपत्र परेकाहरुलाई सोमबार दिउँसो भने भारतीय पक्षले स्थानीय एक विद्यालयमा लगेर राखेका छन्। सीमामा अलपत्र परेका यात्रुहरुलाई बेलहिया गाउँसमाज र सुनौलीका स्थानीयहरुले मिलेर खानाको व्यवस्था मिलाइरहेका छन्। भारतबाट नेपाल आउने यात्रुहरुको खानपिन ब्यवस्थापन र उनीहरुलाई सुरक्षित रुपमा नेपाल आउन दिने पहल समेत गरिरहेको बेलहियाका स्थानीय राम बस्नेतले बताए। ‘हिजैदेखि सीमापारी अलपत्र परेका मजदुर र विद्यार्थीहरुलाई हामीले सक्दो सहयोग गरिरेका छौ’ बेलहियाका स्थानीय थापाले भने। 

नाकामा अलपत्र परेकाहरुको सम्बन्धमा जिल्ला प्रशासन र सरोकारवाला निकायलाई जानकारी गराइसकेको इप्रका बेलहियाका प्रहरी निरीक्षक अधिकारीले बताए। सोमबार दिउँसो अवेरसम्म नेपाल प्रवेश दिने भन्ने विषयमा माथिबाट कुनै निर्देशन नआएको उनले बताए। 

जिल्ला प्रशासान कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले नेपाल सरकारको लकडाउन आदेशलाई कार्यान्वयन गरिरहेको बताए सीमाको अवस्थाबारे गृहमा जानकारी पठाइसकेको छौ। ‘सीमा बन्द भएको अवस्थामा माथीबाट निर्देशन नआएसम्म हामीले छोड्न मिल्दैन। प्रवेशको अनुमति दिने वा नदिने विषयमा सुरक्षा समितिको बैठक बसीरहेको छौ, प्रवेशको विषयमा पनि लबिङ गरिरहेका छौ अहिले सम्म कुनै निर्देशन आएको छैन थापाले भने। 

सुरक्षाकर्मीलाई पञ्जा तथा खाजा

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित एयरपोर्टका युवाहरुले सीमा तैनाथ सुरक्षाकर्मीहरुलाई पञ्जा, दिवा खाजा तथा पानी वितरण गरेका छन्। 

सीमा नाका बेलहियासहित भैरहवाका विभिन्न स्थानमा नागरिकको सुरक्षामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उक्त सामग्री वितरण गरिएको हो। कोराना भाइरस विश्वव्यापी रुपमा फैलिएको र नेपाले पनि लकडाउन गर्दा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई मध्यनजर गर्दै सामग्री वितरण गरिएको स्थानीय कृष्णबहादुर गुरुङले बताए।

Published on: 30 March 2020 | Nagarik

Link

Back to list

;