s

बैंककमा पक्राउ परेका मानव तस्करले गरे नेपाल नपठाउन आग्रह

जनकराज सापकोटा

करोडौं ठगी र संगठित मानव तस्करी आरोपमा बैंककमा पक्राउ परेका पर्शुराम गुरुङले आफूलाई ज्यानको खतरा रहेको भन्दै नेपाल नपठाइदिन नेपाली दूतावासलाई आग्रह गरेका छन् ।

ठगीमा संलग्न बैंकक बस्ने परशुराम गुरुङ

थाई प्रहरीको नियन्त्रणमा रहेका गुरुङले बैंककस्थित दूतावासलाई हस्तलिखित पत्र लेखेर बैंककमै राखिदिन आग्रह गरेका हुन् । गुरुङको पत्र दूतावासले वैशाख १० मा काठमाडौंस्थित कन्सुलर विभागमा पठाएको थियो । कन्सुलरबाट परराष्ट्र मन्त्रालय हुँदै उक्त पत्र गृह मन्त्रालय पुगेको छ । नेपाल प्रहरीको पहलमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) ले २०७२ असार २९ गुरुङविरुद्ध डिफयुजन नोटिस जारी गरेपछि उनी पक्राउ परेका थिए । डिफ्युजन नोटिस जारी भएर विदेशी भूमिमा पक्राउ परेकालाई स्वदेश फर्काउनुपूर्व सम्बन्धित देशको इन्टरपोल शाखाले पक्राउ परेका व्यक्तिलाई स्वदेश लगिएपछि सैनिक, राजनीतिक र धार्मिक कारण देखाएर मानव अधिकार हनन गरिने छैन भन्ने आश्वस्तपत्र सरकारी अधिकारीबाट लिने गर्छन् । थाई अधिकारीले पर्शुरामको हकमा पनि आश्वस्तपत्र खोजेपछि बैंककस्थित दूतावासले चैत २७ मै गृहसँग पत्र मागेको थियो ।

स्रोतका अनुसार गृहले मानव तस्करीको आरोपमा पक्राउ परेका गुरुङविरुद्ध राजनीतिक, धार्मिक, सैनिक वा जातिगत आधारमा कारबाही नगर्ने आश्वस्तपत्र पठाएको थियो । यस्तो पत्र बैंककस्थित दूतावास हुँदै थाई अधिकारीकहाँ पुगिसकेको छ । पर्शुरामको ठगी र मानव तस्करी धन्दाबारे अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकारीले पर्शुरामले नेपाल आउन नखोज्नु र उसले पठाएको पत्रलाई आधार मानेर फेरि पत्राचार गर्नुमा बैंककस्थित दूतावासको कैफियत रहेको बताउँछन् ।पर्शुरामको मानव तस्करी र ठगी धन्दाबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनले दुई सयभन्दा धेरैलाई ठगेको देखिन्छ । ब्युरोमा मात्रै उनीविरुद्ध ३० वटाभन्दा बढी उजुरी छन् भने अन्य पीडित सम्पर्कमा आइरहेका छन् । ब्युरोका एक अनुसन्धान अधिकारीका अनुसार पर्शुरामले ठगेको रकम २० करोडभन्दा माथि पुग्ने देखिन्छ ।

Published on: 3 May 2019 | Kantipur

Back to list

;