s

वर्षेनी घट्दैछ वैदेशिक रोजगारीमा जानेको संख्या, तर पनि दैनिक ९७० जना बाहिरिन्छन्

रोजगारीका लागि विदेश जानेको संख्या गतवर्षको भन्दा घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार यसअघि वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिई विदेश जाने नेपालीको संख्या प्रतिदिन १४ सय ५० सम्म रहेकोमा आर्थिक वर्ष २०७४/७५ मा यो घटेर प्रतिदिन ९७० जनामा सिमित भएको हो ।
 
विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा रोजगारीका लागि विदेशिने नेपालीको संख्या प्रतिदिन १ हजार ३७ जना रहेको थियो । भने आव २०७२/७३ मा यो संख्या १ हजार १ सय ४७ रहेको थियो । आर्थिक वर्ष २०७४/७४ मा वेदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको कुल संख्या घटेर ३ लाख ५४ हजार ८२ जनामा कायम भएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा ७.६७ प्रतिशत कम हो । आव २०७३/७४ मा ३ लाख ८३ हजार ४ सय ९३ जनाले विभागबाट नयाँ श्रम स्वीकृति लिएका थिए ।
 
विभागको तथ्यांकअनुसार गत आव असार मसान्तसम्म संस्थागततर्फ श्रम स्वीकृति लिनेको संख्या ३ लाख २३ हजार ८ सय ७६ रहेको छ । त्यस्तै, नयाँ श्रमस्वीकृतितर्फ ८ हजार ९ सय ६ जना र वैधानिकतर्फ २१ हजार ३ सय जनाले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्ष २०७४/७५ मा रोजगारीको क्रममा विदेशिनेको संख्यामा अघिल्लो आवको तुलनामा २८ हजारले कमी आएको हो।
 
गत आवको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा प्रतिवर्ष कमी हुँदै आएको देखाउँछ । आव २०७१/७२ मा कुल ५ लाख १२ हजार ८ सय ८७ जनाले नयाँ श्रम स्वीकृति लिएकोमा आव २०७२/७३ मा सो घटेर ४ लाख १८ हजार र आव २०७३/७४ मा सीमित भएको थियो। त्यस्तै चालू आवमा पनि सो संख्या घट्नुले रोजगारीको सिलसिलामा नयाँ श्रम स्वीकृति लिई विदेशिने नेपालीको संख्यामा गिरावट आएको पुष्टि हुन्छ । आव २०७४/७५ मा संस्थागततर्फ श्रम स्वीकृति लिने नेपालीको संख्या १२ दशमलव ४१ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कुल ३ लाख ६९ हजार ७ सय ७३ जनाले संस्थागततर्फ श्रम स्वीकृति लिएकोमा गत आवमा सो संख्या ३ लाख २३ हजार ८ सय ७६ रहेको देखिन्छ ।
 
यता, गत आवमा संस्थागतसमेत गरेर विदेशिने नेपालीको संख्या भने ६ लाख १२ हजार ६ सय ८५ जना रहेको छ । अघिल्लो वर्ष यो संख्या ६ लाख ४२ हजार ८ सय ५९ थियो । यसको अर्थ नयाँ श्रम स्वीकृति लिनेको संख्यामा गिरावट आए पनि बिदामा नेपाल आई पुनः श्रम स्वीकृति लिनेको संख्या भने यथावत् नै छ । अघिल्लो आवमा कुल २ लाख ५९ हजार ३६६ जनाले पुनः श्रम स्वीकृति लिएकोमा गत आवमा सो संख्या १ हजारमात्र कम छ । 
 
विदेशमा काम गरी फर्कने नेपाली त्यहाँको सुविधा तथा राम्रो आयका कारण आकर्षित हुने गरेकोले पुनः जानेको संख्या भने उस्तै रहेको छ । विभागका अनुसार यसरी विदेशिने नेपालीहरुमा गत वर्ष नयाँ श्रमस्वीकृति लिएर जानेहरुमा सबैभन्दा बढी मलेसिया गएका थिए । अघिल्लो वर्ष मलेसिया नेपाली कामदारका लागि जाने दोस्रो आकर्षणको केन्द्र थियो।
 
पछिल्लो समय गत जेठको पहिलो साताबाट मलेसियाको श्रमस्वीकृति बन्द हुँदा पनि अघिल्लो वर्ष दोश्रो ठुलो गन्तव्य रहेको मलेसियामा यो पटक सबैभन्दा बढी नेपाली गए । यस अवधिमा मलेसियामा १ लाख ४ हजार २ सय ९ जनाले नयाँ श्रम स्वीकृति लिएर उडेका थिए भने पुन श्रमस्वीकृतिसहित १ लाख ३७ हजार ३ सय ११ जना गए ।
 
यता नयाँ श्रम स्वीकृति लिएर जानेहरुमा कतार दोस्रो स्थानमा रहेपनि पुनः श्रमस्वीकृतिसहित जानेको संख्यामा भने कतार पहिलो बन्यो । यस अवधिमा कतारमा नयाँ श्रम स्वीकृति लिएर १ लाख ३ हजार १ सय ७९ जना र पुनः श्रमस्वीकृतिसहित १ लाख ८३ हजार ५ सय ४२ जना उडे । गत आर्थिक वर्ष तेश्रो ठुलो गन्तव्य यूएईमा नयाँ श्रम स्वीकृति लिएर ६० हजार २ सय ४४ र पुनः श्रम स्वीकृतिसहित १ लाख १४ हजार ९ सय ४१ जना, चौथो ठुलो गन्तव्य साउदी अरबमा नयाँ श्रम स्वीकृति लिएर ४० हजार ९ सय ६२ र पुनः श्रम स्वीकृतिसहित १ लाख ८ हजार ४ सय १४ जना उडे ।
 
यस्तै यो अवधिमा कुवेतमा नयाँ श्रमस्विकृतिमा १७ हजार ५ सय ५५ र पुनः श्रम स्वीकृतिसहित २७ हजार १ सय ४९, बहराइनमा नयाँ श्रम स्वीकृतिमा ४ हजार ८ सय ६२ र पुनः श्रम स्वीकृतिसहित ८ हजार ४ सय ५४ जना, ओमानमा नयाँ श्रम स्वीकृतिमा ३ हजार ५९ र पुनः श्रम स्वीकृतिसहित ५ हजार ७ सय १३, पोल्याण्डमा नयाँ श्रम स्वीकृतिमा ३ हजार ६ सय २० र पुनः श्रम स्वीकृतिसहित ३ हजार ६ सय ४५, जोर्डनमा नयाँ श्रम स्वीकृति लिएर १ हजार ९ सय ४४ जना र पुनः श्रम स्वीकृतिसहित २ हजार १ सय ४ जना, टर्कीमा नयाँ श्रम स्वीकृतिमा १ हजार ८ सय १५ र पुनः श्रम स्वीकृतिसहित १ हजार ८ सय ४५ जना गए । विभागको तथ्यांक अनुसार गत वर्ष श्रम स्वीकृति लिएर विभिन्न १ सय ४२ देशमा नेपालीहरु विदेशिएका छन् ।
 
आर्थिक वर्ष २०७४/७५ मा जापान, पोर्चुगल, पोल्याण्ड, नर्वे, क्यानडा, ब्रुनाई हङकङ लगायतका देशमा व्यक्तिगत भिसामा जाने कामदारको संख्यामा भने वृद्धि भएको छ । पछिल्लो समय मलेसिया र खाडीको विकल्पमा युवाले युरोपलगायतका देशमा रोजगारीमा जाने क्रम बढ्दै गएको छ ।
 
यस्तो छ कारण
 
नेपाली कामदार लैजान यो वर्ष पनि मलेसिया र कतारकै बढी प्रतिस्पर्धा देखिएको छ । साउदीमा आर्थिक तथा रोजगारीको संकट चुलिएसँगै नेपाली अधिकांश युवाले कतार र मलेसियालाई नै रोज्ने गरेको जानकारहरुको भनाइ छ ।
 
Published on: 31 July 2018 | Baahrakhari

Back to list

;