s

बैंककमा पक्राउ परेका ठगी आरोपी परशुरामलाई नेपाल ल्याइयो

जनकराज सापकोटा

क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पिआर) भएको बताउने तर भिसाबिना बैंककमा बस्दै नेपालीलाई ठग्ने परशुराम गुरुङलाई प्रहरीले नेपाल ल्याएको छ । २०७२ असार २९ गते प्रहरीको अन्तर्राष्ट्रिय संगठन (ईन्टरपोल )मार्फत परशुरामविरद्ध डिफ्युजन नोटिस जारी गरिएको थियो भने त्यसैका आधारमा उनी झण्डै दुई महिना पहिले बैंककमा पक्राउ परेका थिए ।

क्यानाडा, अमेरिका, अस्ट्रेलिया र मकाउ पठाइदिने र मासिक लाखौं तलब हुने जागिर मिलाइदिने भन्दै फेसबुकमा पासो थापेर बैंकक बोलाई परशुरामले झण्डै तीन सयभन्दा धेरैलाई ठगेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आँकलन छ । पछिल्ला आठ वर्षयता बैंकक बस्दै आएका परशुरामविरुद्ध ३४ जना पीडितले ब्युरोमा ५ करोड भन्दा धेरै ठगेको भन्दै उजुरी दर्ता गराइसकेका छन् । ब्युरो स्रोतका अनुसार परशुरामबाट ठगिने अन्य कैयन पीडितहरुको ब्युरोको सम्पर्कमा छन् ।
 
पारस, कमल, किम, मनोज, आकाश थापामगर, अनमोल लामाजस्ता दर्जनौं नाममा चिनाउने उनले दर्जनौं नाममै फेसबुक अकाउन्ट चलाएका छन् । फोटोसपमा पोख्त उनले क्यानडाको पिआर भएको नक्कली कार्ड बनाएका छन् । क्यानडाकै चर्चिच पाँचतारे होटलको मानव संशाधन विभागको प्रमुख भएको नक्कली परिचयपत्र पनि बनाएका छन् । परशुरामको ठगी धन्दाको सुरुआत सामाजिक सञ्जालबाट सुरु हुन्छ । उनी जागिरको खोजीमा रहेका वा विदेश जान रुची भएका मान्छेहरु पत्ता लगाउँछन् उनी उसैलाई फेसबुकबाट कर्मचारीको आवश्यकतासम्बन्धी नक्कली विज्ञापनको फोटो पठाउँछन् ।
 
कान्तिपुरसँग सम्पर्कमा आएका दर्जनभन्दा धेरै पीडितले आफूले फेसबुकबाटै परशुरामलाई चिनेको बताए । सम्पर्कमा आएका धेरैजसोलाई परशुरामले क्यानडा, कसैलाई अमेरिका त कसैलाई मकाउ पुर्‍याएर जागिर लगाइदिने र त्यसबापत १० देखि १५ लाख रुपैयाँ लाग्ने बताएको देखिन्छ । आश्वासन पत्याउने सबैलाई उनले खर्च बापतको रकम डलरमा सटही गरेर बैंकक बोलाउने गरेको देखिन्छ । परशुरामको ठगी धन्दामाथि अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार उनले मानव तस्करी, ठगी र अवैध विदेशी मुद्रा ओसारपसार तीनैवटा अपराध गरेको देखिन्छ ।
 
Published on: 24 May 2019 | Kantipur

Back to list

;