s

बेचबिखनमा ४५ वर्ष जेल

मनोज पौडेल
 
चेलीबेटी बेचबिखनमा संलग्न महिलालाई जिल्ला अदालतले ४५ वर्ष जेल सजाय तोकेको छ । सहोदर बहिनीलाई भारतको इलाहावादस्थित कोठीमा बिक्री गरेको अभियोगमा चितवन रत्ननगर ११ जिरौनाकी खुइली तामाङलाई सजाय फैसला भएको हो ।
 
उनलाई चार लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ । नाबालिका बेचबिखनमा २० वर्ष र दुई लाख, बेश्यावृत्तिमा लगाएकामा थप १५ वर्ष र एक लाख तथा ओसारपोसारमा संलग्न रहेकामा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना फैसला भएको अदालतका स्रेस्तेदार ईश्वरी भण्डारीले जानकारी दिए । पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि अदालतले दिएको छ ।
 
जिल्लामा सबैभन्दा धेरै कैद सजाय भएको मुद्दामध्ये यो पनि हो । घटनामा संलग्न आरोप लागेर फरार नुवाकोटका श्रीलाल थिङ, खरखण्ड लामा र साइँला थिङविरुद्धको मुद्दा मुल्तबी राखिएको छ । नुवाकोटको खडकभञ्ज्याङ गाविसकी १५ वर्षीया किशोरीलाई खुइली र उनका पति श्रीलालसहित चार जनाले इलाहावादको कोठीमा ३० हजार भारतीय रुपैयाँमा बेचेका थिए । 
 
घुम्ने र नयाँ लुगा किन्ने प्रलोभन दिई उनलाई ०६९ साउनमा चितवन–बुटवल हँुदै कपिलवस्तुको कृष्णनगर सीमाबाट कोठीमा पुर्‍याइएको थियो ।
 
Published on: 17 May 2016 | Kantipur

Back to list

;