s

बालुवामा उम्रेको साहित्य

देवेन्द्र भट्टराई

खाडीको कुवेतमा नेपाली भाषा-साहित्यका प्रेमी भएर चिनिएका छन्- होमबहादुर क्षत्री । भारत आसामको दुलियाजन घर भएका होमबहादुर कुवेत आयलका वरिष्ठ प्राविधिक इन्जिनियर हुन् । तर इन्जिनियरिङभन्दा बढी भाषा-साहित्यको चिनारी उनीसँग गाँसिएको छ । 'सन् १९९३ मा म कुवेत आएपछि यहाँ नेपाली भाषा-साहित्यका लागि गर्न सकिने सिर्जनशील काममा आफूलाई लगाइरहेको छु,' कुवेतस्थित राजदूत मधुवन पौडेलको पछिल्लो कथासंग्रह 'अन्त्यहीन परिवेश'को विमोचन समारोहमा भेटिएका होमबहादुरले सुनाए ।

भाषा-साहित्यमा उचो नाम बनाएका आसामस्थित हरिभक्त कटुवाल, भविलाल लामिछानेकै प्रत्यक्ष/परोक्ष प्रभावमा हुर्के-बढेका होमबहादुरले एक दर्जनजति कविता, कथा र अनुवाद संग्रह निकालेका छन् । 'आफ्नो समाज र साहित्यका लागि केही गर्ने हो, सम्पत्ति र मन दुबै चाहिन्छ भन्ने थियो,' होमले भने- 'यता आएर यहाँको माहोलमा भाषा-साहित्यका लागि तन्मयतापूर्वक लाग्ने निधो गरेको हुँ ।' भारत आसामको दुलियाजन घर भए पनि भारतीय वा नेपालीको 'विभेद' नराखी होमबहादुरले विशेषांक पत्रिका प्रकाशन गर्दै आएका छन् । चार वर्षदेखि लगातार निस्किएको 'स्पन्दन' साहित्यिक पत्रिकामा उनले कविवर माधवप्रसाद घिमिरेदेखि उपन्यासकार लीलबहादुर क्षत्रीसम्मलाई एकैसाथ स्थान दिएका छन् । उनले निकालेको 'फर्कौं हामी' भन्ने कविता संग्रहमा कविवर घिमिरेले 'बालुवा पेलेर अमृत निकाल्ने कवि' भनेर टिप्पणी गरेका छन् ।

होमबहादुरले आफ्ना पितामाताका नाममा सन् २००२ मा स्थापना गरेको अभिजमान स्मृति ट्रष्टले नेपाली छात्रछात्रालाई विद्यालय छात्रवृत्ति दिने साथै बिभिन्न स्रष्टाका साहित्यिक कृति प्रकाशनलाई बल पुर्‍याउँदै आएको छ । प्रवासमा बसेर नेपाली भाषा-साहित्यको साइनोमा गाँसिन उनले साहित्यिक वेवपेज पनि सञ्चाललनमा ल्याउँदैछन् । मरुभूमिको कतारमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नवोदित साहित्यिक वाचनालयजस्ता संस्थाहरूले सिर्जन सक्रियता देखाएझैं कुवेतमा पनि नेपाली भाषा-साहित्यको प्रबर्द्धनमा सुरुआती पहल हुनथालेको देखिन्छ । कतार घुमेर नेपाल फिरेका खगेन्द्र संग्रौला, अभि सुवेदी, श्रवण मुकारुङहरूले मरुभूमि देश-दुनियाँका बारेमा बाँड्नसकेको चेतना देखेर कुवेतमा होमबहादुर पनि प्रभावित बनेका रहेछन् । उनी पनि अब भारत र नेपालका केही अब्बल लेखकहरूलाई कुवेत भ्रमणमा लगेर नेपाली श्रम-पसिनाको कथानक बाहिर ल्याउनमा योजना बनाइरहेका छन् ।  

'मेरालागि भाषा-साहित्य भनेको नाम कमाउनका लागि होइन । यो भित्री तृष्णा हो, एक प्रकारको तिर्खा हो,' उनी भन्छन् । साहित्य समाजको दर्पण हो भनेरै आफू यो क्षेत्रमा लागिपरेको बताउने उनी 'आधा घन्टा भए पनि साहित्यलाई' भन्ने मौलिक आन्दोलन पनि अघि बढाइरहेका छन् । 'आजका मान्छे क्रमशः भित्री कोठा र टिभी रुममा सीमित भएका छन् । समाज र साहित्य अलिक पर्तिरको कुराझैं बनेको छ । टिभीसँग आँखा जोडेर मात्रै भएन, मन जोड्ने कुरा पनि गर्नुपर्छ,' होम भन्छन्, 'भाषा संस्कृति एउटा सिमेन्टझैं हो, समाजका लागि । म यही समाजसँग जोडिने वस्तुका पछि लागेको छु ।'

होमबहादुरका बुझाइमा सूचना-प्रविधिको आजको युगमा इन्टरनेटले सिंगो संसारलाई जोडेको छ । 'काठमाडौंका कमल दीक्षित अथवा बनारसका दुर्गाप्रसाद श्रेष्ठसँग पनि एकैसाथ इमेल-वार्ता भैरहन्छ,' उनले भने- 'यसकारण संगत र सहकार्यका लागि सशरीर उपस्थिति पनि अब पुरानो युगको कुराझैं भैसक्यो ।'

पेसाले प्राविधिक होमबहादुरका व्यवहार र दैनिकीमा दुइटा ढोका रहेछन् । 'बाहिर एउटा अफिसियल ढोका र घरमा अर्कै साहित्यको ढोका,' उनले भने । अर्कातिर साहित्य सिर्जनामा नेपाली जातिलाई सधैं 'लखेटिएको र बाहिरिया' भनेर चिन्ने-चिनाउने गरिएकोमा होमबहादुर खुसी छैनन् । यो संघर्षको कथा सबै जातजातिसँग उस्तै हुन्छ भन्छन् उनी । 'तर हामीले अरुको कुरा थाहा नपाएको मात्रै हो । खालि बर्मा, भुटान वा आसाम-मेघालयको नेपालीभाषी कथानक खोजेर मात्रै हँुदैन । बाहिरी विश्वमा पनि जातीय अस्तित्व, संघर्ष र लेखान्तको कथा उस्तै छ, नखोजिएको मात्रै हो । अथवा बाहिर नआएको मात्रै हो ।'

सिर्जनशील बन्ने ध्याउन्नमा त्यसै कुदिरहने र हडबड गरिरहने मनस्थितिले कहीं पुग्न नसकिने होमबहादुरको बुझाइ छ । 'कहाँ पुग्ने हो भन्ने गन्तव्य थाहा पाएर मात्रै यात्रामा निस्कनु उपयुक्त हुन्छ, धेरै कुदेर जुत्ता फटाउँदैमा कुदाइको अर्थ रहन्न,' साहित्यका नाममा भैरहने अनेक प्रयोग र कनेर लेख्ने गरिएको गन्थने साहित्यको प्रतिरोध संकेतमा होमले भने । अबका दिनमा खाडी मुलुकहरूमा रहेको नेपाली भाषा-साहित्यको एकमुष्ट प्रबर्द्धन र संयोजनका लागि खाडी-संयन्त्र स्थापना गर्नमा पनि आफू लागिपर्ने उनले बताए । 'भाषा-साहित्यमा सीमारेखा, देश अथवा कुनै घेराको अर्थ रहन्छ जस्तो लाग्दैन,' उनले भने- 'म भारतीय हो कि नेपाली, यो महत्त्वपूर्ण कुरा होइन । तर मैले बोल्ने, पढ्ने र लेख्ने माध्यम के हो भन्ने आधार महत्त्वपूर्ण हुनसक्छ । र त्यो एउटै आधार भनेको नेपाली भाषा नै हो ।'

Published on: 4 March 2013 | Kantipur

Back to list

;