s

बेलहिया नाकाबाट एक हप्तामा ३७ सय नेपाली भित्रिए

सलमान खान

 

भैरहवा : रोजगारीका लागि भारत गएका नेपालीलाई स्वदेश भित्र्याउने क्रम तीव्र पारिएको छ । लकडाउनका कारण रोजगारी गुमाएका र जीवनयापन गर्न समस्या परेपछि नेपाली मजदुर अहिले स्वदेश भित्रिन थालेका हुन् ।

सुरक्षा सयन्त्रबाट प्राप्त तथ्यांक अनुसार रुपन्देहीको बेलहिया नाकाबाट पछिल्लो एक हप्तामा ३ हजार ६ सय ९३ जना नेपाली मजदुर मुलुकमा भित्रिएका छन् । पछिल्लो एक हप्तामा वैशाख ३१ गते ४ सय ९५, जेठ ३ गते २ सय ३९, चार गते १ सय ६५, छ गते ४ सय ३६, सात गते एक सय १०, नौ गते एक हजार एक सय ८५ र दश गते एक हजार ६३ जना गरी ३ हजार ६ सय ९३ जना नेपाली भित्रिएका हुन् । यस बाहेक खुल्ला सीमानाका कारण दैनिक अवैधानिक रुपमा लुकिछिपी हजारौं नागरिक भित्रिइसकेका छन् । जसको तथ्यांक छैन । 

केही समयअघि सीमानामा पुग्ने नेपालीलाई स्वदेश भित्रयाउने हकमा संघीय सरकारबाट निर्देशन नआएसम्म उनीहरुलाई सीमावर्ती भारतीय क्वारेन्टाइनमै बस्नुपर्थ्यो । क्वारेन्टाइनमा महिना दिन पुगेपनि स्वदेश भित्रयाउनका लागि सरकार उदासिन देखिएको थियो । सीमापारीबाट नेपालीको उद्दार नहुँदा पारीको क्वारेन्टाइनमा हजारौं नेपाली असुरक्षित रुपमा खचाखच भरिएका थिए । क्वारेन्टाइनमा बसेका नेपालीले समय समयमा अनसन बस्ने, सरकारविरुद्ध नाराबाजी गर्ने जस्ता किसिमका आन्दोलन गर्दा भारतीय प्रशासनलाई समेत व्यवस्थापन गर्न समस्या पर्न थालेको थियो ।

त्यसपछि स्थानीय प्रशासनले सीमापारी रहेका मजदुरलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा पालिकाले आफ्नो नागरिकको सीमाबाट उद्दार गर्न सक्ने व्यवस्था मिलाएपछि मुलुकमा नेपाली भित्रिने संख्या बढेको हो । भारतको सोनौली नाकामा नेपाली आउने चाप दिनँहु बढ्न थालेपछि प्रशासनले यस्तो व्यवस्था मिलाएको हो ।

'सीमापारी रहेका नेपालीहरुको विवरण उनीहरुको सम्बन्धित जिल्ला प्रशासन र पालिकालाई पठाएर आफ्नो नागरिक लैजान अनुरोध गछौँ,' रुपन्देहीको इप्रका बेलहियाका इन्सपेक्टर ईश्वरी अधिकारीले अन्नपूर्णसगँ भने, 'त्यसपछि उनीहरुले यहाँ आएर आफ्नो नागरिक लैजाने क्रम बढेपछि भित्रिनेको संख्या पनि बढेको हो ।'

उनका अनुसार सीमाबाट उद्दार गरेर लगिएका नेपालीलाई सम्बन्धित जिल्ला प्रशासन वा पालिकाले आफ्नो क्षेत्रको क्वारेन्टाइनमा राख्ने गरी यहाँबाट पठाउने गरिएको छ । सीमाबाट भित्राइने नेपालीको नाकामा स्वास्थ्य परीक्षणका लागि परीक्षण किट अभाव भएकाले उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण गर्ने गरी उद्दारको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

'दैनिक हजारौंको संख्यामा नेपाली आउन थालेपछि नाकामा थेग्ने समस्या भयो,' रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, 'किट पनि अभाव छ, त्यसैले सम्बन्धित पालिकाले आफ्नो नागरिकलाई आफ्नै क्वारेन्टाइनमा राखेर हेरचाह र परीक्षण गर्छु भनेर माग गरेमा हामीले पठाउने गरेका छौँ ।' उनका अनुसार लकडाउनको अवधिमा बेलहिया नाकाबाट चार हजार नेपाली भित्रिएका छन् ।

Published on: 24 May 2020 | Annapurna Post

Link

Back to list

;