s

बलात्कारको आरोपमा अष्ट्रेलियामा एक नेपालीलाई साढे ६ वर्षको जेल सजाय

बलात्कारको आरोप लागेका एक नेपाली युवालाई मेलबर्नस्थित एक अदालतले साढे ६ वर्षको जेल सजाय सुनाएको छ। भण्डारी थरका २९ वर्षीय ती नेपाली युवाले करिब एक वर्षअघि २३ वर्षीया युवतीलाई यौन उत्पीडन गरेको र बलात्कार गरेको अभियोगमा अदालतले बिहीबार सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
 
समाचारमा जनाइएअनुसार बारिस्टाको रुपमा काम गर्ने नेपाली युवाले ती युवतीसँगै पबमा बसेर मदिरा पिउनुका साथै एकआपसमा चुम्बन समेत गरेका थिए। पछि युवतीको अनुमतिमा उनकै घरमा बास बसेकाे र युवती सुतेको अवस्थामा शारीरिक उत्पिडन पुर्‍याएको र बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो।
 
उक्त घटनाको बारेमा उजुरी परेपछि उनलाई अध्यागमनको हिरासतमा राखिएको थियो। ती युवाले आरोपलाई भने अस्वीकार गरेको बताइएको छ। निर्णय सुनाउने क्रममा न्यायाधीश रिर्चाड स्मिथले चुम्बनलाई शारीरिक सम्बन्धका लागि अनुमति मान्न नसकिने र युवतीले आफ्नो घरमा सुरक्षित महसुस गर्न पाउनुपर्ने बताएको उल्लेख गरिएको छ।
 
अष्ट्रेलियामा शारीरिक उत्पिडन र बलात्कारको घटनालाई गम्भीर रुपमा लिइने गरिन्छ। अष्ट्रेलियामा बलात्कारको अधिकतम् सजाय २५ वर्ष रहेको छ।
अष्ट्रेलियाको अदालती नियम अनुसार ती युवाले ४ वर्ष जेल सजाय पुरा गरेपछि परोलका लागि योग्य हुनेछन्। काम गर्ने भिषामा रहेका भनिएका उनी सजाय काटिसकेपछि सम्भवत: नेपाल फिर्ता पठाइने समेत उल्लेख गरिएको छ।
 
Published on: 12 July 2018 | Kantipur

Back to list

;