s

बारामा थपिएका ६ संक्रमित भारतबाट आएका

दिवाकर भण्डारी

 

बारा : लकडाउनको समयमा नेपाल प्रवेश गरेका बाराको सिम्रौनगढ नगरपालिकाका ६ जनालाई कोरोना संक्रमण देखिएको छ ।

रोजगारीका लागि भारतको दिल्ली, महाराष्ट्रलगायत विभिन्न स्थानमा पुगेका सिम्रौनगढ नगरपालिका ७ का ३४, ३८ र ४५, वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

लकडाउनको समयमै उनिहरु जेष्ठ १ र २ गते नेपाल प्रवेश गरेका थिए । सिम्रौनगढस्थित भारतसंग जोडिएको नाकाबाट नेपाल प्रवेश गर्न खोजेका उनीहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो ।

सिम्रौनगढ ६ स्थित क्वारेन्टाइनमा बसेका उनिहरुको स्वाब हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशालामा पठाइएको थियो ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले राती सवा आठ बजे  विज्ञप्ति सार्वजनिक गर्दै उनीहरुमा कोरोना संक्रमण देखिएको पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका उनीहरुलाई कलैया अस्पताल ल्याउने क्रममा बाटोमा रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएकाले परिवारसँग उनीहरुको सम्पर्क भएको थिएन ।

योसंगै बारामा कोरोना संक्रमितको संख्या ११ पुगेको छ। यसअघि जीतपुरसिमरा उपमहानगरपालिका ७ र १९ का दुई, विश्रामपुर गाउँपालिका ४ का एक, जिल्ला प्रहरी कार्यलय बारामा कार्यरत एक प्रहरी जवान र करैयामाई गाउँपालिका घर भई स्थानीय रेडियोमा कार्यरत एक संचारकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका १९ मा भेटिएका पुरुषको घर सिम्रौनगढ १ हो  । सिम्रौनगढ घर भएका उनी दिल्ली जमातीबाट फर्किएर जितपुरसिमरा १९ को मदर्शामा बस्दै आएका थिए । आज भेटिएको ६ र पहिलाको एक गरि सिम्रौनगढमा मात्रै ७ पुग्यो संख्या । 

शुक्रबार ५९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५१६ पुग्यो

संक्रमितमध्ये प्रहरी जवान र संचारकर्मीलाई कलैया अस्पताल र अन्य तीनलाई वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ । सिमरौनगढका ६ जनालाई कलैया अस्पतालमा राखिनेछ ।

भारतले पछिल्लो समय लकडाउन खुकुलो गरेपछि खुल्ला सिमाबाट लुकिछिपि नेपाल भित्रिनेको संख्या बढदो छ । बारामा मात्रै चार सय २० भन्दा बढी नागरिक विभिन्न क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा हुने अधिकांश भारतबाट नेपाल आएका हुन् ।

Published on: 22 May 2020 | Annapurna Post

Link

Back to list

;