s

बेचिएका युवतीको उद्धार

गणेश विशु

नेपालगन्जस्थित जमुनाहा नाका हुँदै भारतीय बजारमा बेचबिखनमा परेका नौ जना नेपाली युवतीको उद्धार गरिएको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोको समन्वयमा भारतस्थित नेपाली दूतावास, भारतीय सामाजिक संस्था केआइएल इन्डिया, नेपालस्थित शक्ति समूह र भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो।

काठमाडौंका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने युवतीलाई भारतको दिल्लीस्थित विभिन्न होटेल, रेस्टुरन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइ समेत धेरै हुने प्रलोभनमा पारी दिल्ली पुर्‍याइएको थियो। दिल्लीमा ती युवतीलाई बन्धक बनाई जबर्जस्ती वेश्यावृत्तिमा लगाइएको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता कृष्णप्रसाद पगेनीले जनाए। उद्धार गरिएका उनीहरूलाई अहिले सामाजिक संस्थाको संरक्षणमा राखिएको छ।

विभिन्न प्रलोभनमा पारी दिल्लीमा बन्धक बनाई वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न तीनजना पक्राउसमेत परेका छन्। मकवानपुरको भीमफेदी गाउँपालिका–९ की २० वर्षीया सम्झना तामाङ उर्फ सेन्जी तामाङ, धादिङ धुनीबेसी नगरपालिका–२ का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया सुष्मा मग्राती पक्राउ परेका हुन्।

‘काठमाडौंका माछापोखरी, बसपार्कलगायतका ठाउँमा मनोरञ्जन क्षेत्रमा काम गर्ने युवतीलाई विभिन्न माध्यमबाट सम्पर्क गरी प्रलोभनमा पार्ने गरेको बुझिएको छ’, प्रवक्ता पगेनीले भने, ‘युवतीलाई भारतको दिल्ली लैजान काठमाडौंबाट नेपालगन्ज हुँदै जमुनाहा नाका पार गरी दिल्लीको बसमा चढाई दिल्ली पुर्‍याउने गरिएको छ।’

बेचबिखनमा संलग्न गिरोहले २०७९ असोजदेखि फागुनसम्म नौजना युवतीलाई काठमाडौंदेखि दिल्ली पुर्‍याएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

‘पीडितमध्ये केही युवतीलाई निजी गाडीमा राखी प्याकिङ खाना तथा जुसमा औषधि मिसाइ बेहोस बनाएर ‘बोर्डर क्रस’ गराउने गरेको पाइएको छ’, प्रवक्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पीडित युवतीलाई दिल्ली पुगेको केही दिनमा नयाँ मोबाइल तथा भारतीय नम्बरको सिम उपलब्ध गराई फेसबुक समेत उनीहरू आफैंले खोली दिई उक्त फेसबुकको पासवर्ड समेत आफैंले राखी अनलाइन निगरानी गर्ने गरेको पाइएको छ।’

पीडित युवतीहरूलाई दिल्ली किसनगढस्थित पंजापिठापा भन्ने स्थानमा भाडामा लिएको फ्ल्याटमा सिसी क्यामेराको निगरानीमा राखिएको बताइएको छ। सम्पर्कमा आएका व्यक्तिलाई ह्वाट्स्एपमार्फत पीडित युवतीहरूको फोटो पठाई उनीहरूले छानेका युवतीलाई वेश्यागमनमा आउने र उनीहरूले भनेको होटेल, घरमा ट्याक्सी बुक गरी पुर्‍याइदिने गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले विज्ञप्तिमा उल्लेख गरेको छ।

चिनेजानेका र विश्वासिला ट्याक्सी चालक मार्फत सम्बन्धित ग्राहकले भनेको स्थानमा पठाउने र ग्राहकसँगको कारोबार अनलाइनमार्फत हुने गरेको खुलेको छ। प्रत्येक महिनामा एक जना युवतीले कम्तीमा एक सय ८० जनासँग शारीरिक सम्पर्क गर्नुपर्ने दबाब दिने गरेको पीडित युवतीले मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बताएका छन्। उक्त गिरोहले पीडित युवतीहरूलाई दिल्लीबाहेकका अन्य सहरमा समेत पठाउने गरेको भेटिएको छ।

दुई जनालाई नेपाल र एकजनालाई भारतबाट पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक जीवन श्रेष्ठले जनाए। ‘यहाँ धेरै काम गर्दा थोरै पैसा पाउने अवस्थामा युवतीलाई धेरै पैसा पाइने प्रलोभन देखाइएको रहेछ’, उनले भने, ‘धेरै पैसा भनेपछि ती युवती भारत पुगे। भारतमा अस्वाभाविक काममा लगाएपछि उनीहरूले आफन्तसम्म खबर पुर्‍याएका थिए।’

भारतीय बजारमा नेपाली युवती भनेपछि फरक ढंगले हेर्ने र मूल्य पनि बढी पर्ने भन्दै उनले भने, ‘दुईतीन महिना दिल्लीमा राख्ने र फेरि दिल्लीभन्दा बाहिरका होटेल तथा रेस्टुरेन्टमा पठाउने गरिँदो रहेछ।’

Published on: 29 March 2023 | Nagarik

Link

Back to list

;