s

बंगलादेशमा छात्रवृत्तिमा नाम काटिएका विद्यार्थीले पढ्न पाउँछन् : मन्त्री श्रेष्ठ

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बंगलादेशमा छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययनको लागि सरकारले सिफारिस गरेका विद्यार्थीहरूले पढ्न पाउने अवस्था बनेको बताए ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षामन्त्री श्रेष्ठले एमबीबीएस र बीडीएस पढ्न बंगलादेशमा सिफारिस गरिएका विद्यार्थीहरूमध्ये केहीको नाम काटिएर आएको समस्याको समाधान भएको जानकारी दिएकी हुन् ।

बंगलादेशले दिने २२ जनाको कोटामा सरकारले सिफारिस गरेकोमध्ये १२ जनामात्रै विद्यार्थी छानिएको भनि बंगलादेश सरकारले नतिजा प्रकाशित गरेको थियो । त्यसमध्ये १० जनाको नाम नतिजामा नआएपछि सम्बन्धित विद्यार्थी, संसदीय समिति तथा सरकारको सरोकारवाला निकायले चासो देखाएका थिए । यस सम्बन्धमा जानकारी दिँदै मन्त्री श्रेष्ठले बाँकी रहेका १० जनामध्येका ८ जनाले पढ्न पाउने भएको जानकारी गराइन् । २ जनाले भने बंगलादेशमा आवेदन भरेको नदेखिएकाले पढ्न नपाउने उनको भनाइ थियो ।

‘२२ जनाको लागि 'जीटूजी'को कोटा थियो । बंगलादेशले दिने वेब लिंक उहाँहरूले पब्लिकली राख्नुभएको रहेछ । दुई जनाले त्यसबाट अप्लाइ गर्नुभएको रहेनछ । हामीले सेलेक्ट गरेर पठाएकाहरू २ जनाले एप्लाइ गर्नुभएको रहेनछ । पहिले १२ जना छानिनुभएको थियो । ८ जना अन्यले पनि पढ्न पाउने भएछन्,' शिक्षामन्त्री श्रेष्ठले भनिन्, 'बंगलादेशले हामीलाई नोट पठाएकोबाट स्पष्ट के छ, उहाँहरूले त्यो पत्रमै के लेख्नुभएको छ भने तपाईहरूले पठाएकोमा २२ जनामा १० जना योग्य भएन । हामीले हाम्रो लिंकबाट जसले आवेदन गर्‍यो त्यसमार्फत् लिएको हो भनेर बंगलादेशले स्पष्ट भनेको छ । जम्मा ३६ जनाले आवेदन गरेको रहेछ । २२ जनामध्ये २० जना हामीले छानेर पठाएका विद्यार्थी र अन्य १६ जना । १६ जनामध्ये बंगलादेशले हामीले यो तरिकाले छान्यौँ भनेर बंगलादेशले लेखेको छ ।’

मन्त्री श्रेष्ठले एमबीबीएस दोस्रो सेमेस्टरमा ब्यारियरमा परेका विद्यार्थीहरूको सम्बन्धमा आफूले उपकुलपतिसँग कुरा गर्ने र तत्पश्चात केही निर्णय गर्न सकिने बताइन् ।

Published on: 28 May 2024 | Kantipur

Link

Back to list

;