s

बैंककलाई ट्रान्जिट बनाएर कम्बोडिया र लाओस पुर्‍याउने को ?

जनकराज सापकोटा

काठमाडौँ — मानव तस्करीका घटनामा प्रहरीले गम्भीर अनुसन्धान नगर्दा वर्षौंदेखि संगठित मानव तस्करीका उस्तै प्रकृतिका घटना दोहोरिरहेका छन् । सामाजिक सञ्जालबाट जोडिने, आकर्षक जागिरको प्रलोभन देखाउने र थाइल्यान्ड, कम्बोडिया र लाओसजस्ता देशमा पुर्‍याएर लाखौं ठगेपछि अलपत्र पारिदिने घटना एकपछि अर्को दोहोरिरहेका छन् । अनौठो त के छ भने यस्ता घटनाको केन्द्रमा भने वर्षौंदेखि एउटै व्यक्तिको संदिग्ध भूमिका देखिइरहेको छ ।

पाँच वर्षअघि बागलुङका २२ वर्षीय प्रेम खत्रीले विदेश जाने सुर कस्न थालेका थिए । उनले कम्बोडिया बस्ने र आफ्नो नाम समीर थापा बताउने एक जनालाई साथी बनाए । तिनै समीरले एक दिन उनलाई सपना देखाए– ‘कम्बोडिया आउनुस्, मासिक ११ सय ७५ डलर तलब हुने होटलको काम मिलाइदिन्छु ।’ मनग्गे कमाउने सपना देखेर खत्री पर्यटक भिसामा थाइल्यान्डको बैंकक पुगे । त्यहाँबाट भने समीरले उनलाई कम्बोडिया पुर्‍याएर करिब १५ दिन राखे । काम मिलाइदिने आशामा उनलाई लाओस पुर्‍याएपछि समीर बेपत्ता भए । त्यतिबेलासम्म खत्रीको करिब ७ लाख फसिसकेको थियो ।

पैसा फसेपछि र जागिर दिलाइदिने भनेको एजेन्ट नै गायब बनेपछि खत्री अनेकन यत्न गरेर नेपाल फर्किए । उनले पाँच वर्षअघिको घटना सुनाउँदै भने, ‘उजुरी गर्न प्रहरी परिसर टेकु पनि पुगेको थिएँ । तर मेरो समस्यालाई प्रहरीले ठगी हो कि, मानव तस्करी हो कि के हो भनेर उति चासो दिएन । अनि म फर्कें ।’ प्रहरीको नोटिसमा पुगेको प्रेमको घटना ठगी त थियो नै मानव तस्करीको फरक अभ्यास पनि थियो । प्रेमले भने, ‘प्रहरीले केही गरिदिने सम्भावना नदेखेपछि केही दिन काठमाडौं बसेर म गाउँ फर्कें ।’ केही महिनापछि फेरि ऋणधन गरेर उनी माल्दिभ्स गए । दुई वर्ष बसे । गत वर्षको मंसिरमा फर्केर गाउँमै बसिरहेका छन् ।

खत्रीलाई जसले ठगेको थियो, त्यही व्यक्ति र समूहले असोजको अन्तिम साता सर्लाहीको वाग्मती नगरपालिकाका एक र भोजपुरको मानेभन्ज्याङ गाउँपालिकाका एक युवालाई पनि उस्तै शैलीमा सामाजिक सञ्जालबाट चिनाजानी गरेर कम्बोडिया पुर्‍याइदिने भन्दै ठग्यो । नक्कली श्रम स्वीकृतिको पत्र दिलाएर थाइल्यान्ड हुँदै कम्बोडिया पुर्‍याउने योजना बीचमै असफल भएपछि विदेश उड्ने भनेर काठमाडौंसम्म आएका दुई युवा अलपत्र परे । धन्न उनीहरू कम्बोडिया पुगेर थप पैसा डुबाएनन् । ठगिएको थाहा पाएका दुवै पीडितले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन खोजेका थिए । मानव तस्करीको बदलिँदो स्वरूपबारे नजरअन्दाज गर्दै ब्युरोले उक्त मुद्दा दर्ता गर्न अस्वीकार गरेपछि उनीहरूको मुद्दा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।

पाँच वर्षअघिका पीडित र अहिलका दुई पीडितको समस्याबाट के बुझिन्छ भने वर्षौंदेखि उही र उस्तै शैलीमा समीर थापाले ठगी र मानव तस्करीको धन्दा चलाइरहेका छन् । पीडितहरूका अनुसार सप्तरीका पाँचसहित अन्य दुई पीडितहरू पनि यसैगरी ठगिएका छन् ।

प्रेमलाई समीर थापा बताउनेले सर्लाही र भोजपुरका युवालाई आफ्नो नाम सुमन थापा बताएको देखिन्छ । कान्तिपुरको सम्पर्कमा आएका तीनसहितका अन्य पीडितलाई सुमनले फरक–फरक नाम बताएको देखिन्छ । विश्वास दिलाउनका निम्ति उनले आफ्नो पासपोर्टको फोटो पनि पठाउने गरेको देखिन्छ । कान्तिपुरलाई प्राप्त एउटै नागरिकता नम्बर भएको तर नामसहितको अन्य विवरण भने फरक–फरक दुई पासपोर्टमा एउटामा सुमन थापा नाम उल्लेख छ भने अर्कोमा उमेश राना नाम उल्लेख छ । स्रोतका अनुसार नागरिकता नम्बर एउटै तर नामसहितको विवरण फरक भएका यी दुवै पासपोर्ट नेपालको राहदानी विभागबाट जारी भएका होइनन् । विभागका स्रोतले दुवै राहदानीमा भएको नागरिकता नम्बर काठमाडौं छैमलेका रोजन आचार्यको नाममा जारी भएको देखिन्छ ।

यो तथ्यबाट मानव तस्करी र ठगीको सञ्जाल चलाइरहेका व्यक्तिले फर्जी राहदानीको प्रयोग वा फर्जी कागजातका आधारमा नक्कली परिचय खडा गरेर ठगी गरिरहेको देखिन्छ । पीडितहरूलाई बैंककमा राखिएको स्थान, उनीहरूलाई कम्बोडिया लैजानका निम्ति प्रयोग गरिएको गाडी नम्बरका आधारमा एउटै व्यक्तिले विभिन्न परिचय बदलेर ठगीसहित मानव तस्करी गरिरहेको देखिन्छ ।

मोरङको सुन्दर हरैंचाका ६ सहित २८ जना जनही ४ देखि ६ लाख रुपैयाँ बुझाएर थाइल्यान्डसम्म पर्यटक भिसामा पुगेका थिए । आकर्षक जागिरको प्रलोभनमा परेर एजेन्टका साथ लागेर कम्बोडिया पुगेका उनीहरू त्यहीं अलपत्र परेको खबर साउन पहिलो साता सार्वजनिक भएको थियो । गत वर्षको साउन पहिलो साता पनि तनहुँ ऋषिङका ५ सहित ६ जनालाई मानव तस्करको गिरोहले कम्बोडिया पुर्‍याएर अलपत्र पारेको खबर सार्वजनिक भएको थियो ।

यी सबैजसो घटनामा पीडितहरू फेसबुकमार्फत अपरिचित व्यक्तिको सम्पर्कमा पुगेको र विश्वासको पासोमा परेर ठगिएको देखिन्छ । बैंककलाई ट्रान्जिट बनाएर कम्बोडिया र लाओसमा रोजगारी दिलाइदिने आशामा गरिने ठगीबारे अनुसन्धान गरेका सीआईबीका एक पूर्वअनुसन्धान अधिकारीले केही व्यक्तिसहितको समूहले पछिल्ला पाँच वर्षभन्दा लामो समययता बर्सेनि दर्जनौंलाई एउटै शैलीमा ठग्ने र अलपत्र पार्ने काम गरिरहेको बताए ।

संगठित मानव तस्करीलाई ठगीका रूपमा बुझ्ने परम्परागत प्रहरीको अनुसन्धान प्रणाली र विभिन्न मितिका पीडितहरूबाट संकलन गरिएको सूचना एकमुष्ट रूपमा हेर्ने अभ्यासको अभावमा यो शैलीको ठगी र मानव तस्करी निरन्तर चलिरहेको उनको भनाइ छ । उनले भने, ‘मानव बेचबिखन अनुसन्धान ब्युरो बनेपछि एउटै शैलीमा हुने मानव तस्करीसहितको ठगीको घटनामा गम्भीर अनुसन्धान हुने आशा थियो तर त्यसो हुन सकेन । अनि बेरोजगारहरू नै फस्ने क्रम बर्सेनि दोहोरिरहेको छ ।’

Published on: 18 November 2020 | Kantipur

Link

Back to list

;