s

‘बेचविखनबाट किशोरी उच्च जोखिममा’

सपना महर्जन

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगको एक अध्ययनले किशोरी बेचविखन र बालविवाह उच्च जोखिममा रहेको औंल्याएको छ। ‘नेपालमा बाल अधिकारको अवस्था २०७६’ नामक सोमबार सार्वजनिक प्रतिवेदनले बालिका बढी जोखिममा रहेको देखाएको हो।

नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन ०७५ अनुसार १३ लाख किशोरी बालविवाहको जोखिममा छन्। केन्द्रीय तथ्यांक विभागको पपुलेसन मोनोग्राफ सन् २०१४ भाग २ अनुसार १० देखि १८ वर्ष उमेर समूहका बालबालिका मध्ये २६.३ प्रतिशतको विवाह भएको पाइन्छ। दक्षिण एसियामा बालविवाह बढी हुने मुलुकमध्ये बंगलादेश र भारतपछि नेपाल तेस्रोमा छ।

महिलाभन्दा पुरुषको उमेर बढी हुनुपर्ने सामाजिक-सांस्कृतिक मान्यताले बालविवाहमा कमी आउन नसकेको आयोगकी सदस्य मोहना अन्सारीले बताइन्। लैंगिक विभेद, गरिबी, अशिक्षा, असुरक्षा जस्ता कारण बलविवाहको मुख्य कारण हुन्’, अन्सारीले भनिन्, विवाहका लागि पुरुषभन्दा महिलाको उमेर कम हुनुपर्ने सामाजिक मान्यता बालविवाहको अर्को कारक हो।’

अझैं ८३ प्रतिशत छात्राले महिनावारी भएका बेला स्यानेटरी प्याडसमेत नपाउने प्रतिवेदनमा छ।

नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण, २०११ ले मुलुकमा २० देखि २४ वर्ष उमेर समूहका ४१ प्रतिशत महिलाको विवाह १८ वर्ष पुग्नु अगावै भएको उल्लेख छ।

२६ प्रतिशत बालिका बेचविखनको जोखिममा छन्। शिक्षा, स्वास्थ्यलगायतको अवस्थामासमेत उल्लेख्य सुधार आउन नसकेको जनाइएको छ। राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्नेमध्ये ४३ प्रतिशत र शहरमा बस्ने मध्ये २७ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै बिहे गर्छन्। तथ्यांकले १५ देखि १९ वर्षका १७ प्रतिशत किशोरी आमा भइसक्ने देखाएको छ।

अशिक्षा र कम आयस्रोत भएका परिवारका बालिका बालविवाहबाट बढी जोखिममा छन्। मधेसी समुदाय र सीमान्तकृत समूह दलित, जनजाति र मुस्लिम समुदायमा बालविवाह उच्च छ।

०६८ को जनगणना अनुसार ४१.८२ प्रतिशत बालबालिका १८ वर्षभन्दा कम उमेरका छन् भने कूल जनसंख्याको ४९ प्रतिशत जनसंख्या बालबालिका छन्।

प्रतिवेदनमा अशिक्षा, गरिबी र कुपोषणबाट बालबालिका उच्च जोखिममा रहेको समेत उल्लेख छ। जागृति बाल तथा युवा सरोकार नेपालद्वारा तयार पारिएको स्थिति पत्रमा बालिकाको पोषणको अवस्था सन्तोषजनक नरहेको निष्कर्ष छ। ५ वर्ष भन्दा कम उमेरका बालिका २८ प्रतिशत र कम उचाई हुने बालिका ३९.५० प्रतिशत छन्। नेपालमा ११ लाख बालबालिका कुपोषणको सिकार भएका छन्। २ लाख ९० हजार ख्याउटे, १३ लाख बालबालिका भिटामिन ए, आइरन जस्ता पोषक तत्वको कमी छ।

केन्द्रीय तथ्यांक विभागबाट सम्पादन गरिएको नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण, २०७१ अनुसार ५ देखि १७ वर्ष उमेर समूहका ३७.४ प्रतिशत बालबालिका बाल श्रममा संलग्न छन्।

आयोग अध्यक्ष अनुपराज शर्मा बालबालिकाको क्षेत्रमा अनेक समस्या रहेको बताउँछन्। मुलुकभरका २८ प्रतिशत विद्यालयमा मात्रै छात्रछात्राका लागि छुट्टै शौचालय रहेको प्रतिवेदनमा उल्लेख छ।

Published on: 7 January 2020 | Annapurna Post

Link

Back to list

;