s

वर्षौदेखी विदेशी अस्पतालको कोमामा नेपाली कामदार

जनकराज सापकोटा, होम कार्की
 
बाग्लुङ हरिचौरकी लिजन परियार सात वर्षकी भईन । तर उनले आफ्नो बाबुलाई अहिलेसम्म देखेकी छैनिन । देखुन पनि कसरी ? तीन महिनाको गर्भमा रहँदा उनका बाबु वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए । घर फर्किने दिन गनिरहेका बेला १६ मंसिर २०६८ मा उनलाई गाडीले ठक्कर दियो ।
 
त्यसपछि कोमामा पुगेका गिरीबहादुर अहिलेसम्म हमाद अस्पतालको बेडमा छन् । अस्पतालले गिरीलाई नेपाल फर्काउने प्रयत्न त गरिरहेको छ । तर गिरीको उपचारमा लाग्ने शुल्क बेहोर्न सक्ने परिवारको आर्थिक हैसियत छैन । गिरीजस्तै झण्डै डेढ दर्जन कामदार हमाद अस्पतालको कोमा र दिर्घकालिन उपचार कक्षमा उपचाररत छन् । 
 
मंसिरको पहिलो साता परराष्ट्र मन्त्रालयका सह सचिव रमेश खनालको संयोजकत्वमा विभिन्न मन्त्रालय र निकायका प्रतिनिधीको संग्लनतामा सात सदस्यिय कार्यदल बनेको थियो । उक्त कार्यदलले २१ मंसिरमा परराष्ट्र मन्त्रालयलाई प्रतिवेदन पनि बुझाएको थियो । प्रतिवेदन बुझाएको महिनौं भईसक्दा पनि विदेशका अस्पतालमा कोमामा रहेका कामदारनेपाल ल्याउने काममा न कुनै प्रगती भएका छ न ठोस काम ।
 
कार्यदलका सदस्य एवं स्वास्थ्य मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारी स्थायी रिह्याव सेन्टर खोल्नुपर्ने विषयमा मन्त्रालयमा छलफल भएपनि कुनै ठोस प्रगती नभएको बताउछन् । भन्छन, ‘कोमामा वा दिर्घकालिन उपचारको खाचो रहेको कामदारलाई लामो समयसम्म कसरी र कहां राखेर उपचार गर्ने भन्नेमा कार्यविधी नबनेसम्म केही भन्न सकिने अवस्था छैन ।’
 
उक्त कार्यदलले कतारको अस्पतालमा १६ नेपाली कामदार अचेत अवस्थामा रहेको पुष्टी गरेको छ । तीमध्ये १० कामदारलाई तत्काल नेपाल पठाउन हमाद अस्पतालले कतारस्थित नेपाली दुतावासमा निरन्तर ताकेता गरिरहेको छ । हमाद प्रशासनले अहिले नियमीत जसो दुताबासका अधिकारीलाई बोलाएर बिरामी लैजाने बिषयमा अपडेट मागिरहेको हुन्छ । आफुहरुले लामो समयदेखि उपचार गरेर राख्दा पनि नेपाल पक्षबाट सहयोग नमिलेको भन्दै हमादले दुताबासप्रति गुनासो गरिरहेको छ ।
 
‘बर्षौदेखि उपचाररत कोमाका रहेको बिरामीप्रति दुताबासले बेवास्ता गर्‍यो’, अस्पतालको सिधा भनाई थियो, ‘आफ्ना नागरीकको रेखदेख गर्नु दुताबासको दायित्व हो । यसमा नेपाली दुताबासले सामान्य ब्यबहार पनि गरेन् ।’ ईमेल सम्र्पकमा आएका हमाद अस्पतालका एक डाक्टर नाम उल्लेख नर्गने सर्तमा नेपाली दुतावासको व्यवहारबाट अस्पताल आजित भएको बताउंछन । भन्छन, ‘वर्षौदेखी कोमामा रहेको आफ्ना नागरिकप्रति नेपाल सरकारको कुनै चासो नदेख्दा हामी छक्क परेका छौं ।’
 
२ पुस २०६३ देखि कोमामा रहेको बाराका खुबलाल ठाकुर, ६ भदौ २०६८ देखी कोमामा रहेको गोरखाका कालु गुरुङ, १० असार २०६९ देखी कोमामा रहेका दण्डकाली ८ सुर्खेतका हरिबहादुर बस्नेत र ३ असोज २०७१ देखी कोमामा रहेका कटैया १३ बाराका बुनिलाल कुर्मीलाई नेपाल फर्काउन अस्पतालले दुतावासमाथी दवाव बढाईरहेको छ । यि चारले  क्षतिपुर्ति पाउने स्थिति नरहेको र परिवारले पनि बिरामी बुझ्न स्वीकार नगरेकोले दुताबासलाई अप्ठ्यारो परिरहेको छ । 
 
हमाद अस्पतालले गम्भिर चासो दिएपछि नेपाली दुताबासले बिरामीलाई नेपाल पठाउन सक्रियता देखाएको छ । परिवारसँग सम्र्पक गर्ने, क्षतिपुर्ति पाउने अबस्था हेर्ने र सरकारी अस्पतालको जिम्मेवारी लिन मन्त्रालयसँग पत्राचार गर्न थालेको छ । ‘हामी अस्पताल र परिवारबीच समन्वयकारी भुमिका निर्बाह गरिरहेका छौं’, कार्यबाहक राजदुत मणीरत्न शर्माले कान्तिपुरलाई भने,‘जबसम्म बिरामी बुझ्न अस्पतालबाट पत्र आउदैन् । तबसम्म बिरामीलाई यहाँबाट पठाउन सकिदैनन् ।’ 
 
दुताबासले यहाँको सबै बस्तुस्थिति सहित आबश्यक कार्य गर्न परराष्ट्र मन्त्रालयलाई पटक पटक पत्राचार गरिसकेको छ । ‘हामी नेपालबाट अस्पतालले बिरामी राख्ने पत्र आउनसाथ बिरामी पठाउन सहमत दिइहाल्छौं ।’, उनले भने, ‘यसको लागि सम्बन्धीत सरोकारवाला पक्षहरुले भुमिका निबार्ह गरिदिनुपर्‍यो ।’ तर नेपालका निजी अस्पतालमा महंगो शुल्क तिरेर बिरामी राख्ने हैसियतमा कामदारका परिवार छैनन । भएको बीर र टिचिङ जस्ता सरकारी अस्पतालमा पनि लामो समयसम्म हेरचाह गर्नुपर्ने विरामी राख्न स्थान अभाव छ । 
कार्यबाहक राजदुत शर्माले क्षतिपुर्ति पाउने बिरामीको हकमा मुद्दा लडिरहेको बताए । ‘कानुनी रुपमा जसले क्षतिपुर्ति पाउने सम्भाबना राख्छ । उनीहरुको मुद्दा लडिरहेका छौं । केहीको मुद्दा पनि आइसकेको छ’, उनले भने । बाग्लुङका गिरीबहादुर र रुकुमका मनोज केसीले प्रतिब्यक्ति एकलाख ५९ हजार ८ सय ६० रियाल क्षतिपुर्ति पाइसकेका छन् । ‘यो दुताबासको खातामा छ’, कार्यवहाक राजदुत शर्माले भने, ‘परिवारले बिरामी लग्ने बित्तिकै रकम उपलब्ध गराईन्छ ।’ 
 
हमादले ती बिरामी घर पठाउन नेपाल सरकारले जिम्मेवारी लिनुपर्ने बताएको छ । ‘बिरामीको क्षतिपुर्तिको लागि नेपाली दुताबासले मुद्दा लडिदिनुपर्छ । यो दृुताबासको दायित्व हो’, कोमा बिरामीको हेरिरहेको एक म्यानेजरले भने,‘हाम्रो जिम्मेवारी उपचार गरिदिने हो । सबैको अबस्था  स्थिर छ । उनीहरुलाई बाचुन्जेल  उपचार चाहिन्छ ।’
 
हमाद अस्पताल कोमामा रहेको बिरामीलाई ‘मेडिकल स्कर्टिङ’मा नेपाल पठाउन तयार देखिन्छ । फागुन पहिलो साता हमाद अस्पतालले बाग्लुङ नारायणस्थानका विष्णुबहादुर सुवेदीलाई विजनेस क्लासको टिकट, एक जना डाक्टर र एक नर्स सहित नेपाल पठाईदिएको थियो । ‘बिमान खर्च र नेपालको अस्पतालमा लाग्ने दुई महिनासम्मको शुल्क पनि हमादले नै गरिदिनेछ’, अस्पतालसम्बद्ध ती अधिकारीले भनाई छ, ‘त्यसपछिको दायित्व नेपाल सरकारले लिनुपर्छ ।’
 
परराष्ट्र मन्त्रालयले प्रतिवेदन तयार पारेपनि र कतारस्थित दुतावासबाट बारम्बार कोमामा रहेको कामदारबारे पत्र पाएपनि कुनै पहल ठोस पहल भने चालिसकेको छैन । मन्त्रालयको पश्चिम एसियाली महाशाखाका उपप्रमुख हरिश्चन्द्र घिमिरे कोमामा रहेका कामदारलाई नेपालका स्वास्थ्य संस्थामा ल्याएर उपचार गर्न पहल भईरहेको बताउंछन । भन्छन, ‘कुन अस्पतालमा त्यस्ता बिरामीलाई राख्न सकिन्छ भनेर स्वास्थ्य मन्त्रालयसंग पहल गरीरहेका छौं । घिमिरेले यस्तो बताएपनि परराष्ट्र मन्त्रालय कोमामा रहेको विरामीको बारेमा जानकार भएको पनि पांच महिना बितिसक्यो ।’
 
लामो समयसम्म उपचार चाहिने त्यस्ता विरामीलाई राख्न सरकारले कुनै पहल भने गरेको छैन । वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले कुन कुन देशमा कती कामदार कुन अस्पतालमा छन भन्ने आधिकारिक जानकारी आफुसंग नरहेको बताउंछन । कोमामा रहेका बिरामीका आफन्त निरन्तर बोर्डको सम्र्पकमा रहेपनि बोर्डले तिनीहरुलाई कुनै जवाफ दिन सकेको छैन । काफ्ले भन्छन, त्यस्ता कामदारलाई नेपाल ल्याएपछि राज्यको दायित्व के हुने भन्नेमा हामी स्पष्ट छैनौं ।
 
उनका अनुसार वोर्डको मौजुदा कानूनले त्यस्ता कामदारको हकमा के गर्ने भन्ने कार्यक्षेत्र किटान गरिएको छैन । भन्छन, ‘बिरामी ल्याएर कहां राख्ने र उपचार खर्च कसले र कसरी बेहोर्ने भन्ने स्पष्ट नभएसम्म केही भन्न सकिदैन ।’ माथिल्लो तहमा यो विषयमा ठोस पहल नभएसम्म आफुले केही गर्न नसकिने निष्कर्षमा बोर्ड पुगेको छ । काफ्ले भन्छन, ‘वर्षौदेखी नेपाली कामदार विदेशी अस्पतालको कोमामा रहनु हाम्रै अर्कमण्र्यताको उदाहरण हो ।’
 
स्वास्थ्य मन्त्रालयका उप सचिव रामकृष्ण अधिकारी कोमामा राखेका विरामी ल्याउन परिवारले नै पहल गरेको खण्डमा आफुहरुले सरकारी अस्पतालमा व्यवस्था मिलाईदिने बताउंछन । तर मन्त्रालयले व्यवस्था मिलाएपनि त्यसको शुल्क भने परिवारले नै वेहोर्नुपर्छ । अधिकारीका अनुसार मन्त्रालयले केही समय अघीमात्रै एक त्यस्तै कोमामा बिरामीलाई राख्न शिक्षण अस्पतालमा पत्राचार गरिदिएको बताउंछन । विदेशी अस्पतालको कोमामा रहेका अधिकांश नेपाली कामदारहरु कमजोर आर्थिक हैसियतका र दुर्गम क्षेत्रका छन्  ।
शिक्षण अस्पतालका निर्देशक दीपक महरा नियमित विरामीकै चाप धान्न नसकिरहेका बेला विदेशी अस्पतालको कोमामा रहेको बिरामीलाई लामो उपचारका निम्ती राख्न सम्भव नभएको बताउंछन । भन्छन, ‘बेडको अभावमा अस्पतालका पालो पर्खिरहेकै बिरामीको सुची लामो छ । यस्तो अवस्थामा हामी कसरी वर्षौसम्म उपचार चाहिने बिरामीलाई राख्न सक्छौं ।’
 
वैदेशिक रोजगारीमा जाने कामदारहरुले जम्मा गरेको झण्डै तीन अर्व २० करोड रुपिया वैदेशिक रोजगार कल्याणकारी कोषमा छ । तर कोषको यो रकम विदेशका अस्पतालमा कोमामा रहेको कामदारका निम्ती खर्च गर्न मिल्ने कानूनी प्रावधान छैन । वोर्डका कार्यकारी निर्देशक काफ्ले बैदेशिक रोजगार ऐन ०४६ को तोकेको क्षेत्रमा मात्रै उक्त रकम खर्च गर्न सकिने बताउंछन् ।  
 
वैदेशिक रोजगारीको अध्ययन गरिरहेका डा. गणेश गुरुङ , आफ्ना नागरिक वर्षौदेखी विदेशी अस्पतालको कोमामा रहंदा पनि कुनै ख्याल नर्गनु राष्ट्रिय लज्जा भएको बताउंछन । भन्छन, ‘कल्याणकारी कोषमा रहेको रकम बारम्बार दुरुपयोग भएका घटनाहरु आईरहंदा पनि कोमामा रहेको श्रमिकको उद्धारमा पहल नर्गनु सरकारको नालायकीपना हो ।’ 
 
हमाद अस्पतालमा रहेका बिरामीको बिबरणहरु : 
 
तत्काल नेपाल पठाउन चाहेको बिरामी
 
नाम, अस्पतालमा भर्ना मिति 
 
खुबलाल ठाकुर हजाम -१७ डिसेम्बर २००६
श्रीबहादुर नेवाङ  -४ सेप्टेम्बर २००८ 
मनोज केशी -१८ सेप्टेम्बर २००९ 
कालु गुरुङ -२३ अगस्ट २०११ 
गिरीप्रसाद बिक -२ डिसेम्बर २०११ 
हरिबहादुर बस्नेत -२४ जुन २०१२ 
बुनिलालप्रसाद कुर्मी -१९ सेप्टेम्बर २०१४ 
भक्तबहादुर रासकोटी मगर -१० अप्रिल २०१४ 
बिन्देमुखिया बिन   -२७ जनवरी २०१४ 
राजेन्द्रप्रताप शाही -६ जुन २०१५ 
 
अचेत अबस्थामा उपचारत नेपाली
 
ललित बुढा  -२४ नोभेम्बर २०१५
भरतराम यादब  -९ मार्च २०१५ 
बिकास श्रेष्ठ  -२७ मे २०१५
अनिलकुमार चौधरी  -१३ सेप्टेम्बर २०१५
सन्तोषकुमार यादब  -९ मार्च २०१५ 
रेशम गिरी  -२५ जनवरी २०१६
टेबबहादुर बोहरा
 
Published on: 21 May 2016 | Kantipur

Back to list

;