s

'वनबाटै रोजगारी र समृद्धि सम्भव'

प्राकृतिक स्रोतसाधन तथा वनको उपयोगबाटै सरकारले अघि सारेको समृद्ध मुलुकको अभियान सम्भव हुने वन अधिकारकर्मीहरुले बताएका छन् । वनको दिगो उपयोगबाटै हरेक वर्ष अर्बौँ रकम बराबरको रोजगारी सृजना हुने पनि उनीहरुको भनाइ थियो । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)को २४औं स्थापना दिवसको अवसरमा सरोकारवालाहरुले वन तथा प्राकृतिक स्रोतको उपभोगबाटै समृद्धि सम्भव भएको तथ्यांक पेश गरेका थिए ।

सामुदायिक वन उपभोक्ता महासंघ अध्यक्ष भारती पाठकले सरकारसँग हातेमालो गर्दै वनबाट रोजगारी सृजना गर्ने अभियानमा लाग्न आफूहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरेकी थिइन् । पैसा र अनुदान वितरण गरेर मात्र रोजगारी सिर्जना हुन नसक्ने भन्दै वनबाटै युवाहरुलाई हरेक वर्ष रोजगारी सृजना गर्न सकिने सुझाव सरकारलाई दिएकी थिइन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका पूर्व अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले हरेक वर्ष हुनसक्ने रोजगारीको सम्भावनातर्फ सरकारको ध्यान जान नसकेको बताएका थिए ।

राज्यको नीति पनि रोजगारमैत्री नबनेको उनको गुनासो छ । साथै प्रशासन संयन्त्र पुरानै ढर्राबाट चलेको उनको टिप्पणी थियो । यस्तै विज्ञ डा. भरत पोखरेलले दिगो वन व्यवस्थापन मार्फत वार्षिक १५ करोड क्युफिट काठ निर्यात गर्न सकिने सम्भावना रहेको तथ्य पेश गरेका थिए । तर, सरकारले ध्यान दिन नसकेको उनको गुनासो छ । वन क्षेत्रको उपयोग नगर्दा दैनिक १३ करोड रकम खेर गइरहेको तथ्यांक समेत उनले सार्वजनिक गरेका थिए ।

Published on: 1 June 2019 | Annapurna Post

Back to list

;