s

वार्षिक एक लाखसम्म रेमिट्यान्स पठाउनेलाई आइपिओमा आरक्षण

भोजराज भण्डारी

नेपाल धितोपत्र बोर्डले विदेशबाट वार्षिक कम्तीमा एक लाख रेमिट्यान्स पठाउने नेपाली कामदारलाई नेपालमा खुल्ने कुनै पनि कम्पनीको प्राथमिक सेयर (आइपिओ)मा १० प्रतिशत आरक्षण दिने गरी कार्यविधि बनाउने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई आइपिओमा आरक्षण दिने घोषणा गरेका थिए ।

सोही घोषणाबमोजिम असोजको पहिलो साताबाट वैदेशिक रोजगारीमा गएका कामदारलाई आरक्षण दिने गरी कार्यविधि बनाउन धितोपत्र बोर्ड जुटेको हो । कार्यविधि समितिका एक सदस्यका अनुसार विनियमावली पास भएर आएपछि सोहीअनुसार कार्यविधि बनाउने तयारी गरिएको छ । ‘अहिले छलफलमा वार्षिक एक लाखसम्म रेमिट्यान्स पठाउनेलाई सेयर दिन सकिने गरी राख्न सकिने र पछि बिस्तारै बढाउँदै जान पनि सकिने विषयमा छालफल भइरहेको छ,’ ती सदस्यले भने ।

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले असोजभित्रै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओमा आरक्षण छुट्याउने गरी काम थालिएको बताए । उनले भने, ‘असोजभित्र आरक्षण छुट्याइसक्छ र रेमिट्यान्स पनि बढ्न थाल्नेछ । सोहीअनुसार अहिले बोर्ड कार्यविधि बनाउनेलगायत आवश्यक कानुन निर्माणमा जुटेको छ ।’ असोजबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओमा समावेश गर्ने नीतिबमोजिम धितोपत्र बोर्डले विनियमावली बनाएर अर्थ मन्त्रालय पठाएको धितोपत्र बोर्डकी सूचना अधिकारी दीपा दाहालले जानकारी दिइन् । विनियमावलीको काम सकेर अर्थ मन्त्रालय पठाएको चार–पाँच दिन भएको र स्वीकृत हुन बाँकी रहेको उनले बताइन् । ‘पहिलो चरणको विनियमावली बनाएर स्वीकृतका लागि मन्त्रालय पुगेको छ, केही दिनमा पास भएर आएपछि समिति बनाएर थप कार्य अघि बढाइनेछ,’ उनले भनिन् ।

अर्थ मन्त्रालयले अधिकभन्दा अधिक रेमिट्यान्स भित्र्याउने र वैदेशिक रोजगारीमा रहेका नेपालीले सेयरका केही हिस्सा पनि पाऊन् भन्ने उद्देश्यले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत आरक्षणको व्यवस्था गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओमा आरक्षण छुट्याउने निर्णयलाई गैरआवासीय नेपाली संघले पनि स्वागत गरेको छ । संघका महासचिव गौरीराज जोशीले आरक्षण छुट्याउँदा पारदर्शी, सहज खरिद–बिक्री गर्न सक्ने वातावरणसमेत निर्माण गर्नुपर्ने बताए । ‘सरकारले आरक्षण छुट्याएर सही निर्णय गरेको छ, यसलाई बढाउँदै जानुपर्छ, रेमिट्यान्स भिœयाउनका लागि यस आरक्षण कोसेढुंगा साबित हुनेछ,’ उनले भने ।

Published on: 20 June 2022 | Naya Patrika

Link

Back to list

;