s

बजेटमा रोजगारीलाई प्राथमिकता

रुद्र खड्का/हिमाल लम्साल

काठमाडौं - कोरोना भाइरसका कारण स्वदेश र विदेशका लाखौं नेपाली बेरोजगार बन्ने सम्भावना देखिएको बेला सरकारले आउँदो बजेटमा रोजगारीलाई प्राथमिकता दिने भएको छ। आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०७७ का सिद्धान्त र प्राथमिकता सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री युवराज खतिवडाले उक्त जानकारी गराएका हुन्। विगतमा पनि सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्ने लक्ष्य नराखेको भने थिएन। योजनामा राख्ने तर कार्यान्वयन नगर्ने गर्दा बर्सेनि पाँच लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्यांक छ।

कोरोना भाइरसका कारण विभिन्न मुलुकमा रहेका लाखौं नेपाली घर फर्कने तयारीमा छन्। अर्थमन्त्री खतिवडाले कोरोनाका कारण गुमेको रोजगारी पुर्नस्थापित गर्न, विदेशबाट फर्कनेलाई रोजगारी उपलब्ध गराउन र स्वरोजगारी बढाउन कृषि, साना, घरेलु तथा मझौला उद्यममा संलग्न हुन उत्प्रेरित गर्ने गरी बजेट तर्जुमा गर्ने जानकारी दिए। विदेशमा रहेकामध्ये करिब १० लाख रोजगारी गुमाएर फर्कने अनुमान छ। अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्धका कारण वैदेशिक रोजगारीमा रहेका व्यक्ति अहिले फर्कन नसके पनि हवाई उडान सुचारु भएपछि श्रमिक फर्कन थाल्ने गैरआवासीय नेपाली संघले जनाएको छ।

 कोरोना भाइरसपछि वैदेशिक रोजगारीमा देखिन थालेका चुनौतीलाई स्वदेशमा काम गरी तीव्र आर्थिक वृद्धि गर्ने अवसरको रूपमा विकास गर्ने सरकारको तयारी छ।

कोरोना भाइरसकै कारण स्वदेशी उद्योग संकटमा पर्दा ठूलो संख्याका श्रमिकले रोजगारी गुमाउने अनुमान छ। यतिखेर अधिकांश उद्योग, धन्दा बन्द छन्। आगामी बजेटको प्राथमिकताबारे जानकारी दिँदै अर्थमन्त्री खतिवडाले सीपमूलक तालिममार्फत उद्यमशीलता र स्वरोजगारी सिर्जना गरी सबै नागरिकलाई उत्पादनसँग जोड्ने कार्यक्रम ल्याइने बताए। ‘श्रमिकको पारिवारिक, सामाजिक र आर्थिक हित बजेटको प्राथमकितामा रहनेछ,’ उनले भने।अनौपचारिक क्षेत्र र दैनिक ज्यालामा जीवन निर्वाह गर्ने श्रमिकलाई श्रममूलक प्रविधिमार्फत रोजगारीमा आवद्ध गरी आर्थिक क्रियाकलाप गराउने उनले जानकारी दिए।

खतिवडाले कृषिमा टुटेको उत्पादन सम्बन्धलाई पुर्नस्थापित गर्ने अवसरको रूपमा लिन कृषिमा स्रोत र साधनको परिचालन हुने बताए। आर्थिक वर्ष ०७७/७८ को बजेटमा कृषि क्षेत्रमा सिँचाइको व्यवस्थासहित कृषि सामग्री, प्रविधि र बजार सुनिश्चित गरिने उनले जानकारी दिए। स्वदेशमा रोजगारी सिर्जना, कृषिको उत्पादन वृद्धि आयात प्रतिस्थापन जस्ता नारा नेपालमा नयाँ भने होइनन्। वर्षौंदेखिका सरकारले यस्ता नारा दिँदै आए पनि व्यवहारमा भने फरक नतिजा देखिने गरेको छ। विज्ञहरूले अहिले विगतका गल्तीबाट पाठ सिक्नुपर्ने बताउँदै आएका छन्। सरकारले उत्पादनलाई जोड नदिँदा देश एकपछि अर्को समस्यामा फस्दै गएको उनीहरू बताउँछन्। कोरोना महामारीले उत्पादन वृद्धि गर्ने गरी योजना अघि बढाउने अवसर नेपालले प्राप्त गरेको बताइन्छ।

खतिवडाले आगामी बजेटमा होटल, रेस्टुरेन्ट, एअरलाइन्स, ट्राभल, ट्रेकिङ, पर्वतारोहण लगायत सम्पूर्ण पर्यटन क्षेत्रको पुनरुत्थानलाई उच्च प्राथमिकता दिइने बताए। उनले करको दायरा बढाउने समेत जानकारी दिए।

Published on: 11 May 2020 | Nagarik

Link

Back to list

;