s

बर्दियाका विवेक खत्रीलाई छाड्न युक्रेनको सर्त : नेपालमा पनि जेलमा राख्नुपर्छ

युक्रेनले रुसी सेनामा कार्यरत बर्दियाका विवेक खत्री मात्रै युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेको छ । तर, उनलाई नेपालमा पनि आपराधिक मामिलामा जेलमा राख्न नेपाल सरकार तयार भए मात्र रिहाइको प्रक्रिया अघि बढाउन सकिने सर्त राखेको छ ।

नेपालले खत्री र काभ्रेका सिद्धार्थ ढकालको रिहाइका लागि कूटनीतिक प्रयास गरेकामा युक्रेन सरकारले यस्तो सन्देश पठाएको हो । उसले ढकालको गिरफ्तारीबारे भने अहिलेसम्म आधिकारिक पुष्टि गरेको छैन ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार युक्रेनले रुसी सेनामा कार्यरत रहेका अन्य विदेशी नागरिक पनि आफ्नो नियन्त्रणमा रहेको र उनीहरू सबैलाई रिहा गर्नुपर्ने दबाब रहेको उल्लेख गर्दै नेपालीलाई मात्रै विनासम्झौता छाड्न नसकिने सन्देश पठाएको छ । ‘खत्रीलाई अपराधीका रूपमा नेपालले स्वीकार गर्ने र उनलाई जेलमा राख्ने सर्तसहित नेपाल र युक्रेनबीच समझदारीपत्र (एमओयू) हुनुपर्ने युक्रेनको प्रस्ताव आएको रहेछ । यसमा के गर्ने भन्ने निक्र्योल गर्न बाँकी छ,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि यसबारे जानकारी गराइसकेको छ ।

जानकार स्रोतका अनुसार रुसी सेनामा भर्तीका लागि नेपालीहरू रुस गएको विषयमा युक्रेनले असन्तुष्टि जनाएको छ । ‘उनीहरूले नेपालको नीति के हो भनेर सोधेका रहेछन्, नेपालले रुसी सेनामा भर्ती हुन निरुत्साहित गरेको र रुसलाई पनि भर्ती भएका नेपालीलाई फिर्ता गर्न आग्रह गरिसकेको जानकारी गराएको छ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘युक्रेनमा रुसले हमला गरेकामा नेपालले विरोध जनाएको, बेलायत र भारतमा बाहेक विदेशी सेनामा भर्ती गर्ने नेपाल सरकारको नीति नरहेको भनेर हामीले जवाफ दिएका छौँ ।’ बर्दियाका खत्री असोज अन्तिम सातादेखि र काभ्रेका ढकाल मंसिर दोस्रो सातादेखि युक्रेनी सेनाको नियन्त्रणमा छन् ।

मृतकका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार

रुसी सेनामा कार्यरत रहँदा मृत्यु भएका ६ नेपाली सैनिकका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार भएको छ । यसका लागि लामो प्रक्रिया पार गर्नुपर्ने जानकारी रुसले नेपाललाई पठाएको छ ।

‘क्षतिपूर्तिका सम्बन्धमा हामीले राखेको चासोका सम्बन्धमा रुस सरकारले जवाफ पठाएको छ । यसको प्रक्रिया लामो रहेछ । राजदूतावासले कन्सुलर विभागलाई सबै विवरण पठाइसकेको छ,’ रुसका लागि नेपाली राजदूत डा. मिलनराज तुलाधरले टेलिफोनमा भने ।

रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया र राजकुमार रोका, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की र इलामका गंगाराज मोक्तानको युद्धका क्रममा मृत्यु भएको थियो । रुसी सेनाले नेपाली राजदूतावासमार्फत यो जानकारी दिएको थियो । नेपालले मृतकका परिवारलाई क्षतिपूर्तिका लागि रुस सरकारसँग औपचारिक रूपमा पत्राचार गरेपछि रुसले जवाफ पठाउँदै क्षतिपूर्ति दिने जानकारी दिएको हो । ‘हामीले क्षतिपूर्तिको विषयलाई गम्भीरतापूर्वक उठाइरहेका छौँ,’ राजदूत तुलाधरले भने ।

उनीहरूको शव नेपाल पठाउन नेपालले आग्रह गरे पनि रुसले भने युद्धको अवस्थामा उनीहरू मारिएको र युद्ध जारी रहेको अवस्थामा यो सम्भव नरहेको मौखिक जानकारी दिएको छ । रुसी सेनामा दुई सयभन्दा बढी नेपाली नागरिक भर्ती भएको जानकारी आएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । रुसी सेनामा भर्ती गर्न नेपाली युवा लैजान संलग्न रहेको गिरोहलाई प्रहरीले पक्राउ पनि गरिसकेको छ ।

Published on: 13 December 2023 | Naya Patrika

Link

Back to list

;