s

बन्दको फेसन: ज्यालादारीको परिवार भोकै

Rudra Khadka

मंगलबार र बुधबार ठेला मजदुर नन्कौ गोडियाले एक रुपैयाँ पनि कमाउन सकेनन्। दुई दिन पूरै नेपालगन्ज चक्कर लगाउँदा पनि सामान ओसार्ने काम नपाएपछि लखतरान हुँदै घर फर्किए।

'मंगलबार त जेनतेन चलेको थियो,' ४७ वर्षीय गोडियाले भने, 'बुधबार चाहिँ साँझ केही खान पाइएला जस्तो छैन।'

चार सन्तानसहितको परिवारको हातमुख जोर्न दैनिक दुई सय रुपैयाँ चाहिन्छ। 'बन्द नभएको दिन सरदर ४ सय रुपैयाँ कमाउँछु,' उनले भने, 'दुई दिन ठन्डाराम भइयो।'

मंगलबार नेकपा माओवादी (मातृका समूह) र बुधबार शिव सेनाले आह्वान गरेको बन्दले गोडिया जस्ता ठेला मजदुरले कुनै काम पाउन सकेनन्। सिमेन्ट, छड र अन्य सामान ओसारेर दैनिक सरदर ४ सय ५० रुपैयाँ कमाउँदै आएका अर्का ठेला मजदुर नरेश पासीले पनि बन्दकर्तालाई धिक्कारे। गरिब र विपन्न वर्गको हक र अधिकारका लागि भन्दै पटक पटक बन्द गर्ने क्रम बढ्दै गएपछि सबैभन्दा बढी समस्या ज्यालादारी, मजदुरलाई नै परिरहेको छ।

'गरिबका पक्षमा बन्द गरिएको भनिन्छ,' पासीले भने, 'बन्दमा हामी जस्ता ठेला मजदुर भोकै बस्नुपर्ने हुन्छ। बन्दकर्ताले गरिबका समस्या कहिलै बुझेनन्।'

बन्दको बेला निर्माण सामग्री पाइने पसल लगायत कलकारखाना र बजार बन्द रहँदा दैनिक मजदुरी र ज्यालादारीमा काम गरेर गुजारा चलाउनेलाई मर्का पर्दै आएको छ।

दुईदिने बन्द सकिन नपाउँदै शिव सेनाले बिहीबार पनि बन्द आह्वान गरेपछि मजदुरहरू झनै चिन्तित छन्। 'एक दिन काम काम गरिएन भने दुई छाक भोकै बस्नुपर्ने अवस्था हुन्छ एकैचोटी लामो बन्द भइरहँदा कसरी थेग्ने ?' ठेला मजदुर रिजवान कुरेसीले भने, 'बन्द केका लागि गरिन्छ, थाहा छैन। तर बन्दकर्ताले सधै कमजोर व्यक्तिहरूलाई समस्यामा पारेका छन्।'

सम्पन्न परिवार र जागिरेका तुलनामा मजदुरी गर्नेहरूलाई बन्दको मार बढी पर्ने गरेको अर्का ठेला मजदुर जनम चौधरीले बताए।

ठेला मजदुरका अनुसार दैनिक गुजारा चलाउन दैनिक कम्तीमा दुई सय रुपैयाँ चाहिन्छ। बन्दको बेला काम नपाउँदा ऋण काढनु पर्छ, नभए भोकभोकै बस्नुपर्छ। सकेसम्म ठेलावालाहरूले समस्या पर्दा एक आपसमा सापटी चलाउँछन्। 'बन्दको बेला कसैले पनि कमाउन नसक्दा एकले अर्कोलाई सहयोग गर्ने सम्भावना रहँदैन,' ठेलावाला इन्सान इद्रिसीले भने, 'ठेलावालाको साथी ठेलावाला नै हो। अरुले विश्वासै गर्दैनन्।'

मजदुरका अनुसार नेपालगन्जमा दुई सय ठेलावाला र हजारभन्दा बढी रिक्सा चालक छन्। यस्तै सहरका विभिन्न स्थानमा दैनिक चार हजार मजदुरले ज्यालादारीमा काम गर्छन्। बन्दका बेला दैनिक मजदुरी गर्ने सबै कामविहीन हुन्छन्।

Published on: 26 May 2011 | Nagarik

Back to list

;