s

बेचबिखनको जोखिममा महिला

विद्या राई

काठमाडौँ — सिन्धुलीकी २६ वर्षकी माइलीले बालकैदेखि घरमा दु:ख मात्रै भोगिन् । भोक मेट्न नुनमा भात मोलेर खानुपर्ने अवस्था । पाखोबारीको कमाइले तीन महिना पनि खान नपुग्ने । बाँकी ९/१० महिना खान अर्को गाउँका जमिनदारहरुको मेलापात चहार्नुपर्ने ।स्कुलको ड्रेस, कापी–कलम किन्न साहुको भारी बोक्नुपर्ने ।

छरछिमेकहरु पनि त्यस्तै हालतमा थिए । अलि बढेकाहरु काठमाडौं छिर्थे । दसैं–तिहारमा ठाँटिएर फर्कन्थे । परिवारलाई मिठोमसिनो खानेकुरा, नयाँ लुगा ल्याइदिन्थे । यसले माइलीको दिमागमा एउटा चित्र बनाइदियो– ‘काठमाडौं भनेको राम्रो लाउन, मिठो खान र पैसा कमाउन सकिने ठाउँ रहेछ ।’

एसएलसी पास गरेपछि उनले पनि काठमाडौंको बाटो तताइन् काठमाडौं आउजाउ गर्नेहरुलाई पछ्याउँदै । त्यतिबेला उनी २० वर्षकी थिइन् । काठमाडौं उत्रेपछि उनले बौद्धक्षेत्रमा ज्यामी काम पाइन् ।

काठमाडौं बस्न थालेको ५/६ महिनापछि एकजना साथीमार्फत् सूर्य लामा नाम गरेका मानिससित भेट भयो । उनी वैदेशिक रोजगारीमा जानेहरुलाई पठाउने दलाल रहेछन् । उसले आफ्नी पत्नी दक्षिण अफ्रिकामा रहेको र मासिक ४०/५० हजार रुपैयाँ कमाइ हुने र जाने भए वेटरको काम गर्न दुबई पठाइदिने लोभ देखायो । माइलीलाई पनि ज्यामी कामभन्दा विदेशै गएर कमाउने रहर लाग्यो ।

घरको जेठो सन्तान भएकीले बाबाआमा र भाइबहिनीलाई सुखमा राख्नुपर्ने सोच थियो । विदेश गएर कमाउन पाए त्यो सुख टाढा छैन भन्ने लाग्यो । विदेश कुन प्रक्रियाले जाने, त्यहाँ के काम गर्ने उनको मतलबको विषय बनेन । कसरी हुन्छ चाँढै विदेश जाने र कमाउने अनि परिवारलाई सुखले पाल्ने भन्ने मात्रै चिन्ता थियो । जाने बेला ५० हजार रुपैयाँ दलाललाई बुझाउनुपर्ने थियो । विदेशमा कमाएर तिर्ने सर्तमा आफन्त, साथीहरुसँग ऋण लिइन् । उनी सूर्यलाई पछ्याउँदै विदेश लागिन् । 

२०७४ सालको फागुनमा दिल्ली पुगेर केही दिन बसेपछि उनलाई कुरा गडबड छ जस्तो लाग्यो । आफूहरू बेचिएको जस्तो लागेपछि उनले नेपाल फर्किने बताइन् । तर, दलालले आफ्नो ४–५ लाख खर्च भइसकेको भन्दै फर्कने भए त्यो पैसा तिर्नु पर्छ भन्यो । त्यत्रो रकम तिर्न सक्ने अवस्था थिएन । उनी विदेश जान बाध्य भइन् । दलालले दुबई लाने भनेको थियो, तर पुर्‍यायो बग्दाद ।

उता पुगेपछि कथा बेग्लै भयो । उनले आफूले भोगेको दु:ख यसरी सुनाइन्, ‘म त कोठामा बन्दजस्तै थिएँ । भनेजस्तो तलब पनि दिएनन् । दु:ख र यातनाको त कुरै गरीसाध्य छैन ।’ वेटरको काम गर्ने भनेर लगिएकी उनलाई घरायसी काम लगाइयो । रातदिन ६ वटा परिवारको स्याहारसुसार गर्नुपथ्र्यो । कुटपिट र यातना त सामान्य भइसकेको थियो । बिरामी हुँदा पनि आराम गर्न पाउनुको साटो तातो तेल खन्याएर जिउमा डाम्नेसम्म गरेको सम्झिँदै उनले भनिन्, ‘मालिकले १० वर्षका लागि १३ लाख नेपाली रुपैयाँमा किनेर ल्याएको भन्थ्यो । फर्कने भए त्यो पैसा तिर्नुपर्ने बताउँथ्यो ।’

मालिकले थाहा नपाउने गरी आफू बेचिएको बारेमा अन्य नेपालीहरुसँग कुरा गर्न थालिन् । फोनमा कुरा गर्ने खर्च हुन्थेन, आफ्ना सबै दु:ख फेसबुक मेसेन्जरबाट सुनाउँथिन् । करिब एक वर्षको प्रयासपछि सामाजिक काम गर्दै आएको एक संस्थाले उद्धार गरिदियो ।

रित्तो हात फर्किएकी उनले नेपाल आएर एउटा उपलब्धि पाइन् । दलालविरुद्ध उजुरी गरिन् । ती दलाललाई २० वर्षको जेल सजाय तोकिएको छ । यातना र ऋणले थिचिएको मन केही हलुका भए पनि विगतले झस्काइरहन्छ । यो एउटा मानव बेचविखनको प्रतिनिधिमूलक कथा हो ।

सरकारले जोर्डन र साइप्रसबाहेक अन्य मुलुकमा घरेलु कामदार जान रोक लगाएपछि गैरकानूनी रुपमा र अन्य देशको बाटो प्रयोग गरेर अवैधरुपमा जाँदा विशेषगरी महिलाहरु बेचबिखन तथा ओसारपसारको मारमा पर्ने गरेका छन् । ‘देशभित्र महिला र युवालक्षित रोजगारी छैन । सरकारले जान नदिए पनि भोको पेटले त्यो भन्दैन नि !,’ मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध कार्यरत आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराई भन्छन्, ‘यसले गर्दा कतिले जानेर वा नजानेर भारतको बाटोलाई विकल्प बनाए, पाइला पाइलामा ठगिँदै, बेचिँदै जान बाध्य भएका छन् ।’

नेपाल प्रहरीमा वार्षिक दुईदेखि तीनसयसम्म मानव बेचबिखनको उजुरी पर्ने गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आर्थिक वर्ष २०७४/७५–२०७७/७८ जेठ मसान्तसम्म २१ हजार १ सय ८७ मानिस हराए । तीमध्ये ८ हजार ३ सय ७६ अर्थात् ३९ प्रतिशत मात्रै भेटिए । हराउने महिलाको सङ्ख्या १९ हजार १ सय ४८ मा ३१ प्रतिशत मात्रै भेटिएका थिए । अन्तर्राष्ट्रिय अध्ययनहरुले हराएका र फेला नपरेका मानिसहरु (द्वन्द्व, सैन्यकरण र प्रकोपको अवस्थामा बाहेक) अधिकतम बेचबिखनमा पर्ने गरेको पाइएको राष्ट्रिय मानवअधिकार आयोगको ‘मानव बेचबिखनसम्बन्धी प्रतिवेदन–२०७६ मा उल्लेख छ । प्रतिवेदनअनुसार नेपालमा करिब ३५ हजार मानिस मानव बेचबिखनमा परेका छन् भने १५ लाख बेचबिखनको जोखिममा छन् ।

सन् २०१४ मा नोभा साउथ इस्टर्न युनिभर्सिटीकी केटरीना रोजनब्लाटले घरेलु श्रमिक महिलाहरुको बेचबिखनको जोखिम पहिचानको क्रममा एउटा तथ्य फेला पारिन् । उनको भनाइमा मानव तस्करहरुले महिलाहरुको पारिवारिक समस्या, सुरक्षा र स्नेहको खोजीलाई नै मुख्य रुपमा लक्षित गर्छन् र अन्तत: बेचबिखनमा पुर्‍याउँछन् । पुरुष सदस्यको अनुपस्थितिमा परिवारभित्र दोहोरो आर्थिक र पारिवारिक बोझ, सामाजिक प्रथाजन्य विभेद तथा असमान अवसरहरुका कारण विकल्पको खोजी गर्न बाध्य हुँदा बेचबिखनको जालोमा पर्ने गरेको सन् २०१९ ले ‘फोकस अन लेबर एक्स्प्लोइटेसन’को अध्ययनले देखाउँछ ।

सरकारले गत असार २४ गते श्रीलङ्काबाट २६ महिलालाई उद्धार गर्‍यो । गत वर्ष मात्रै भारतलगायत तेस्रो मुलुकमा अवैध बाटोबाट गएर अलपत्र परेका करिब ११ सय महिला, बालबालिकालाई उद्धार गरिएको मन्त्रालयको तथ्याङ्क छ ।

२०७५ सालमा अवैध रुपमा मणिपुर हुँदै म्यानमार पुगेका १ सय ७९ नेपालीको उद्धारपछि माइती नेपाल र लैंगिक समानता तथा महिला सशक्तिकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (युएन वुमन) ले गरेको अध्ययनमा सबैले आर्थिक समस्या, रोजगारीको अभावले अवैध बाटो भएर विदेशिन बाध्य हुनु परेको बताएको छ ।

केही वर्षअघि झापाकी १९ वर्षकी किशोरी साथीको लहैलहैमा एक खाजाघरमा काम गर्न काठमाडौं आइ पुगिन् । खाजाघरको मालिक र ग्राहकको व्यवहार मन परेन । उनी त्यहाँबाट भागेर गोगङ्बुको नयाँ बसपार्क पुगिन् । एक महिलाको सहयोगमा अर्को रेस्टुरेन्टमा काम पाइन् । रेस्टुरेन्टमा त अझ हरेक दिन पाँच जनासम्म ग्राहकलाई यौन सन्तुष्टि दिनुपर्ने रहेछ । एकवर्ष काम गरेपछि केही साथीसहित रेस्टुरेन्टबाट भागे । प्रहरीमा उजुरी दिए । प्रहरीले रेस्टुरेन्ट सञ्चालकलाई पक्राउ गरेर मानव बेचबिखन मुद्दा चलायो । महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समुह नेपाल (एटविन) का अनुसार देशभित्र मनोरञ्जन, वेश्यावृत्ति/यौनशोषण, घरेलु/होटल कामदार, कलकारखाना, ईंटा भट्टा, ढुङ्गा खानी, जरी र अन्य कारखाना तथा अङ्ग व्यापार गर्ने उदेश्यले मानव बेचबिखन भैरहेको छ ।

माइती नेपाल र युएन वुमनले गरेको ‘बेचबिखनमा परि उद्धार गरिएकाहरुको द्रूत अध्ययन’ मा खाडी देशमा महिला कामदारलाई लगाइएको प्रतिबन्धको विकल्प खोज्नुपर्ने तथा स्वदेशमै रोजगारको व्यवस्था गर्नुपर्ने, तीन तहकै सरकारले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी गहन अध्ययन गर्नुपर्ने, यस्तो अपराध गर्नेलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्नुपर्ने उल्लेख छ । आफन्त नेपालका निर्देशक भट्टराई भन्छन्, ‘देशका ७ सय ५३ वटै पालिकाले महिला र युवालक्षित रोजगार र स्वरोजगारको व्यवस्था गर्नुपर्छ ।’

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाकी प्रमुख मीना पौडेलले बेचविखन रोकथामका लागि राष्ट्रिय लैंगिक नीतिअनुसार स्थानीय तहमै रोजगारी सिर्जना गर्ने कार्यक्रमहरु लागू भइरहेको बताइन् । उनले भनिन्, ‘हामी नीतिगत व्यवस्था बनाउने, भैरहेका नीति र कानुनहरुको पुनरावलोकन गर्ने काम गर्दैछौँ ।’

Published on: 10 August 2021 | Kantipur

Link

Back to list

;