s

बेचबिखनका मुद्दाका फरार अभियुक्त पक्राउ

नुवाकोट : मानव बेचबिखन तथा ओसारपसार मुद्दाका दोषी ठहरिएकी नुवाकोटको दुप्चेश्वरकी महिलालाई प्रहरीले पक्राउ गरेको छ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहर भई ७ वर्ष कैद सजाय तोकिएकी नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ की ३८ वर्षीया लक्ष्मी नेपाली फरार रहेकोमा प्रहरीले पक्राउ गरेको हो।

लक्ष्मीले २०७५ पुस २२ गते १७ वर्षीया बालिकालाई ललाई फकाई, प्रलोभन देखाई घरबाट काठमाडौं लगि काठमाडौंबाट अन्य व्यक्तिलाई जिम्मा लगाई काठमाडौबाट प्लेन टिकट काटी भारतको नयाँ दिल्ली पुर्‍याई बेच्ने र बेश्यागमनको काममा लगाउने कार्यमा संलग्न भएको देखिएको थियो।

मानव बेचबिखन तथा ओसार पसार मुद्दामा उच्च अदालत पाटनको गत २०७९ साल असार १९ गतेको फैसलाले ७ वर्ष कैद सजाय तोकी फरार रहेकोमा प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

नेपालीलाई काठमाडौंको नयाँ बसपार्कमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कभित्र पार्किङ स्थलमा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।

Published on: 21 May 2024 | Annapurna Post

Link

Back to list

;