s

बैंककमा बस्दै नेपाली ठग्दै

पछिल्ला तीन वर्षमा मात्रै पर्शुरामले करिब तीस करोडको हाराहारीमा ठगी गरिसकेका छन् । 

करिब एक वर्षअघि राजधानीको एक नाम चलेको कलेजका अध्यापकलाई एक दिन मिल्ने साथीले सुनायो, ‘बैंककमा रहेको साथीले अमेरिका पठाइदिन्छु भनेको छ ।

डिपार्टमेन्ट स्टोरको काम पनि उसैले मिलाइदिन्छ रे, तलब डेढ लाखको हाराहारी हुन्छ । के छ विचार ?’ आर्थिक समस्याले गुज्रिरहेका बेला ती प्राध्यापकले दायाँबायाँ सोचेनन् । उनी साथीकै सल्लाहमा केही दिनमै थाइल्यान्डको राजधानी बैंकक पुगे । त्यहाँ पुगेर उनले भेटे, आफूलाई अमेरिका लगिदिन्छु भन्ने पर्शुराम गुरुङलाई ।
 
केही दिनको बसाइपछि उनलाई पर्शुरामले भिसा आउनै लागेको भन्दै पाँच लाख रुपैयाँ आफूले भनेको मान्छेको खातामा हाल्न भने । अध्यापकले भनेअनुसार गरे । तर खातामा पैसा जम्मा गरेको भोलिपल्टैदेखि पर्शुराम सम्पर्कविहीन भए । युरोप, अमेरिका र मकाउ पुगेर मनग्गे कमाउने आश्वासनको पासोमा बैंकक पुगेर ठगिनेमा ती अध्यापक एक्ला पात्र होइनन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकक बसेर ठगी धन्दा चलाइरहेका पर्शुरामबाट ठगिनेहरू तीन सयको हाराहारीमा रहेको अनुमान गरेको छ । ब्युरोमा उनीबाट ठगिनेहरूको दर्जनौं उजुरी छन् ।
 
भोजपुरको हेलौचा पुख्र्यौली घर भई बैंकक बस्ने पर्शुरामका कतिवटा नक्कली नाम छन् र उनी कति नाममा फेसबुक चलाउँछन् भन्नेबारे प्रहरीसँग कुनै निष्कर्ष छैन । तर उनले फेसबुकमार्फत मान्छेहरूसँग सम्बन्ध बढाउँछन्, आत्मीय भएको नाटक गर्छन् र कसैलाई आफू अमेरिकाको ग्रिनकार्ड होल्डर भएको त, कसैलाई क्यानडाको पीआर भएको झूटो विवरण दिएर आकर्षित गर्छन् । साथी बनेको केही समयमै उनले अमेरिका, क्यानडा र मकाउ पठाइदिन सक्ने कथा बुन्छन् । त्यही कथाको पासोमा परेकाहरू उनको कुराकै भर परेर बैंकक पुग्छन् ।
 
त्यहाँ पुगेलगत्तै पर्शुराम सपनाको कल्पनामा रमाएकाहरूलाई भेट्छन् र क्रमश: पैसा असुल्न थाल्छन् । ब्युरोका अनुसार धेरै जनाले प्रोसेसका नाममा सुरुमै डेढ लाख बुझाएका छन् । चलाख पर्शुरामले कतिपयलाई भने नेपालकै एजेन्टलाई रकम बुझाउन अह्राएका छन् भने कतिपयसँग बैंककमै रकम बुझेका छन् ।
 
एक पीडितका अनुसार पर्शुरामले औसतमा प्रतिव्यक्ति सातदेखि दस लाख ठगी गरेका छन् । ती पीडितको भनाइलाई आधार मान्ने हो भने पछिल्ला तीन वर्षमा मात्रै पर्शुरामले करिब तीस करोडको हाराहारीमा ठगी गरिसकेका छन् । काठमाडौंमा होटल चलाएर बसेका एक पीडितले आफूले क्यानडा जाने सपनाको पछि लागेर पर्शुरामलाई १५ लाख रुपैयाँ बुझाएको बताए । केही लाख हात परेपछि पर्शुराम सम्पर्क बाहिर बस्छन् र पीडितहरू अनेकन आफन्त र साथीभाइको हारगुहारपछि नेपाल फर्किन बाध्य हुन्छन् ।
 
स्रोतका अनुसार पर्शुरामको ठगीबारे तीन वर्षदेखि नै केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी पर्न थालेका थिए । त्यस्तो उजुरी पर्ने क्रम अहिलेसम्म रोकिएको छैन । नेपाली सेना र नेपाल प्रहरीकै अधिकारीसमेत पर्शुरामको ठगी धन्दाको पासोमा परेका छन् । विदेशी भूमिमा बसेर चलिरहेको पर्शुरामको ठगी धन्दा रोक्ने ब्युरोको अनेक प्रयास सफल भइसकेको छैन । प्रहरी स्रोतले पर्शुरामले थाई युवती बिहे गरेर उतैको नागरिकता लिएको पनि सुइँको पाएको छ । तर त्यसलाई प्रमाणित गर्ने आधार भने फेला परिसकेको छैन ।
 
केन्द्रीय अनुसन्धान ब्युरोको पहलमा नेपाल प्रहरीको इन्टरपोल शाखाको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले पनि पर्शुराममाथि २०७२ असार २९ मा डिफ्युजन नोटिस जारी गरिसकेको छ । इन्टरपोल शाखाकी एसपी किरण वज्राचार्यका अनुसार अदालतबाट पक्राउ पुर्जीको आदेश नभएको अवस्थामा डिफ्युजन नोटिस जारी गरिन्छ । उनले कान्तिपुरसँग कुरा गर्दै भनिन्, ‘यस्तो नोटिस जारी भएको व्यक्तिको गतिविधि निगरानीमा हुन्छ ।’ वज्राचार्यका अनुसार पर्शुराममाथि ठगी र मानव तस्करी दुवै अभियोग छ । उनले आफू ब्युरो छँदा पनि कैयन् पीडित हूल बाँधेर आउने गरेको अनुभव सुनाइन् ।
 
स्रोतका अनुसार केही साताअघि मात्रै पर्शुरामको ठगी धन्दाबारे केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआईजी पुष्कर कार्कीले काठमाडौंस्थित थाई दूतावासलाई पनि जानकारी गराएका थिए । कार्कीले शृंखलाबद्ध ठगीको घटनाबारे थाइल्यान्डस्थित नेपाली दूतावासमा पनि जानकारी गराइएको बताए । उनले भने, ‘कैयन् पीडित सार्वजनिक हुन चाहिरहेका छैनन् । तर ठगिनेको संख्या ठूलो छ ।’ ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार पर्शुरामविरुद्ध मानव बेचबिखन र ठगीका मुद्दा दर्ता भएका छन् ।’
 
Published on: 15 January 2018 | Kantipur

Back to list

;