s

बर्मा गए नि कर्मसँगै

जीवा लामिछाने
 
गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने यसपालि बर्मा पुगे । त्यहाँका नेपालीको जीवन, भाषा र लवज देखे-सुनेर दंग परे । र, विश्वयुद्धका बेला गुमनाम मरेका सिपाहीका चिहानघारी देखेर भावुक भए । 
ब्ाा भन्नुहुन्थ्यो- बर्मा गए नि कर्मसँगै ।
 
यो उखान उहिल्यैदेखि धेरैका बाआमाले भन्दै आएका हुन् । यो उखान मैले पनि सानै उमेरमा सुनेको हुँ तर यसको भाव भने बुझेको थिइनँ । च्ाार कक्षा पुगपछि बर्मा भनेको देश हो भन्ने बुझें । पछि थाहा पाएँ, बर्मामा नेपालीहरू पनि बस्छन् । अहिले लाग्छ, बर्मामा पनि नेपाल छ । किनभने, बर्माका नेपालीहरूको मनमा, भाषामा, भावमा नेपाल छ । 
 
जहाँ गए पनि भाग्यसँगै भन्ने उक्तिलाई मेरो जीवनको अनुभवले के भन्छ भने यो केही हदसम्म हो पनि र होइन पनि । म संसारका झन्डै आधा देश घुमें हुँला । जहाँ गए पनि मैले आफूलाई लिएर गएँ । आफ्ना विचार र भावनालाई लिएर गएँ । तर मेरा विचारहरू धेरै देश घुमेपछि धेरै परिमार्जित पनि भएका छन् । कुनैकुनै देशले त मेरो कर्म नै परिवर्तन पनि गरिदियो । त्यो देश हो रुस । म इन्जिनियर बन्न गएको मान्छे रुसले मलाई व्यापारी बनाइदियो ।
 
२०७० वैशाख ३१ गते म पहिलोपटक बर्मा जाँदै थिएँ । बैंककबाट याङ्गुनसम्मको पmलाइट जम्मा एक घन्टाको रहेछ । रङ्गुन एयरपोर्टमा अखिल म्यान्मार गोर्खा हिन्दु संघका अध्यक्ष ओमबहादुर कार्की, एनआरएन बर्माका अध्यक्ष सागर घिमिरे, ज्ञानबहादुर थापा, शंकर पराजुली मलाई रिसिभ गर्न आए । त्यतिबेला मलाई आपmनै देशको एयरपोर्टमा अवतरण गरेजस्तो लाग्यो । भूगोल मात्र देश होइन भन्ने कुराको अनुभूति भयो । ओमबहादुर कार्की अलि पाको उमेरका भएकाले सबैले सम्मान गरेर उहाँलाई बाबा भन्दा रहेछन् । मैले पनि बाबा भनें । मलाई पारिवारिक भेटजस्तो लाग्यो । 
 
नेपालीहरू विश्वका धेरै देशहरूमा छरिएर रहेका छन् । भारतभन्दा पर नेपालीहरू कामको खोजीमा पुगेको पहिलो देश सायद बर्मा नै होला । बि्रटिस साम्राज्यको अधीनमा रहँदा नेपालीहरू गोर्खा सैनिकको रूपमा ठूलो संख्यामा बर्मा गएका थिए । 
 
जेठ १ गते । बर्मा पुगेपछि बर्माको इतिहासका केही झिल्काहरू अझ याद आइरह्यो । जर्नेल नेबिनले झन्डै ५० वर्षअघि सत्ता हत्याएपछि सुरु भएको जातीय दंगाका कारण धेरै नेपालीमूलका बर्मेली नागरिकहरू समेत नेपालमा शरणार्थीको रूपमा आए । तत्कालीन राजा महेन्द्रले नवलपरासी, बुटबल क्षेत्रमा उनीहरूको बस्ती बसाइदिएका थिए । त्यति बेलादेखि सुरु भएको जातीय द्वेष आजपर्यन्त विद्यमान छ । गत वर्ष एक बुद्धिस्ट महिलाको बलात्कार र हत्याको घटनालाई लिएर सुरु भएको जातीय दंगामा दुई सयभन्दा बढी मानिस मारिएका थिए । दसौं हजार मानिसले बंगलादेशमा शरणार्थी हुनुपरेको थियो । यस वर्ष पनि एउटा मुस्लिम-बुद्धिस्ट विवादले जातीय दंगाको रूप लिएपछि त्यसले विश्वव्यापी चर्चा पायो । बर्माबाट लखेटिएका नेपालीको दर्दनाक घटनामा आधारित इन्द्रबहादुर राईको कथा 'जयमाया आफू मात्र लिखापानी आइपुगी' धेरै पहिले पढेको थिएँ । 
 
पहिलेपहिले यहाँ प्रायः नेपालीहरूले कृषि र पशुपालन व्यवसाय गर्थे । अहिले पनि गर्छन् तर कतिपय नेपालीहरू पत्थर र नवरत्नको व्यवसाय गरेर निकै सम्पन्न भएका रहेछन् । ओमबहादुर कार्की आफैं पनि पत्थरको पुरानो व्यवसायी हुनुहँदो रहेछ । पत्थरको व्यवसाय गरेर नै धेरै नेपालीहरूको जीवनस्तर माथि पुगेको रहेछ । पत्थरको व्यवसाय गर्ने डेभिड कार्कीले भने, 'यो व्यवसायमा फाइदा त छ तर जोखिम पनि त्यत्तिकै छ । केही जमिन किनेर पत्थर उत्खनन गरेको पाँच वर्ष भयो तर आजसम्म एउटा पनि पत्थर फेला परेको छैन । कति दिनसम्म कामदारहरूलाई पालेर राख्न सकिन्छ र ? सिसिफसको यात्राजस्तो भएको छ । बेचबिखन पनि विश्वासको भरमा नै गर्नुपर्छ । कहिलेकाहीं यो व्यवसायमा ठगी पनि हुने गर्छ ।' अर्का एक नेपाली दीपक अधिकारी पनि पत्थरको व्यवसाय गर्दा रहेछन् । उनको घरमा रुबी, सफायर, नीलम आदि जस्ता बहुमूल्य पत्थरहरू रहेछन् । खानीबाट ल्याइएको कच्चा पत्थरलाई कसरी प्रशोधन गरी कटिङ गरिन्छ र हार, औंठी आदिमा राख्न योग्य बनाइन्छ भन्ने कुरा हेर्न पाइयो । दीपकजीले संकलन गरेका केही पत्थरहरू त लाखौं डलर समेत पर्छन् रे । म जस्तो यस मामिलामा कत्ति पनि नबुझेको मान्छेलाई सबै पत्थर उस्तै लागे । पत्थर व्यावसायले धेरै नेपालीको जीवनस्तर माथि गएको छ । पत्थरको व्यवसाय गर्नेहरूको मन भने पत्थरजस्तो कडा होइन नौनीजस्तै साह्रै कोमल रहेछ, तर रत्नजस्तै चम्किलो !
 
बर्मा भन्नसाथ आङ साङ सुकीको याद आइहाल्छ, जस्तो भारतभन्दा महात्मा गान्धीको याद आउँछ । अहिले आङ साङ सुकी बर्माको प्रतिप्रक्षमा छन् । सुकीप्रतिको श्रद्धाका कारण हामी उनको अफिस गयौं । हामी जाँदा सुकी त्यहाँ थिइनन् । उनको पार्टी अफिस साह्रै सामान्य थियो । पञ्चायतकालमा जमलस्थित प्रतिबन्धित नेपाली कांग्रेसको अफिसजस्तो । सन् २०१५ मा हुने आमनिर्वाचनमा उनको पार्टीले बहुमत ल्याउने कुरामा सबै विश्वस्त रहेछन् । अहिले भने २५ प्रतिशत मात्र स्थानमा भाग लिने अवसर दिँदा पूरै सिट जितेर संसद्मा २५ प्रतिशत स्थान उनको पार्टीले प्रतिनिधित्व गरेको रहेछ । नेपाली समुदायप्रति सुकीको सकारात्मक धारणा रहेछ । सुकीको पोट्रेट, एउटा पेर्सिलिन कप र केही सुभेनिर किनेर हामीले त्यहाँ फोटो पनि खिच्यौं । नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकी आफ्नै देशबाट यति धेरै प्रताडित भएको इतिहासले मलाई हाम्रो देशका नेता विश्वेश्वरप्रसाद कोइरालाको याद आइरह्यो ।
 
यहाँ नेपालीहरूले बोल्ने भाषा शैलीमा एक प्रकारको छुट्टै मिठास पाएँ । मलाई यो मिठास नेपालकै कुनै पूर्वी पहाडी क्षेत्रको आञ्चलिक भाषाको जस्तो लाग्यो । यहाँका नेपालीहरूले बोलीचालीमा समेत आमाबालाई मातापिता भन्दा रहेछन् । हाम्रो आर्य संस्कृतिको शिष्ट जीवनशैलीलाई बचाएर राखेजस्तै लाग्यो । बोलीचालीमा भने नेपालमा बोलिने पहाडी भाषा र हिन्दी लवजको मिश्रति सुगन्ध आउँदो रहेछ । जस्तोः 'थोडी देर भयो !' 'म भरे र्फकंदा यहाँको घरमा एकछिन घुस्छु ल !' फोनमा कुरा सकिएपछि फोन राखौं है भन्नुको सट्टा 'फोन झारुँ है' भन्दा रहेछन् ।
 
भोलिपल्ट हामी दास्रो विश्वयुद्धमा सहादत प्राप्त गर्ने सिपाहीहरूको सम्मानमा बनाइएको समाधिस्थलमा गयौं । २७ हजार सैनिकहरूको चिहान रहेछ त्यो । हजारौं गोर्खा सैनिकहरूको नाम पनि समाधिस्थलमा कुँदिएको थियो । मेरो मनले भन्यो- नेपालीहरू आफूले जित्नभन्दा धेरै अरूलाई जिताउन मरेका रहेछन् सायद ! म भावुक भएँ । रुसमा एउटा भनाइ प्रचलित छ- युद्ध तबसम्म जारी रहन्छ जबसम्म त्यस युद्धमा सहादत प्राप्त गर्ने अन्तिम सैनिक समाधिस्त भइसकेको हुन्न ! जुन धर्मसंस्कृतिको सिपाही हो सोहीअनुसार समाधिस्थलमा लेखिएको थियो । नेपाली सिपाहीहरूको समाधिमा 'ॐ भगवते नमः' लेखेर उक्त सिपाहीको संक्षिप्त व्यक्तिगत विवरण लेखिएको थियो । हामीले ती समाधिहरू हेर्दै गयौं । केही समाधिमा त सिपाहीको नाम र उसको व्यक्तिगत विवरणको सट्टा यस्तो लेखिएको थियो- 'नोन अनटु गड !' जसको नाम भगवान्लाई मात्र थाहा छ । त्यतिबेला मन झन् भरङ्ग भएर आयो । त्यो सिपाहीलाई थाहा थियो कि थिएन होला म कसलाई जिताउन मर्दै छु ? ऊ जसका लागि मर्योल, उनीहरूले उसको नामसमेत थाहा पाएनन् । संसारका शक्तिशाली तर सनकी शासकहरूको सनकमा आजसम्म करोडौं निर्दोष मानिसले जीवन गुमाए । उनीहरू सैनिकको भरमा ठूला हुन खोजे । करोडौंको ज्यान गयो । तैपनि ती कहिल्यै ठूला हुन सकेनन् ।
 
रङ्गुनको विश्वप्रसिद्ध श्वेडागोंन प्यागोडा चैत्य अर्थात् गोल्डन प्यागोडा टेम्पलमा साँझ हामी दर्शन गर्न गयौं । मलाई सुनौलो संसारमा पुगेजस्तो लाग्यो । ३२६ फिट अग्लो चैत्य । यसको वरिपरि ससाना चैत्य र गुम्बाहरू छन् । सबैमा सुनको लेपन गरिएको छ । र यहाँ हीरा, मोती आदि थुप्रै रत्नहरू जडिएको छ । हामी त्यहाँ प्रवेश गर्दा सिमसिम पानी परेको थियो । उखुम गर्मीले एकछिन विश्राम लिएको थियो । एकजना भिक्षुले हामीलाई छाता दिए । हामीले चैत्य परिक्रमा गर्यौं। । पूरै परिक्रमा गर्न झन्डै ४५ मिनेट लाग्यो । बर्मिजहरू अति नै धर्मिक, दयालु, मिलनसार र उदार मनका लाग्यो । पूरै बर्माभरि पाँच लाखभन्दा बढी त भिक्षुहरू मात्रै छन् रे । यो देशमा यति धेरै भिक्षु किन भएका होलान् ? सायद यो देश द्वन्द्व र दंगाको पनि देश हो । युद्धले पीडित देश । यस्ता देशहरूमा त्यसको ठीक विपरीत केही समयपछि निराशाले भिक्षुहरूको संख्या बढेको हुन सक्छ । यो अर्को अध्ययनको पाटो हो । भिक्षु धर्म निर्वाह गर्न दुई सयभन्दा बढी कडा नियमको पालना गर्नुपर्ने रहेछ । 
 
महिला भिक्षुणीहरूलाई भने भिक्षुणी नभनी शिलवती भन्दा रहेछन् । शिलवतीहरूले भने दस नियम मात्रै पालन गरे हुने रहेछ । भिक्षुहरू बिहान नांगो खुट्टा लिएर भिक्षाटन गर्न निस्कँदा रहेछन् । बुद्ध दर्शनमा लेखिए बमोजिम जे मिल्छ त्यही खाने । त्यो पनि एक छाक मात्र । वृद्धवृद्धाहरू र युवा मात्र होइन किशोरकिशोरी र स-साना बालबालिका पनि पहेंलो वस्त्र धारण गरी भिक्षु र शिलवती भएको देखियो । मेरो मनमा भने एउटै प्रश्न उठिरहयो- यी बालबालिका, अझ यी तन्नेरीतरुनीहरूले कसरी यति कडा धार्मिक नियमको पालना गर्न सक्छन् होला ? के यो बाहिर देखिएको पहेंलो वस्त्र धारण गरिएझैं पालना गरिएको होला र ? के इन्दि्रयहरूले यिनीहरूलाई चुपचाप भिक्षु र शिलवती बन्न दिएको होला ?
 
सुनको लेपन गरिएको विशाल महाचैत्यको रोचक प्रसंग रहेछ । बर्माबाट तपुसा र भल्लिका नाम गरेका दुई दाजुभाइ महबाट बनाइएको मिष्ठान्न उपहार लिएर भगवान् बुद्धसँग दीक्षा लिन गएछन् । ती दुई भाइसँग प्रसन्न भएर भगवान् बुद्धले आफ्नो कपालका आठ रौं निकालेर उपहार दिनुभएछ । रङ्गुन फर्केपछि उनीहरूले ती रौं ओकलापाका राजालाई चढाएछन् । राजाले ती आठ रौं राख्नका लागि यो चैत्य निर्माण गरेका अरे । मलाई भने आफ्नै देशको चिन्ता लाग्यो । किम्वदन्ती नै सही, बुद्धका रौं राख्नसमेत यहाँ यति विशाल चैत्यको निर्माण गरिएको छ तर हाम्रो भने बुद्ध जन्मिएको लुम्बिनीको गति त्यस्तो छ । अलिअलि जे छ त्योसमेत विदेशीहरूले बनाइदिनुपरेको छ । 
 
जगदम्बाश्री पुरस्कार विजेता स्रष्टा ठाकुरप्रसाद गुरागाईंसँग पनि भेट भयो । गुरागाईंजीले उपन्यास र केही धार्मिक ग्रन्थहरू पनि प्रकाशित गरेका छन् । प्रवासमा रहेर पनि उनले नेपाली भाषासाहित्यलाई ठूलो गुन लगाएका छन् । बर्मिज सेनामा क्लोनेलसम्मको पदमा पुग्नुहुने टंकध्वज नेपाललाई भने समय अभावका कारण भेट गर्न पाइनँ । अर्का महत्त्वपूर्ण व्यक्तित्व हुन्- नन्दराम न्यौपाने । उनले रङ्गुनजस्तो महानगरमा धर्मशाला बनाइदिए । करोडौं लागतमा बनेको यो धर्मशाला आठतले छ । उनलाई सबैले दानवीर न्यौपाने भन्दा रहेछन् ।
 
यति खेर म एनआरएनए अध्ययक्षका नाताले बर्मा आएको हुँ । केही महत्त्वपूर्ण सवालहरू उठे । एउटा महत्त्वपूर्ण सवाल भने यस यात्रा लेखनमा नलेखी रहन सकिनँ । 
 
गैरआवासीय नेपाली ऐन २०६४ ले नेपालीमूलका विदेशी नागरिकहरूले समेत नेपालमा व्यवसाय गर्न र तोकिएको सर्तबमोजिम घरजग्गा खरिद गर्न पाउने कानुनी व्यवस्था गरेको छ । तर त्यसका लागि उनीहरूले गैरआवासीय नेपाली परिचय पत्र पीएनओ कार्ड भने लिएको हुनुपर्छ । नेपालीमूलका विदेशी नागरिकहरूले गैरआवासीय नेपाली परिचयपत्र लिनका लागि साविकमा ऊ आफंै, उसका बाआमा वा बाजेबज्यै नेपाली भएको प्रमाण जुटाउनुपर्ने हुन्छ । नेपालमा नागरिकताको प्रमाणपत्र दिने प्रचलन सुरु भएको धेरै भएको छैन । बर्मा विस्तारै खुला हुँदै गइरहेको अहिलेको परिप्रेक्ष्यमा त्यहाँ बसोबास गर्ने धेरै नेपालीहरू लगानी गरेर होस् वा घरजग्गा खरिद गरेर होस् आपmना पुर्खाको देशसँग जोडिन चाहेको मैले यसपटक थाहा पाएँ । तेस्रो पुस्तादेखि बर्मामा बसिरहेका नेपालीहरूले आफ्ना बाआमा या बाजेबज्यै नेपाली थिए भनेर देखाउन सक्ने कानुनी प्रमाण फेला पार्नु असम्भव प्रायः हुन्छ । राज्यले हिजोका दिनमा व्यवस्था नै नगरेको कानुनी कुरा आज आएर खोजी गर्नु तर्क संगत नहुने भएकोले कुनै वैकल्पिक उपाएको खोजी गरी मनमा नेपाल, मुखमा नेपाली भाषा, व्यवहारमा नेपालीपन र अनुहारमा नेपाली वर्ण साँचेर बस्ने हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूले पनि राज्यले उपलब्ध गराएको कानुनी प्रावधानलाई उपयोग गरी आपmना पुर्खाहरूको देशसँग सधैं आबद्ध हुन पाउनुपर्छ । 
बर्मा निवासी नेपालीहरूसँग भेटघाट तथा छलफलका लागि गैरआवासीय नेपाली संघ बर्माले बिहान राम जानकी मन्दिरमा एउटा कार्यक्रम राखेको थियो ।  त्यहाँ एकजना पाको उमेरकी महिला पनि आएकी रहिछन् । उनले अति स्नेहसँग मेरो हात समाइन् । मलाई मेरी आमाले म सानोछँदा म कतै लड्छु कि भनेर हात समाए जस्तो लाग्यो । उनले भनिन्, 'आफ्नो मुलुकबाट आएको मानिसलाई म भेट्न आएकी हुँ ।' 
मैले सोधें, 'आमा, कहिले बर्मा आउनुभएको ?' 'तीन पुस्ता भइसक्यो । हजुरबाको पालादेखि ।' 
 
मौसम गर्मी थियो तर मेरो मन शीतल भयो । तीन पुस्तादेखि बर्मामा बस्दै आएकी यी आमा, जो बर्मामै जन्मेर बर्मामै बूढी भइन् उनले अझै भावानात्मक रूपमा नेपाललाई आफ्नो मुलुक सम्भिmरहेकी छन् । नेपालबाट आउनेहरूलाई भेट्न जाँदा आफ्नो मुलुकबाट आएको सम्भिmनुजस्तो महान् देश प्रेम अरू के हुन सक्छ ? बर्मा जाँदा नेपाल गएजस्तै भयो । राजनीतिक सिमानाका कारण मात्र नेपाल र बर्मा भन्नुपरे जस्तो लाग्यो । आजभोलि मलाई जहाँ नेपाली छन् त्यही नेपाल हो जस्तो लाग्न थालेको छ । बर्मालाई मानसपटलमा बोकेर र्फकंदै गर्दा लाग्यो- बर्मा कर्मयोगी र धर्मयोगीहरूको देश हो । पत्थर र प्रेमको देश हो, दानवीर र सानवीरहरूको देश हो, प्रकृति र संस्कृतिको देश हो । र बर्मा द्वन्द्व, द्वेष र दंगाको पनि देश हो । यति भएर पनि बर्मा बर्मिजहरूको मात्र होइन, नेपालीहरूको पनि देश हो ।
 
रङ्गुन एयरपोर्टबाट मनिला जानका लागि जब म जहाज चढें मलाई किनकिन एकछिन आँखा चिम्लिन मन लाग्यो । आँखा चिम्लँदा मेरो मनमा सजीव भएर चम्किला नवरत्नहरू र ठाकुरप्रसाद गुरागाईं, टंकध्वज नेपाल, नन्दराम न्यौपाने आदि कर्मवीर नेपाली आफन्तहरू, दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका सिपाहीहरू, गोल्डेन टेम्पल, आङ साङ सुकी, आफ्नो मुलुकको मान्छे आएको छ भनेर भेट्न आउने आमा, केही द्वन्द्व, द्वेष र दंगाजस्ता अनेकौं घटना, पात्र र दृश्यहरू साँच्चै हो कि सिनेमा हो झैं आइरहे ।
 
Published on: 1 June 2013 | Kantipur

Back to list

;