s

ब्युटिपार्लरमा जागिर लगाइदिने भन्दै कोठीमा लगेर बिक्री

भारत लगेर युवतीहरूलाई बिक्री गरेको अभियोगमा प्रहरीले धरानका ३१ वर्षीय सन्तोष राईलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले ब्युटिपार्लरमा जागिर लगाइदिने आश्वासनमा भारत लगेर युवतीहरूलाई बिक्री गर्ने गरेका थिए । 
 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेको हो । उनीविरुद्ध चार युवतीलाई नयाँदिल्लीको जिडी रोडस्थित वेश्यालयमा लगेर बिक्री गरेको अभियोग छ ।
 
काँकडभिट्टा नाकाबाट सिक्किम लैजाने भन्दै उनले दिल्ली पुर्‍याएर बिक्री गरेको उजुरी परेको छ,’ सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीले भने,‘गरिब युवतीलाई उनले आफ्नो टार्गेटमा पारेका छन् ।’ पीडितमध्ये धेरैजसो सुनसरीका छन् । उनीहरूले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् ।
 
पक्राउ परेका राईमाथि प्रहरीमा गए मारिदिने भन्दै पीडितहरूलाई धम्काउने गरेको अभियोग पनि छ । उनले अरू धेरै युवतीलाई वेश्यालय पुर्‍याएको हुन सक्ने प्रहरी अनुमान छ । एसपी चतुर्वेदीका अनुसार एक युवतीलाई ६ लाखसम्ममा बिक्री गर्दथे । त्यसबापत उनले एक लाख रुपैयाँ पाउने गरेका थिए ।
 
Published On: 16 January 2019 | Naya Patrika

Back to list

;