s

बन्दाबन्दीमा भारतमा अलपत्र २१ जना नेपाली महिलाको उद्धार

शिवा तामाङ

काठमाडौँ, साउन २ गते । माइती नेपालले बन्दाबन्दीको समयमा भारतमा अलपत्र २१ जना नेपाली महिलाको उद्धार गरेको छ ।भारतको मनिपुर हुँदै म्यानमार पु-याएर खाडी मुलुकमा घरेलु श्रमिकका रुपमा पठाउने तयारी चलिरहेको बेला उद्धार गरी महिलालाई गत मङ्गलबार नेपाल ल्याइएको माइती नेपालका अध्यक्ष विश्व खड्काले जानकारी दिनुभएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भारतस्थित नेपाली दुतावास, नेपाल प्रहरीको मानव बेचबिखनविरुद्धको ब्युरो र माइती नेपालको सहकार्यमा उद्धार गरिएकाे महिला तथा किशोरीलाई माइती नेपालको जिल्लास्थित सेल्टरमा राखेर पीसीआर परीक्षण गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

उहाँले पीसीआर परीक्षणपछि १३ जना राजधानी आउनुभएको र बाँकी आठ जना पूर्वतिर घर भएकोले घर जान सजिलो हुने कारणले जिल्लास्थित संस्थाकै क्वारेन्टाइनमा बसिरहनुभएको बताउनुभयो ।

सरकारले पीसीआर परीक्षणपछि होम क्वारेन्टाइनमा बस्न सकिने व्यवस्था गरेकोले बस चलेपछि सबैलाई घर जाने व्यवस्था गर्ने अध्यक्ष खड्काले भन्नुभयो ।

माइती नेपालले बन्दाबन्दीको समयमा समस्यामा परेका २४ जना महिला किशोरीको उद्धार गरी आश्रय दिएको छ ।

साथै बन्दाबन्दीको अवधिमा माइती नेपालले बलात्कार, मानव बेचबिखनबाट प्रभावित र लैङ्गिक हिंसामा परेका १२४ जना महिलालाई संस्थाले टेली कानुनी सेवा र मनोपरामर्श प्रदान गरेको उहाँले बताउनुभयो ।

Published on: 18 July 2020 | Gorkhapatra

Link

Back to list

;