s

बालश्रमिकको उद्धार

गोपाल शर्मा 

दाङ : तुलसीपुर उपमहानगरपालिकाले श्रममा लागेका बालबालिकाको खोजी र उद्धार सुरु गरेको छ।  बालमैत्री नगर तथा समृद्ध समाज निर्माणका लागि उपमहानगरपालिकाले श्रमिक बालबालिकाको खोजी गर्न सुरु गरेको हो।

२०८५ सम्म नेपाललाई बालश्रम मुक्त घोषणा गर्ने राष्ट्रिय कार्ययोजनाअनुसार तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो समय बालश्रमविरुद्ध विभिन्न कार्यक्रमलाई तीव्रता दिन थालेको हो।  पछिल्लो समय बालबालिकालाई श्रममा लगाइएको जनगुनासो बढ्न थालेपछि केही दिनयता उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास महाशाखाले श्रमिक बालबालिकाको खोजीकार्य  तथा अनुगमनलाई नियमित बनाउँदै आएको छ।अनुगमनका क्रममा भेटिएका बालबालिकालाई श्रमबाट उद्धार गर्ने, अभिभावकको जिम्मा लगाउने काम गर्दै आएको छ। यस्तै आर्थिक अवस्था कमजोर भएकाको हकमा उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षालगायत आधारभूत आवश्यकताको परिपूर्तिका लागि सम्बन्धित वडामा पहल गर्नेलगायत काम गर्दै आएको तुलसीपुर उपमहानगरपालिका महिला  बालबालिका तथा सामाजिक विकास महाशाखा प्रमुख माया श्रेष्ठले बताइन्।

मंगलबार मात्रै उपमहानगरले सनरुम रेस्टुरेन्टमा काम  गर्दै आएका तुलसीपुर उपमहानगरपालिका— ८ अश्वाराका १५ वर्षीय सन्दीप चौधरी र अंकित  एन्ड अनुरोध ग्यारेजमा काम गर्दै आएका  १५ वर्षीय होमबहादुर चन्दलाई उद्धार गरेको छ। श्रममा लगाइएका बालबालिकाको खोजी गर्नुका साथै उनीहरूको समस्या पहिचान गरी  परिवारमा पुनर्मिलन गर्नेलगायत काम गर्दै आएको महाशाखा अधिकृत श्रेष्ठले बताइन्।

लामो समयसम्मको लकडाउनका कारण  परिवारमा  उत्पन्न हुने आर्थिक समस्याका कारणले पनि अधिकांश क्षेत्रमा बालबालिकालाई श्रममा लगाइएको उनले बताइन्। तीन दिनको अवधिमा पाँच जना बालबालिकालाई श्रमबाट मुक्त गराइएको उनले जानकारी दिइन्। बालश्रम ऐन २०५६ले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नपाइने, १४ वर्ष मुनिकालाई कुनै पनि श्रममा लगाउन नपाइने यदि श्रममा लगाइएको पाएमा सोहीअनुसारको कानुनी कारबाही गरिने व्यवस्था गरेको छ।

Published on: 13 January 2021 | Annapurna Post

Link

Back to list

;