s

बाल्यकालमै आत्महत्या : आत्महत्या गर्नेमा कृषक धेरै, त्यसपछि श्रमिक र विद्यार्थी

दैनिक तीन बालबालिकाले आत्महत्या गर्ने गरेको तथ्यांक मनोचिकित्सक भन्छन्– विद्यालय तहमै तनाव व्यवस्थापनबारे पढाउनुपर्छ

सामान्य तनाव व्यवस्थापन गर्न नसकेकै कारण कलिलै उमेरमा आत्महत्याजस्तो अप्रिय कदम चाल्ने बालबालिकाको संख्या बढ्न थालेको छ । नेपालमा दैनिक तीन बालबालिकाले आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ । जुन कुल आत्महत्या गर्ने संख्याको १५ प्रतिशत हो । तथ्यांकअनुसार दैनिक कुल २० जनाले आत्महत्या गर्छन् ।

०८०/८१ मा सात हजार १९४ ले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । कुल आत्महत्या गर्नेमध्ये १४.९ प्रतिशत १० देखि १८ वर्ष उमेरका र ०.८ प्रतिशत १० वर्षभन्दा कम उमेरका रहेको प्रहरीको ‘आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अध्ययन २०८१’ मा उल्लेख छ । गत असारमा सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ, ‘बालबालिकामा १५.७ प्रतिशत आत्महत्याको संख्या देखिनु अत्यन्त निराशाजनक रहेकोसमेत अध्ययनबाट देखियो ।’

नेपालमा आत्महत्याको घटना पछिल्लो वर्ष ३.१५ प्रतिशतले बढेको र त्यसमा बालबालिकाको संख्या ठूलो रहेको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले बताए । ‘आत्महत्याको कारण पत्ता लगाउन प्रहरीले हालै एक अध्ययन गरेको छ,’ उनले भने, ‘त्यही आधारमा न्यूनीकरणका लागि व्यापक र एकीकृत योजना अघि बढाउन प्रहरीले पहल थालेको छ ।’

मानसिक रोगीहरूको मात्र उपचार हुने पाटनस्थित मानसिक अस्पतालमा समस्या लिएर पुग्ने बालबालिकाको संख्या पनि बढ्दो छ । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. वासुदेव कार्की दैनिक दुई–तीन बालबालिका मानसिक समस्या लिएर आउने गरेको बताउँछन् । ‘बालबालिकामा मानसिक समस्या चिन्ताजनक रूपमा बढेको छ,’ उनले भने, ‘दैनिक तीन बालबालिकाले आत्महत्या गर्नु भनेको भयावह अवस्था हो, यसमा अभिभावकदेखि विद्यालयहरू तत्काल सजग हुनुपर्छ ।’

बालबालिका हुर्काउने हाम्रो शैली र शिक्षा प्रणाली आत्महत्याको प्रमुख कारण भएको उनको विश्लेषण छ । जीवनमा आउने समस्याहरू सामान्य विषय हुन् भनेर विद्यालयमा बालबालिकालाई सिकाउनु र बुझाउनु जरुरी रहेको उनको सुझाव छ ।

‘मार्कसिटको अंकलाई महत्व दिएर हामीले बालबालिकालाई हुर्काइरहेका छौँ, जुन गलत हो । विद्यालयमा पनि भावनात्मक कुराभन्दा अंकलाई नै जोड दिइरहेका छन्, जसकारण कलिलो उमेरमै बालबालिका तनावमा पर्ने गर्छन्,’ उनले भने, ‘जीवनमा आइपर्ने समस्या सामान्य कुरा हुन् भनेर बुझाउन नसक्दा तनावमा परेर बालबालिकाले आत्महत्या गर्छन् । समस्या पर्दा नजिकका व्यक्तिहरूसँग सल्लाह गर्न सिकाउनुपर्छ, घरदेखि विद्यालयसम्म स्वस्थपूर्ण हुर्काइमा जोड दिनुपर्छ ।’

कसैले गाली गर्दा, सामान्य विवाद हुँदा, परीक्षामा फेल हुँदा तथा प्रेम सम्बन्धका विषयलाई लिएर बालबालिकाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांक छ । खासगरी विद्यालय तहमा तनाव व्यवस्थापनबारे पढाइ हुन सकेमा बालबालिकालाई आत्महत्याबाट रोक्न सकिने मनोचिकित्सकहरू बताउँछन् ।

प्रहरी अध्ययनले आत्महत्या न्यूनीकरणका लागि १९ सुझाव दिएको छ । जसमा नेपाल प्रहरी अपराध कार्ययोजनाको वार्षिक बजेटमै यो विषयलाई समेटी कार्यान्वयन गर्नुपर्ने, प्रभावकारी रूपमा सचेतना कार्यक्रमहरू गर्नुपर्ने, आत्महत्याको जोखिममा रहेका व्यक्तिको तथ्यांक राखेर परामर्श र उपचारको प्रबन्ध मिलाउनुपर्नेलगायत छन् ।

मंगलबार विश्वभरि ‘संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष करिब सात लाख व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । मृत्यु हुने कारणमध्ये आत्महत्या १५औँ स्थानमा पर्छ । विश्वमा आत्महत्याका ७७ प्रतिशत घटना नेपालजस्तो न्यून तथा मध्यम आय भएका मुलुकमा हुने गरेको विश्व स्वास्थ्य संगठनको विवरण छ ।

आत्महत्या गर्ने १८ देखि २५ वर्षका धेरै

आत्महत्या गर्नेमध्ये सबैभन्दा धेरै १८ देखि २५ वर्ष उमेरका रहेको अध्ययनले देखाएको छ । कुल आत्महत्याको २१ प्रतिशत यो उमेर समूहका छन् । स्कुल तहमै तनाव व्यवस्थापनबारे शिक्षा दिन सके यो उमेर समूहका धेरैलाई आत्महत्याबाट जोगाउन सकिने प्रहरी अधिकारी बताउँछन् । त्यस्तै, २५ देखि ३५ वर्ष उमेर समूहका १८.१, ३५ देखि ४५ वर्षका १६.२, ४५ देखि ५५ वर्षका १३.१, ५५ देखि ६५ वर्षका ९.४ र ६५ वर्षमाथिका ६.६ प्रतिशत छन् ।

आत्महत्या गर्नेमा कृषक धेरै, त्यसपछि श्रमिक र विद्यार्थी : मृतकमध्ये ६३ प्रतिशत साधारण लेखपढ मात्रै जानेका

आत्महत्या गर्नेमध्ये सबैभन्दा धेरै कृषक छन् । आत्महत्या गर्नेमध्ये ४६.२ प्रतिशत कृषक छन् । दोस्रो नम्बरमा श्रमिक १७.९ र तेस्रो नम्बरमा विद्यार्थी १५.४ प्रतिशत छन् । त्यस्तै, ११.६ प्रतिशत गृहिणी, १.९ प्रतिशत व्यवसायी र १.९ प्रतिशत बेरोजगार छन् । आत्महत्या गर्नेमध्ये ०.५ प्रतिशत सरकारी जागिरे र ४.६ अन्य छन् ।

आत्महत्या गरेका ६३ प्रतिशत साधारण लेखपढ मात्रै गर्न जानेका रहेको पनि अध्ययनले देखाएको छ । त्यस्तै, आत्महत्या गर्नेमध्ये आधारभूत तहको शिक्षा आर्जन गरेका २.८, निम्नमाध्यमिक तह पढेका ६.७, माध्यमिक तहसम्म अध्ययन गरेका १३, उच्च माध्यमिक तहका ५.१, स्नातक तहका ९ र स्नातकोत्तर तह अध्ययन गरेका ०.४ प्रतिशत छन् । यसले अशिक्षा पनि आत्महत्याको प्रमुख कारण रहेको प्रहरी अधिकारीहरूको निष्कर्ष छ ।

प्रहरीले जातीयताको आधारमा समेत आत्महत्याको अध्ययनको गरेको थियो । जसमा आदिवासी जनजाति समुदायमा आत्महत्याका घटना धेरै छन् । कुल घटनामध्ये ३९ प्रतिशत आदिवासी समुदायका व्यक्ति छन् । त्यस्तै, ब्राह्मण–क्षेत्री समुदायमा ३१.२, दलितमा २०.५ र मधेशी समुदायमा ९.३ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

आत्महत्याको ६६ प्रतिशत कारण मानसिक रोग र तनाव

नेपालमा आत्महत्याको प्रमुख कारण मानसिक रोग र तनाव रहेको प्रहरी अध्ययनको निष्कर्ष छ । आत्महत्या गर्नेमध्ये ३८.८० प्रतिशत मानसिक रोग र २७.८० प्रतिशत तनावबाट ग्रस्त थिए । जसकारण आत्महत्या न्यूनीकरणका लागि मानसिक स्वास्थ्यमा जोड दिन प्रहरीले सुझाव दिएको छ ।

प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण, योजना तथा विकास निर्देशनालयले गरेको ‘आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अध्ययन २०८१’ले नेपालमा अत्यधिक आत्महत्या बढ्नुमा मानसिक समस्यालाई नै प्रमुख कारण औँल्याउँदै सचेतना, मानसिक उपचार तथा मनोपरामर्शमा राज्यले ध्यान दिनुपर्ने सुझाएको छ । अध्ययनले आत्महत्या न्यूनीकरणका लागि एक व्यापक र एकीकृत अवधारणाको आवश्यकता औँल्याएको छ ।

त्यसबाहेक ८.२० प्रतिशतले प्रेममा असफलता, आठ प्रतिशतले आर्थिक असफलता, ७.५० प्रतिशतले दीर्घरोग, ४.७० ले लागुऔषध सेवनको प्रभाव तथा २.८० प्रतिशतले मदिराको नसामा आत्महत्या गरेका छन् । अनैतिक सम्बन्धले निम्त्याउने तनावका कारण ०.६०, बेरोजगारी समस्या ०.२० र शारीरिक अपांगताका कारण आत्महत्या गर्ने ०.०४ प्रतिशत छन् ।

नेपालमा धेरैले झुन्डिएर आत्महत्या गर्छन् । ८३.५ प्रतिशतले झुन्डिएर तथा १५ प्रतिशतले विष सेवन गरेर आत्महत्या गरेका छन् । १.१ प्रतिशतले हामफालेर, ०.१ प्रतिशतले आगो लगाएर, ०.१ प्रतिशतले डुबेर तथा ०.१ प्रतिशतले हातहतियार प्रयोग गरेर आत्महत्या गरेको प्रहरी रिपोर्ट छ ।

पाँच वर्षमा ३४ हजार ३१८ ले गरे आत्महत्या : ०८०/८१ मा मात्रै सात हजार १९४ ले गरे आत्महत्या

पछिल्ला पाँच वर्षमा ३४ हजार ३१८ जनाले आत्महत्या गरेका छन् । प्रहरी तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ मा ६ हजार २४१, ०७७/७८ मा सात हजार ११७ र ०७८/७९ मा ६ हजार ७९२ ले आत्महत्या गरेका छन् । त्यस्तै, आर्थिक वर्ष ०७९/८० मा ६ हजार ९७४ र ०८०/८१ मा सात हजार १९४ ले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।

Published on: 10 September 2024 | Naya Patrika

Link

Back to list

;