s

बेचबिखनको निसानामा महिला र बालबालिका

गएको आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी १० वटा मुद्दा दर्ता भएका थिए। यी १० घटनामा १७ महिला पीडित भएकामा १६ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। घटनामा १८ पुरुष र सात महिला संलग्न भएको पाइएको थियो। जसमध्ये प्रहरीले १० पुरुष र चार महिलालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये १२ जनाविरुद्ध मुद्दा चलाइएकामा ११ जना पुर्पक्षका लागि थुनामा छन् भने एक जना साधारण तारेखमा रिहा भए। आर्थिक वर्ष ०७३/०७४ मा १३ जना पीडित रहेको सात घटना दर्ता भएका थिए। उक्त घटनामा चार पुरुष र आठ महिला संलग्न पाइएकामा तीन पुरुष र चार महिलालाई प्रक्राउ गर्न प्रहरी सफल भएको थियो। जसमध्ये ६ जना पुर्पक्षका लागि थुनामा रहेको र एक जना धरौटीमा छुटेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।

आर्थिक वर्ष ०७२/०७३ मा प्रहरी कार्यालयमा मानव बेचबिखनका ६ वटा मुद्दा दर्ता भएका थिए। घटनाका १५ पीडितको उद्धार गरिएको थियो। चौध पुरुष र पाँच महिला अपराधमा संलग्न भएको पाइएकामा प्रहरीले १२ पुरुष र चार महिलालाई प्रक्राउ गरेको राठौरले बताए। पक्राउ परेका सबैलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो।

बेचबिखनमा परेका महिला तथा बालिकाहरूका बारेमा अध्ययन गर्दा धेरैको आर्थिक अवस्था कमजोर, अभिभावक नभएका, किशोर अवस्थामा हुने प्रेम सम्बन्ध लगायतका कारण पाइएको उनले बताए। पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यलय चितवनमा दर्ता भएका मुद्दा संख्या हेर्दा मानव बेचबिखन तथा ओसारपसार बढेको देखिन्छ। तीन वर्षमा ४५ जना पीडित भएका छन् भने ४४ जनाको उद्धार भएको प्रहरीको तथ्यांकमा छ। नेपालमा वार्षिक करिब १२ हजारको संख्यामा महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेको माइती नेपाल चितवनका संयोजक ईश्वर गिरी बताउँछन्। उनीहरू देशभित्र तथा देश बाहिर विभिन्न मुलुकमा बेचबिखनमा परिहेको उनले बताए। बेचबिखनमा परेको पाइएकामा अधिकतर ७ वर्षदेखि २४ वर्षसम्मका महिला तथा बालबालिका रहेको उनले जानकारी दिए।

नााबालिग किशोरीलाई नक्कली विवरण प्रस्तुत गरेर जन्म दर्ता, नागरिकता, राहदानी प्रदान गरिने, कुनै दक्षता र तालिम तथा भाषा ज्ञानबिना विदेश पु-याइने गरिएको संयोजक गिरी बताउँछन्। त्यसरी पुग्ने किशोरीहरू चरम शारीरिक, मानसिक र आर्थिक शोषणमा पर्ने गरेको उनले बताए। मानव बेचबिखन तथा ओसारपासर गर्नेलाई कारबाही तथा सशक्त संयन्त्रको अभाव, वैदेशिक रोजगारसम्बन्धी जानकारी अभावजस्ता कारणले यस्ता अपराध नियन्त्रण हुन नसकेको उनको भनाइ छ।

जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटी मानव बेचबिखन र महिला हिंसा कहालीलाग्दो अवस्थामा रहेको बताउँछन्। पैसा कमाएपछि इज्जत हुन्छ भन्ने नाममा कतिपय पुरुष तथा महिलाले नैतिकता बेचेरै मानव बेचबिखन अपराध गरिरहेको उनले बताए।

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १२ औं राष्ट्रिय दिवसका अवसरमा बुधबार आयोजित अन्तरक्रियामा बेचबिखनमा परेका महिलाले क्षतिपूर्ति पाउने व्यवस्था भए पनि सहज नभएको गुनासो सहभागीले राखेका थिए। बेचबिखनबाट फर्किसकेपछि घर, परिवार तथा समाजले खुलेर जीउन नदिएको गुनासो पनि उनीहरूको थियो।

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण जिल्ला समिति, चितवनसँगै नौवटा गैरसरकारी संस्थाले संयुक्त रूपमा अन्तरक्रिया आयोजना गरेका थिए। कार्यक्रममा जिल्ला न्यायाधीवक्ता प्रमेश्वर पराजुलीले भदौ १ देखि लागू गरिएको नयाँ कानुनबार जानकारी गराएका थिए।

मानव बेचबिखन अपराध अन्त्य गर्न घर, परिवारदेखि अभियान सुरु गर्नुपर्ने मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण जिल्ला समिति, चितवनका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत बताउँछन्। ‘घटनाको जति छिटो उजुरी पर्छ, जति छिटो सूचना आउँछ त्यति नै छिटो अनुसन्धान र कारबाही प्रक्रिया सुरु हुन्छ’ उनी भन्छन्, ‘यसले अपराधीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न सकिन्छ।’

Published On: 6 September 2018 | Nagarik

Back to list

;