s

वर्ष दिनमा १२० को उद्धार

एक वर्षमा जोगबनी नाकाबाट भारतलगायत तेस्रो मुलुक गइरहेका १ सय २० महिला तथा बालिकाको उद्धार गरिएको छ । १८ वर्षमुनिका ५८ र १८ वर्षमाथिका ६२ महिलालाई जोगबनी नाकाबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको माइती नेपालका शाखा प्रमुख विनोद पोख्रेलले बताए । उनले सुरक्षित आप्रवासनका लागि १ हजार ८ सय ६४ जनालाई तालिम उपलब्ध गराएको जानकारी दिए ।
 
उद्धार गरिएकामध्ये ४७ जना मधेसी समुदायका र ७३ पहाडी मूलका छन् । तीमध्ये ३८ जना आदिवासी जनजाति र १९ कथित दलित समुदायका छन् ।पोख्रेलले भारततर्फ गइरहेका ४० महिला तथा बालबालिकालाई अभिभावकको जिम्मा लगाएको बताए । वर्षभरिमा महिला हराएका ४२, घरेलु हिंसाका २ र बलात्कारका ७ उजुरी आएका थिए । उजुरी आएकामध्ये ९ जनालाई खोजी गरी उद्धार गरिएको थियो । माइती नेपालका निर्देशक विश्वराम खड्काले जनचेतना अभिवृद्धिका लागि मेची–महाकाली अभियान थालेको बताए ।
 
यस्तै माइती नेपालले सुरु गरेको मेची–महाकाली जनचेतना अभियानअन्तर्गत आइतबार जोगबनी नाकामा आयोजित कार्यक्रममा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले महिला हिंसा अन्त्य गर्न अल्पकालीन र दीर्घकालीन योजनाका साथ प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् । उनले स्वस्थ, सचेत र सक्षम नागरिक उत्पादन गर्ने जिम्मेवारी निर्वाह गर्ने बताए । कार्यक्रममा महिला बेचबिखन र यातनाविरुद्धको ‘हिंसा’ नाटक र नृत्य प्रस्तुत गरिएको थियो ।
 
Published on: 26 February 2018 | Kantipur

Back to list

;