s

बालबालिकालाई भारत लैजानेविरुद्ध मानव बेचबिखन मुद्दा

 
लामा भाषा पढाउने भन्दै २० बालबालिकालाई भारतको हिमाञ्चल प्रदेश लैजान खोज्ने दुईविरुद्ध प्रहरीले मानव बेचबिखनको मुद्दा चलाउने भएको छ । पातारासी गाउँपालिकाका २० बालकलाई भारत लैजाँदै गरेको अवस्थामा बुधबार प्रहरीले तिला गाउँपालिकाको कुडारी बजारबाट उद्धार गरेको थियो ।
 
गैरकानुनी रूपमा जिल्लाबाहिर लैजाँदै गरेको आरोपमा पक्राउ परेका पातारासी गाउँपालिका–३ का २९ वर्षीय छिरिङ तुन्डुक तामाङ र सोही वडाका ३२ वर्षीय कर्मा तामाङलाई मानव बेचबिखनको मुद्दा चलाएको प्रहरी निरीक्षक चूडामणि पुनले बताए ।
 
उद्धार गरिएका बालक पातारासी गाउँपालिका–२ का रामचन्द्र कामीका बुबा सिंह कामीले छोरालाई राम्रो होला भनी घरमा सल्लाह गरेरै पठाएको बताए । उनले भने, ‘गरिबीका कारण पढाउन नसकेर बाहिर पठाएका हौँ ।’ यसैगरी ११ वर्षीय हरिराम विकका बुबा भीमबहादुर विकले यसअघि पनि अध्ययनका लागि बालकहरू भारत गइरहेको बताए ।
 
बालबालिका बाहिर जान लागेकोबारे गाउँपालिकामा कुनै पनि जानकारी नभएको उपप्रमुख पन्नकली महताराले बताइन् । घटनाका विषयमा राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाले अनुगमन गरेको छ । बालबालिका गैरकानुनी रूपमा बाहिरी देश लैजान खोज्ने नियत मानव बेचबिखन हुन सक्ने आयोगले जनाएको छ । उद्धार गरिएका बालबालिकालाई बुधबार नै सम्झाई–बुझाई अभिभावकको जिम्मा लगाइएको छ ।
 
Published on: 12 January 2018 | Naya Patrika

Back to list

;