s

बेचिएका तीन नेपाली युवती लिएर मलावीका प्रहरी नेपालमा

अफ्रिकी मुलुक मलावीको डान्सबारमा बेचिएका तीन नेपाली युवतीलाई उद्धार गरी नेपाल ल्याइएको छ । मलावीका दुई प्रहरी अधिकृत ती युवतीलाई लिएर बिहीबार नेपाल आएका हुन् । आठ महिनाअघि उनीहरूलाई दुबई हुँदै मलावी पुर्‍याइएको थियो । भारतीय नागरिक असलाम अडाम साकरानीले आफ्नो डान्सबारमा काम लगाउने भन्दै ती युवतीलाई मलावी पुर्‍याएका थिए । २८ फागुन ०७५ मा त्यहाँको प्रहरीले उनीहरूको उद्धार गरी सेफ हाउसमा राखेको थियो ।

मलावी प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मार्फत त्यसबारे नेपाल प्रहरीलाई जानकारी गराएको थियो । ‘त्यसलगत्तै उनीहरूलाई नेपाल ल्याउन पहल गर्दै आएका थियौँ,’ प्रहरीका केन्द्रीय सहप्रवक्ता एवं नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले भने, ‘लामो प्रयासपछि उनीहरूलाई नेपाल ल्याउन सफल भएका छौँ ।’ उनीहरूलाई अफ्रिकासम्म पठाउने गिरोहबारे अनुसन्धान हुने उनले बताए ।

मलावीमा डान्सबार चलाउने भारतीय नागरिक असलामलाई त्यहाँको प्रहरीले पक्राउ गरिसकेको छ । त्यहाँको प्रहरीले चार नेपाली युवतीलाई उद्धार गरेको थियो । जसमध्ये तीनजनाको कानुनी प्रक्रिया पूरा भएपछि उनीहरूलाई नेपाल ‘डिपोर्ट’ गरिएको हो । सामान्यतया डिपोर्ट गरेपछि सम्बन्धित देशका प्रहरी अधिकारीले मतलब राख्दैनन् । तर, मलावीका प्रहरीले भने नेपाल ल्याएर नेपाल प्रहरीलाई नै बुझाएका छन् । बिहीबार बिहान विमानस्थलमा इन्टरपोल शाखाका प्रहरीलाई उद्धार गरिएका युवतीहरू बुझाएका हुन् ।

सो घटनाको नेपालमा छुट्टै अनुसन्धान हुने एसएसपी जोशीले बताए । अध्यागमनकै सेटिङमा उनीहरूको तस्करी भएको प्रहरी आशंका छ । मानव बेचबिखन नियन्त्रण ब्युरोले घटनाको अनुसन्धान गर्नेछ ।

केही महिनाअघि अर्काे अफ्रिकी देश केन्याको डान्सबारमा तस्करी गरिएका युवतीहरूको समेत उद्धार गरिएको थियो । अफ्रिकी देशहरूले नेपालीलाई अन अराइभल भिसा दिने भएकाले दुबई हुँदै ती देशमा नेपाली युवतीको तस्करी बढेको छ । त्यस्ता गतिविधि रोक्न इन्टरपोलसँग सहकार्य हुँदै आएको एसएसपी जोशी बताउँछन् ।

थप फरार खोजीमा

नेपालमा अपराध गरेर भागेका ५० भन्दा धेरै विभिन्न देशमा लुक्दै आएका छन् । उनीहरूलाई पक्राउ गरी नेपाल ल्याउने प्रक्रिया अघि बढिसकेको एसएसपी जोशीले बताए । ‘विगतमा पनि धेरैलाई ल्याइसकेका छौँ,’ उनले भने, ‘छिटै अरूलाई पनि पक्राउ गरी नेपाल ल्याउनेछौँ ।’ रेड नोटिस जारी भएका धेरै फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएकोमा इन्टरपोल मुख्यालयले समेत नेपाल प्रहरीको प्रशंसा गरेको छ ।

Published on: 12 October 2019 | Naya Patrika

Link

Back to list

;