s

बेलहिया नाकाबाट तीन महिनामा ३७ हजार बढी भारत प्रवेश

दीपेश पछाई

 

कोरोनाका कारण भारतबाट स्वदेश फर्किएका प्रवासी नेपालीहरू रोजगारीका लागि पुनः भारत जान थालेका छन् । रुपन्देहीको बेलहिया नाका भएर यतिवेला दैनिक ६ सयदेखि ८ सयको हाराहारीमा नेपालीहरू भारत प्रवेश गर्ने गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेलले बताए । 

बैशाख १ गतेदेखि असार मसान्तसम्म ३७ हजार ४ सय ६७ जना रोजगारीका लागि बेलहीया नाकाबाट भारत प्रवेश गरेका छन् । त्यसैगरि सोहि समयमा भारतबाट २२ हजार ४ सय ३१ जना नेपाल प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहीयाले जनाएको छ । 

वैशाख–जेठमा भन्दा अहिले असार सुरु भएपछि भारत जाने क्रम बढेको उनले बताए । नेपालमा असारको पहिलो हप्ताबाट लकडाउन खुकुलो भएसँगै रोजगारीमा जानेहरू बढ्न थालेको प्रहरी निरीक्षक पौडेलको भनाइ छ ।

अहिले भारतबाट नेपाल प्रवेश गर्नेको संख्या भने दैनिक दुईदेखि तीन सयको हाराहारीमा रहेको छ । अघिल्लो वर्षको कोरोनाको पहिलो चरणमा नेपालबाट भारततर्फ ६९ हजार सात सय ५४ जना गएका थिए भने भारतबाट नेपालतर्फ ६८ हजार चार सय ४६ जना प्रवेश गरेका थिए । यो तथ्यांक कोरोनाको पहिलो चरण अर्थात्  २०७६ चैत्र १ गते देखि २०७७ पुस २० गतेसम्मको तथ्यांक रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेलले जानकारी दिए ।

Published on: 18 July 2021 | Nayapatrika

Link

Back to list

;