s

वर्षौं विदेश बसेर फर्किएका भन्छन् : स्वदेशमै केही गर्न चाहन्छौँ

दुर्गा देवकोटा

२० साउन, टीकापुर (कैलाली) । विश्वभर कोरोना भाइरस सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा विदेशिएका नागरिक आफ्नो देश र घर फर्किरहेका छन् ।

सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमका हजारौँ नागरिक घर फर्किएका छन् । कैलालीको टीकापुर नगरपालिकामा पनि लकडाउनपछि करिब चार हजार नागरिक गाउँ फर्किएका छन् ।

भारतलगायत तेस्रो मुलुकबाट एक हजार महिला र तीन हजार पुरुष टीकापुर भित्रिएका छन् । विदेशबाट घर फर्किएकाहरू विदेशमा बस्दा केही न केही सीप सिकेर आएका छन् । उनीहरूले विदेशमा बस्दा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गर्न पाए विदेश नजाने मनसाय बनाइरहेका छन् ।

टीकापुर नगरपालिका-४ इन्द्रैयाका जितबहादुर चौधरीले अब विदेश नफर्कने बरु नेपालमै केही गर्ने सोच बनाएका छन् । ‘स्थानीय सरकारले सहयोग गरे यहीँ केही पेशा गर्ने योजना छ’, चौधरी भन्छन्, ‘मैले विदेशमा सिकेको कामलाई यहाँ व्यवसायका रूपमा गर्न चाहन्छु । सरकारले काम गर्ने वातावरण बनाइदिनुपर्छ ।’

टीकापुर-५ मनिकापुरका मीनबहादुर साउद पनि छ वर्ष दुबईमा बसेर घर फर्किएका छन् । उनी पनि स्थानीय सरकारले आफ्नो सीपलाई हेरेर काम दिएको खण्डमा त्यसलाई आफ्नै देशमा प्रयोग गर्ने सोचमा छन् । ‘मैले दुबईमा स्का फोल्डिङको काम सिकेर आएको छु’, साउदले भने, ‘सरकारले केही काम दिएको भए हुन्थ्यो । यही काम गरेर जीविका चलाउन हुन्थ्यो ।’

वडा नं १ का ओमप्रकाश राजवंशी पनि कामको सिलसिलामा २१ वर्ष भारतको दिल्लीमा बसेर घर फर्किएका छन् । उनले त्यहाँ बस्दा प्राविधिक सहयोगीको काम गर्थे । उनले हाउस किपिङको काम पनि सिकेका छन् ।

कोरोना महामारीको अप्ठ्यारोमा गाउँ फर्किएका राजवंशी सरकारले आफूले सिकेको सीपलाई नेपालमै सदुपयोग गर्ने योजना बनाए विदेश नजाने बताउँछन् । ‘सवारी साधन चलाउने, मर्मत गर्ने सबै काम जानेको छ’, राजवंशी भन्छन्, ‘म हाउस किपिङको तालिम दिने काम पनि गर्छु, अब यही गर्न पाए किन भारत फर्कनु ?”

टीकापुर नगरपालिकाले वैदेशिक रोजगारीबाट सीप सिकेर फर्केका नागरिकलाई रोजगारी सिर्जना गर्ने नीति लिएको छ । गरपालिकाले चालु आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना गर्नका लागि ५० लाख रकम विनियोजन गरेको छ । ‘कोभिड-१९ का कारण स्वदेश फर्किएकाको माग र आवश्यकताका आधारमा रोजगार सिर्जना गर्ने खालका कार्यक्रम बनाउनेछौँ’, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘स्वदेश फर्किएका युवाले काम गर्न चाहे नगरपालिका काम तथा सीप विकासमा सघाउन तयार छ ।’

नगरप्रमुख रावलले वैदेशिक रोजगारीमा गएर काम सिकेका नागरिकको सीपलाई सदुपयोग गर्न सके स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने र नगरपालिकाको विकास र आम्दानीमा टेवा पुग्ने बताए ।

टीकापुर नगरपालिकाको जनसङ्ख्या ९० हजार रहेको छ । तीमध्ये १८ हजार नागरिक रोजगारीको सिलसिलामा भारत तथा अन्य मुलुकमा कार्यरत छन् ।

Published on: 4 August 2020 | Onlinekhabar

Link

Back to list

;