s

बालिका बेचबिखन आरोपमा बाल मन्दिरका निर्देशक पक्राउ

शम्भु कट्टेल

बालबालिका बेचबिखनको आरोपमा प्रहरीले बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोललाई पक्राउ गरेको छ। डिना स्मिथ नाम गरेकी बेलायती नागरिकलाई बालिका किनेर बेलायत लान सहयोग गरेको आरोपमा प्रहरीले डंगोललाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार स्मिथकै बयानका आधारमा डंगोल पक्राउ परेका हुन्। स्मिथ पक्राउ परे लगत्तै आफू फस्ने डरले डंगोल केही दिन भारत गएका थिए। भारतबाट फर्किए लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार भारतबाट फर्किएर बुधबार कार्यालय नक्साल पुगेका डंगोललाई प्रहरीले त्यहीबाट पक्राउ गरेको हो।

स्मिथले अर्काको सन्तानलाई आफूले जन्माएको कागजपत्र बनाएर बेलायत लैजाने प्रयास गरेकी थिइन्। पर्यटक प्रवेशाज्ञा (भिसा) मा साउन ११ गते नेपाल आएकी स्मिथ (राहदानी नं ५६०७९३४०२) ले अर्काकी छोरीलाई आफूले जन्माएको जिकिर गर्दै बेलायत लैजान लागेकी थिइन्।

ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि ती शिशु स्मिथले नै जन्माएको जन्मदर्ता गरिदिएको थियो। प्रमाणपत्रमा शिशुको जन्म साउन १२ गते भएको लेखिएको छ। जन्मदर्ता प्रमाणपत्रमा ती शिशुको नाम ‘आन्ना बेला लक्ष्मी श्रेष्ठ स्मिथ’ छ। अध्यागमन विभागको अनुसन्धानपछि गैरकानुनी ढंगले शिशुलाई बेलायत लैजाने स्मिथले गरेको प्रयास विफल भएको हो। नेपालस्थित बेलायती दूतावासले स्मिथकै छोरी भन्दै ती शिशुको राहदानी (नम्बर ७९२१५९३१४) बनाइदिएको थियो।

दूतावासले साउन २७ गतेसम्म ती शिशुलाई बेलायत भित्र्याइसक्नुपर्ने ‘इमरजेन्सी’ राहदानी बनाइदिएको थियो। अनुसन्धान सुरु भइसकेकाले स्मिथले उनलाई तोकिएको मितिमा बेलायत लैजान सकिनन्। त्यसपछि पुनः बेलायती दूतावासले ती शिशुको अर्को राहदानी बनाइदियो।

विभागले उनलाई परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा स्वास्थ्य उपचारका लागि पठाएको थियो। सुरुमा आफ्नो स्वास्थ्य परीक्षण गर्न उनले इन्कार गर्दै आएकी थिइन्। अनुसन्धानका क्रममा सहयोग नगरे अप्ठ्यारो पर्न सक्ने विभागको चेतावनीपछि स्मिथ स्वास्थ्य परीक्षण गर्न राजी भएकी थिइन्।

स्वास्थ्य परीक्षणका क्रममा स्मिथ ती शिशुको आमा नभएको पुष्टि भएको थियो। त्यसपछि गैरकानुनी ढंगले ती शिशुलाई बेलायत लैजान खाजेको भन्दै अध्यागमन विभागले स्मिथलाई पक्राउ गरेको थियो।

बेलायती दूतावासले स्मिथमाथि अनुसन्धान गरेको थाहा पाएपछि उनलाई सहयोग गरिदिन भन्दै विभागमा पत्र पठाएको थियो। अनुसन्धानका क्रममा स्मिथको गम्भीर त्रुटि भेटेपछि उनलाई पक्राउ गरी विभागले थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको थियो। प्रहरीले स्मिथविरुद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दर्ता गरेको छ।

उनैसँगको बयानका आधारमा बुधबार प्रहरीले डंगोललाई पक्राउ गरेको हो। प्रहरीका अनुसार यस विषयमा थप व्यक्ति संलग्न भएको देखिएकाले अनुसन्धान अगाडि बढिरहेको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने अनुसन्धान प्रक्रिया भर्खरै सुरु भएकाले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताए।

स्मिथले महालक्ष्मी नगरपालिकाका रामप्रसाद श्रेष्ठको घरमा ती शिशु जन्माएको भनेकी छिन्। स्मिथले सोही दिन ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा गएर शिशुसहितको स्वास्थ्य परीक्षण गराएकी थिइन्। नगरपालिकाले दिएको जन्म दर्तामा उनै रामप्रसाद श्रेष्ठ ती शिशुको बाबु भएको उल्लेख छ। तर स्मिथ र श्रेष्ठ साँच्चिकै पतिपत्नी हुन् भन्नेमा शंका छ। स्मिथ असार १६ गते पहिलोपटक नेपाल आएकी थिइन्। एक साता नेपाल बसेर फर्किएकी उनी पुनः साउन ११ गते आएकी थिइन्।

ललितपुरको महालक्ष्मी नगरपालिका-६ ले ती शिशुको जन्मदर्ता गरिदिएको छ। जन्मदर्ता प्रमाणपत्रमा आमाको नाम स्मिथ छ। वडाध्यक्ष वासुदेव महर्जनले आफूले नदिने भन्दाभन्दै आफू नभएका बेला सचिवले जन्मदर्ता प्रमाणपत्र दिएको बताएका छन्।

वडा सचिव हितलाल श्रेष्ठले आफूले जन्मदर्ताको प्रमाणपत्र दिनुअघि नै स्मिथले शिशुको राहदानी देखाएपछि सोही आधारमा जन्मदर्ता गरिदिएको बताए। तर स्मिथ र रामप्रसाद श्रेष्ठको विवाह दर्ता छैन। राहदानी बनाउन जन्मदर्तालगायतका आवश्यक कागजपत्र अनिवार्य हुन्छ।

स्रोतका अनुसार महालक्ष्मी नगरपालिका-६ का वडाध्यक्ष र बेलायती महिला स्मिथका नेपाली सहयोगीको संलग्नतामा गैरकानुनी ढंगबाट ती शिशुको जन्म दर्ता भएको हो। प्रहरीले यो सबै प्रक्रियाको अनुसन्धान भइरहेका बताएको छ।

Published on: 15 August 2019 | Annapurna Post

Back to list

;