s

बंगलादेशी नागरिकलाई बन्धक बनाएको आरोपमा ७ पक्राउ

काठमाडौँ — बंगलादेशी नागरिकलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा प्रहरीले ५ बंगलादेशी र २ नेपाली गरी ७ जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने भन्दै बंगलादेशी नागरिकलाई नेपालमा ल्याई बन्धक बनाइएको थियो ।

पक्राउ पर्नेहरूमा बंगलादेश गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बरिसालका ३७ वर्षीय एमडी मोसहुर रहमान, कुमिल्लाका ३८ वर्षीय सलिम मियाँ, २१ वर्षीय जहाँगिर आलम र ढाकाकी २१ वर्षीया तहमिना बेगम छन् ।

यस्तै, सिन्धुपाल्चोक बलेफीकी २७ वर्षीया तारा नेपाली र इलाम चुलाचुलीकी ३३ वर्षीया रोशनी राईलाई पनि पक्राउ गरिएको छ । उनीहरूले काठमाडौंका विभिन्न होटल तथा सेफ हाउसमा बंगलादेशीलाई बन्धक बनाई परिवारसँग १० लाख टाका (बंगलादेशी मुद्रा) फिरौती मागेको र नदिएमा ज्यानसमेत लिने धम्की दिएको प्रहरीले बताएको छ ।

उक्त रकम पठाएपछि पनि पुनः २० लाख टाका मागेपछि पीडितले गत बुधबारमा पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा निवेदन दिएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले शुक्रबार आरोपितहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौं–९ कालीमाटीस्थित मेमोरियल गेस्ट हाउसको कोठा नम्बर ३१० र ३११ मा अमिर हुसेनले ४ जना बंगलादेशीलाई बन्धक बनाइराखेका थिए । ती कोठाबाट हुसेनसहित बन्धकमा परेका बंगलादेशी नागरिक एमडी नाजमुल, एमडी इसान, इब्राहिम हुसेन र एमडी अल अमिनलाई प्रहरीले फेला पारेको थियो । यस्तै, ललितपुरको हरिसिद्धिमा घर भाडामा लिई बन्धकमा राखिएका बंगलादेशी नागरिक रनोज र फराद हुसेनको पनि प्रहरीले उद्धार गरेको छ ।

Published on: 14 August 2023 | Kantipur

Link

Back to list

;