s

बसाइँ सरी आउनेलाई पाँच लाख अनुदान

भागिश्वर लिम्बु

खानेपानी अभाव भएको भन्दै छथर गाउँका बासिन्दा बसाइँ सर्ने क्रम बढेपछि यहाँको जनसंख्या घट्दै गएको छ। यसैकारण अहिले छथर गाउँपालिकाले अन्य ठाउँबाट बसाइँ सरी आफ्नो गाउँमा आउनेलाई पाँच लाख रूपैयाँ अनुदान दिने भएको छ। गाउँको जनसंख्या वृद्धिका लागि छथर गाउँपालिकाको दोस्रो गाउँसभाले अन्यत्रबाट बसाइँ सरेर आफ्नो गाउँ आउनेलाई पुरस्कार स्वरूप एक लाख रुपैयाँसहित व्यवसाय सञ्चालन गर्न पाँच लाख रुपैयाँसम्म अुनदान उपलब्ध गराउने निर्णय गरेको हो। विभिन्न बहानामा आफ्नो गाउँ छाडेर बसाइँ सर्नेको लर्काे लागेपछि त्यसलाई रोक्न तथा अन्य ठाउँका बासिन्दालाई आफ्नो गाउँमा तान्नलाई यस्तो निर्णय गरिएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए।

पहिलो चरणमा गाउँपालिकाले यो शीर्षकमा १० लाख रुपैयाँ बजेट विनियोजना गरेको गाउँपालिका प्रवक्ता राजन नेपालीले जानकारी दिए । यो कार्यक्रमले अब गाउँपालिकामा जनसंख्याका साथै व्यवसायीको संख्यासमेत बढ्ने विश्वास छथर गाउँपालिकाका जनप्रतिनिधीहरूले व्यक्त गरेका छन् । बसाइँ सरेर अन्यत्र गएका बासिन्दालाई अबको २० वर्षभित्र पुनः आफ्नै गाउँ फर्कने वातावरण बनाउने दीर्घकालीन योजनासमेत गाउँपालिकाले बनाएको छ।
 
खानेपानी अभावको कारण देखाउँदै बसाइँ सर्ने क्रम बढेकाले गाउँपालिकाले विभिन्न क्षेत्रमा डिपबोरिङ बनाउने तथा लिफ्टिङ प्रणालीमार्फत तमोर नदीको पानी गाउँमा ल्याउने योजना पनि गाउँपालिकाले बनाएको छ। गाउँमा खानेपानी व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय गरी पहल सुरु गरिएको गाउँपालिका अध्यक्ष तिगेलाले जानकारी दिए ।
 
साविकका आङदिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदाप गाविस मिलेर बनेको छथर गाउँपालिकाले कृषि पेसालाई प्रोत्साहन गर्न क्लस्टर छुट्याएर कृषिसम्बन्धी विभिन्न योजना बनाएको छ। जसअन्तर्गत गाउँको उच्च क्षेत्रमा तरकारी खेती, मध्य भागमा गाईपालन र सुक्खाग्रस्त क्षेत्रमा कागती खेती विस्तारका लागि बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तिलेगाले बताए । यस गाउँबाट दैनिक लाखौं मूल्य बराबरका तरकारी तथा दुग्धजन्य पदार्थ निकासा हुने गरेको छ। व्यावसायिक खेती गर्ने किसानलाई गाउँपालिकाले अनुदान उपलब्ध गराउने निर्णय समेत गरेको छ।
 
छथर गाउँपालिकाको जनसंख्या अहिले १६ हजार ७ सय ५० छ। अबको १० वर्षमा यो संख्यालाई २० प्रतिशित बढाउने गरी प्रत्येक वर्ष विभिन्न कार्यक्रम ल्याइने गाउँपालिका अध्यक्ष तिगेलाको भनाइ छ। अन्यत्रबाट बसाइँ सरी आउनेलाई पाँच लाख रुपैयाँ अनुदान दिने छथर गाउँपालिकाको यो कार्यक्रमले अहिले अन्य जिल्लामा समेत चर्चा पाउन थालेको छ।
 
Published on: 7 August 2018 | Nagarik

Back to list

;