s

बेलायती प्रधानमन्त्री कार्यालयसामु गोर्खा अनशन

नवीन पोखरेल

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले सेवानिवृत्त भूपू गोर्खाहरूका समस्या समाधानका लागि आफ्नो सरकार वार्ता गर्न तयार रहेको लिखित प्रतिबद्धता जनाए पनि तत्काल ठोस कदम नचालिएको भन्दै भूतपूर्व गोर्खाहरूले लन्डनमा रिले अनशन सुरु गरेका छन् ।

प्रधानमन्त्री क्यामरुनको प्रतिबद्धताअनुरूप तत्काल वार्ताको कुनै सम्भावना नदेखेपछि पूर्वनिर्धारित कार्यक्रमबमोजिम सेवानिवृत्त गोर्खाहरूले शुक्रबार दिउँसोबाट बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्टि्रट अगाडि रिले अनशन सुरु गरेका हुन्् ।

समान पेन्सन, १८ वर्ष नाघेका आफ्ना सन्तानलाई आवासीय अधिकार, निःशुल्क औषधोपचार सुविधालगायत विभिन्न माग राखेर सुरु भएको गोर्खा सत्याग्रह आन्दोलनको ६ महिना सकिएलगत्तै भूपू गोर्खाहरूको १३ दिने रिले अनशन सुरु भएको छ । १३ भिसी विजेताहरूको नाममा १३ दिनकै रिले अनशन थालिएको गोर्खा सत्याग्रह, लन्डन संयुक्त संघर्ष समितिका गोर्खा दूत डा. रामनारायण कन्दङ््वाले जनाए । हालै आफूहरूलाई पठाएको तेस्रो पत्रमा प्रधानमन्त्री क्यामरुनले गोर्खा योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूको हकअधिकार आन्दोलनप्रति समर्थन जनाएर वार्ता बस्ने आश्वासन दिए पनि अहिले चुप रहेपछि अनशन गर्नुपरेको कन्दङ्वाले बताए ।

चौबीस घन्टे रिले अनशनको पहिलो दिन रामकाजी राई, कमला लिम्बू र दिलबहादुर राई सामेल छन् । उनीहरू पानी मात्र पिएर अनशन बसेका हुन् ।

Published on: 27 October 2013 | Kantipur

Back to list

;