s

बसाइँसराइले ग्रामीण बस्तीहरू शून्य

शाहीमान राई

धोद्लेखानी ५ को नेपालगाउँ मानवविहीन बस्ती बनेको छ । त्यहाँका रित्ता घर जीर्ण बन्दै छन् र गाउँ शून्य । खेतबारी बाँझिदै गएका छन् । छरछिमेकी र दाजुभाइले गाउँ छाडेपछि एक्लिएका मणिराम पनि चार महिनाअघि सपरिवार बसाइँ गएका छन् । 'अब सरकारी नोकरीका लागि मात्रै भोजपुर बसाइ हुन्छ,' भर्खरै गाउँ छाडेका वन कार्यालयका रक्षक मणिरामले भने, 'एक्लो महसुस भएकाले दाजुभाइ खोज्दै सुनसरीको इटहरी बस्न थालें ।' उनका अनुसार उनीमात्रै होइन, यो गाउँबाट मात्रै बाहुन १२ घरपरिवार, १० घर क्षत्री, राई ३ घर र २ घर तामाङलगायत २९ घरपरिवार बसाइँ गएको पाइएको छ । बसाइँसराइ गाउँबाट सहर केन्दि्रत छ । 

बसाइँसराइले दुर्गमका सुन्दर बस्ती रित्तिन थालेका छन् । खेतीयोग्य उर्वर जमिन बाँझिएर कृषि उत्पादनमा ह्रास आएको छ । नेपाल गाउँ मात्रै होइन, उक्त गाविसको कटुज्जे, धोद्लेलगायत विभिन्न गाउँबाट सय घरपरिवारभन्दा बढी बसाइँ गएको स्थानीय बासिन्दाले बताए । 

अधिकांश बसाइँसराइ जानेले दर्ता नगरी गएकाले तथ्यांक दुरुस्त नभए पनि जिविसको तथ्यांक शाखाले धोद्लेखानीबाट २९ घरपरिवार बसाइँ गएको जनाएको छ । सदरमुकामलगायत भोजपुरको टक्सार, कुलुङ, कुदाककाउले, देउराली, बोखिम, तिम्मा, खार्तम्छा र रानीबास गाविसबाट सबैभन्दा बढी बसाइँ गएका छन् । भोजपुर जिविसको तथ्यांकअनुसार सबैभन्दा बढी रानीबासबाट १ सय ९२ घरपरिवारले गाउँ छाडेर अन्यत्र बसाइँ गएका छन् । रानीबासको आङटाङ, लुङ्गीन, लाल्चे, पेक्ला, कात्तिके, सल्ले, हर्का र हतुवा क्षेत्रका बासिन्दा अन्यत्र गएका हुन् । उत्तरी भोजपुरको कुलुङबाट १ सय ६३ घरपरिवार, कुदाककाउलेबाट १ सय ३ घर, दिङ्ला आसपास मूलपानीबाट ९९, केउरेनीपानीबाट ३७ घर, देउरालीबाट १ सय ५०, बोयाबाट ९५, साङपाङबाट ६८ र हेलौंछाबाट ७० घरपरिवार बसाइँ गएका छन् । सदरमुकाम भोजपुर गाविसबाट १ सय १७, टक्सारबाट १ सय ७६, बोखिमबाट १ सय ६ घर र तिम्माबाट १ सय ९ घर परिवार बसाइँ गएका छन् । जिल्लाका ६३ गाविसबाट ४ हजार ४ घरपरिवार बसाइँ सरेर गएको गाविसको व्यक्तिगत घटना दर्ताको विवरणले देखाएको छ ।

बसाइँसराइले जिल्लाको सामाजिक, आर्थिक, सांस्कृतिक क्रियाकलापमा प्रभाव पारेको छ । यस वर्ष संकलित फोटोसहितको मतदाता नामावलीअनुसार मतदाता संख्या घटेको र अघिल्लो वर्ष भएको जनगणनामा भोजपुरको जनसंख्या घटेको छ । निर्वाचन आयोगले भोजपुर जिल्लाबाट विदेश गएका १५ हजार मतदाताको फोटोसहितको नामावलीमा दर्ता छुटेको जनाएको छ । विदेशमा रहेका नागरिकले आसन्न संविधानसभा निर्वाचनमा भाग मतदान गर्न नपाउने भएका छन् । अघिल्लो निर्वाचनमा मतदाता रहेका उनीहरूले फोटो खिच्न पाएनन् ।

रोजगारीका निम्ति साउदी, कतार, मलेसिया, हङकङ, बेलायत, अमेरिका, अस्ट्रेलियालगायत विभिन्न देशमा रहेका नेपाली निर्वाचन आयोगको मतदाता सूचीमा परेका छैनन् । नेपालमै रहेर पनि काम विशेषले फोटो खिच्न नपाएका, तत्काल बसाइँ सराइ जाने र विदेशमा रहेका नेपाली मतदाता नामावली सूचीबाट हटेकाले भोजपुरमा ५५ प्रतिशत मतदाता संख्या घटेको छ ।  

२०६३ को मतदाता नामावली तथ्यांकअनुसार भोजपुरमा एक लाख ६६ हजार ५० जना थियो । तर निर्वाचन आयोगले २०७० मा संकलन गरेको तथ्यांकमा ९२ हजार ३ सय ४१ मात्रै छ । बसाइँसराइ, परिवार नियोजन कार्यक्रमको प्रभावले गर्दा विगत दस वर्षको अवधिमा भोजपुरको जनसंख्यासमेत घटेको छ । भोजपुरको जनसंख्या वृद्धिदर २ दशमलव १ प्रतिशत रहे पनि २०६८ को जनगणनाको ठीक उल्टो भएको छ । जनगणना २०६८ मा भोजपुरको जनसंख्या १ लाख ८४ हजार देखाएको छ । उक्त संख्या २०५८ मा २ लाख १८ हजार ३ सय १८ थियो ।

Published on: 16 August 2013 | Kantipur

Back to list

;