s

बेचबिखनका अपराधमा पछिल्लोसमय मधेसी समुदायका व्यक्तिहरु धेरै

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस १ गते । विगतमा जनजाति समुदायका धेरै व्यक्ति पर्ने गरेको मानव बेचबिखन तथा ओसारपसारको अपराधमा पछिल्लो समय मधेशी समुदायका व्यक्तिहरु धेरै पर्न थालेको देखिएको छ । महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन)को मिडिया विश्लेषणमा २०७६ सालमा सबैभन्दा बढी मधेशी समुदायका व्यक्तिहरु प्रभावित भएको देखिएको हो । एटविनले गत वर्ष नेपालका मूलधारका अखबार तथा म्यागाजिनहरुमा बेचबिखनसम्बन्धी सञ्चार सामग्रीको विश्लेषण गरेको थियो । जसअनुसार ४६ प्रतिशत समाचारमा मधेशी समुदायका व्यक्तिहरु त्यस्ता अपराधमा पर्ने गरिएको रिपोर्टिङमा उल्लेख गरिएको थियो । 

पछिल्लो समय सरकारले विमानस्थलबाट भारत हुँदै अन्य देशमा पठाउने क्रियाकलापमा कडाइ गरेपछि आर्य अनुहार भएका व्यक्तिहरुमा मधेसी समुदायलाई गिरोहहरुले निशानामा पार्न थालेको मिडिया विश्लेषण गर्नुभएका पत्रकार विजय पौडेलले बताउनुभयो । प्रतिवेदन अनुसार बेचबिखनमा परेकामध्ये २२ प्रतिशत दलित, १७ प्रतिशत ब्राह्मण क्षेत्री, छ प्रतिशत मुस्लिम, तीन प्रतिशत थारु (चौधरी), तीन प्रतिशत गुरुङ, दुई प्रतिशत मगर र एक प्रतिशत तामाङ रहेका छन् । सबैभन्दा बढी अन्तरदेशीय बेचबिखन तथा ओसारपसार ६२ प्रतिशत रहेकोमा २८ प्रतिशत वैदेशिक रोजगारीको नाममा हुने गरेको देखिएको छ । त्यस्तै, पछिल्लो समय आन्तरिक बेचबिखन पनि बढ्दै गएको विश्लेषण पौडेलले गर्नुभएको छ । गत वर्ष ११ प्रतिशत रिपोर्टिङ आन्तरिक बेचबिखन तथा ओसारपसारको भएको छ । 

समाचारहरुका अनुसार ५५ प्रतिशत बेचबिखन तथा ओसारपसार यौन शोषणका लागि भएको एटविनको मिडिया विश्लेषणमा उल्लेख छ । त्यस्तै, २६ प्रतिशत भने श्रम शोषणका लागि हुने गरेको देखिएको छ । बेचबिखन तथा ओसारपसारमा पर्नेमध्ये सबैभन्दा धेरै बालबालिका र किशोरकिशोरी रहेका छन् । रिपोर्टिङ गरिएकामध्ये ५२ प्रतिशत १७ वर्षमुनिका बालबालिका छन् । त्यस्त,ै पुरुषको तुलनामा महिलाहरु बेचबिखन तथा ओसारपसारमा पर्ने गरेको देखिएको छ । रिपोर्टिङ गरिएकामध्ये ७७ प्रतिशत महिला बेचबिखनमा परेको विश्लेषणमा उल्लेख छ ।

Published on: 16 December 2020 | Gorkhapatra

Link

Back to list

;