s

बेल पाक्यो उद्यमी खुसी

प्रताप रानामगर

कागलाई बेल पाक्यो हर्ष न बिस्मात् भन्ने उक्तिविपरीत यहाँका उद्यमी महिलाले राम्रो लाभ लिइरहेका छन् । म्याग्दे गाउँपालिकाका एक सय महिलाका लागि बेल आम्दानीको गतिलो स्रोत बनेको छ ।

गाउँपालिकाका ६ सामुदायिक वनमा आबद्ध एक सय महिलाले बेल बिक्री र जुस उत्पादन गर्दै आएका छन् । जुस बनाउने काममा ९ महिला संलग्न छन् भने अरू जंगल चाहारेर बेलका दाना टिप्छन् । दाना प्रतिकिलो २० रुपैयाँमा बेचेर पैसा कमाउँछन् ।
 
माउन्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल उद्योग सञ्चालनसँगै बेलले घरआँगनमा रोजगारी मिलेको सीता विकले बताइन् । ‘घरायसी काममा दिन बित्थ्यो,’ उनले भनिन्, ‘जुस उद्योग खुलेपछि रोजगारी मिलेको छ ।’ दिदीबहिनी मिलेर जंगलमा गएर बेल बटुलेर ल्याउने र प्रशोधन गरेर जुस बनाउने उनले बताइन् । यसबाट हुने आम्दानीले २/४ रुपैयाँका लागि श्रीमान् वा अरुसँग हात थाप्नुपर्ने अवस्थाको अन्त्य भएर घरव्यवहार चलाउन पनि राहत मिलेको उनले बताइन् ।
 
वनमा खेर गएको बेल आम्दानीको राम्रो स्रोत भएको हेममाया थापाले बताइन् । ‘सामुदायिक वनबाट ९१ दिदीबहिनीले बेल संकलन गर्छौं,’ उनले भनिन्, ‘नौ महिला उद्योगमा बसेर बेल प्रशोधन गरी जुस उत्पादन गर्छन् ।’ उद्योगमा काम गर्ने महिलामा दलित, जनजाति, एकल महिला र अन्य छन् । उद्योगमा काम गर्ने महिलाले दैनिक ४ सय २५ रुपैयाँ ज्याला पाउँछन् ।
 
बेल प्रतिकेजी २० रुपैयाँमा बिक्छ । ७ सय मिलिलिटरको बोतलमा जुस बजारमा पठाइन्छ । प्रतिबोतल २ सय १० मा खुद्रा बिक्री हुन्छ । वैशाख र जेठमा बेल टिपिन्छ । एकजनाले यो दुई महिनामा दैनिक ६० देखि २ सय किलोसम्म बेल टिप्ने र यसबाट १२ सयदेखि ४ हजार रुपैयाँसम्म आम्दानी हुने पार्वती रानाभाटले बताइन् ।
 
सिजनेवल भए पनि बेलको गुदी निकालेर सिलबन्दी गरेपछि वर्षदिनभर केही नहुने उनको भनाइ छ । ‘यसले बाह्रै महिना उद्योग सञ्चालनमा सहयोग पुगेको छ’ उनले भनिन् । एक किलो बेलबाट सवालिटर जुस बनाउन सकिन्छ ।
 
५ वर्षअघि स्थापना भए पनि उद्योगले २ वर्षदेखि उत्पादन बढाएको हो । २ वर्षमा उद्योगले ५ लाख नाफा गरिसकेको संस्थापक अध्यक्ष विष्णुकमार श्रेष्ठले बताए । उनले भने, ‘अब वर्षमा १० हजार बोतल जुस उत्पादनको लक्ष्य छ ।’ जुस अधिकांश काठमाडौंमा बिक्री हुन्छ । सामुदायिक वनबाट ४ लाख ६० हजार रुपैयाँ उठाएर सुरु उद्योगमा एक करोड रुपैयाँ लगानी पुगेको छ । ६ सय ५० हेक्टर वनमध्ये एक सय २० हेक्टर क्षेत्रफलमा बेल उत्पादन हुन्छ । गत वर्ष १६ हजार बिरुवा रोपिएको छ ।
 
०६८ मा सामुदायिक वनले बेल प्रशोधन र जुस उत्पादन गर्न वन कार्यालयमा माग गरेका थिए । अध्ययन र अनुसन्धानले सम्भव देखाएपछि उद्योग सञ्चालन गर्न डिभिजन वन कार्यालयले सहयोग गरेको प्रमुख केदार बरालले बताए । ‘उपभोक्ताको सक्रियता र कार्यालयको सहयोगले उद्योग फस्टाएको छ,’ उनले भने । बेलको जुसले पायल्स, कब्जियत, रक्तचापजस्ता रोगलाई नियन्त्रण गर्न मद्दत पुग्ने चिकित्सकको दाबी छ ।
 
Published on: 14 June 2019 | Annapurna Post

Back to list

;