s

वैदेशिक रोजगारीमा ठगी बढ्दो

देवबहादुर कुँवर
 
सरकारले बैदेशिक रोजगारका लागि खुला गरिएका ११० राष्ट्रमा उत्तर कोरिया पर्दैन । तर पनि आकर्षक तलवको लोभ देखाई कृषि फर्ममा काम लगाई दिने बहानामा जनही पाँचलाख रुपियाँ ठगी गर्ने गिरोह राजधानीमा नै सक्रिय रहेको पाइएको छ । 
 
त्यस्तैं, मकाउ खुला गरिएको ‘टापु’ मुलुक भए पनि पानी जहाजमा काम लगाइ दिने भन्दै आकर्षक तलवको प्रलोभ देखाइ ठगी गर्ने गिरोह त्यतिकै सक्रिय छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैदेशिक रोजगारको प्रलोभन देखाइ उत्तर कोरिया र मकाउ पठाउने नाममा ठगी गर्ने यो दुईवटै समूहका सदस्यलाई पक्राउ गरेको छ । ब्यूरो प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक नारायणसिंह खड्का भन्नुहुन्छ, ‘बैदेशिक रोजगारका नाममा ठग्नेभन्दा पनि ठगिने व्यक्ति सचेत हुनुपर्ने आवश्यकता छ । बैदेशिक रोजगारका लागि उत्तरकोरिया खुला छैन भन्ने कुरा जान्दाजान्दै पनि पैसा खर्चिनेहरूका कारण ठगीको समस्या बढेको हो ।’ गरिवी तथा बेरोजगारभन्दा अर्काको देखासिकी र दलालहरूको प्रलोभनका कारण ठगिनेहरूको सङ्ख्या धेरै छ, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले भन्नुभयो,‘‘ठगी कतिपयका लागि ‘आयआर्जन’ को मुख्य पेशा बनेको छ ।’’ 
 
यसअघि ब्यूरो प्रहरीले ब्राजिलको ग्रीन कार्ड उपलब्ध गराइ दिने भन्दै पाँच/छ जनाको समूहलाई भारतको दिल्ली पु¥याई हप्ता दिनसम्म अलपत्र पारी फरार सुर्खेतका सागर भन्ने लिलबहादुर मल्ललाई पक्राउ गरेको थियो । प्रहरी अधिकारी भन्छन,‘आर्थिक प्रलोभनका ठग्नेहरूको समूह हावी भएको हो ।’
 
बैदेशिक रोजगार ठगीमा संलग्न समूहले अपेक्षा नगरेको तलव सुविधा र कल्पना नगरेको मुलुकको नाम देखाएर युवालाई ठग्ने गरेको पाइएको छ । उपत्यकामा सक्रिय दलालहरूले बैदेशिक रोजगारीको ठगीलाई पेशाकै रूपमा अपनाउने गरेका छन् । बैदेशिक रोजगारमा हुने ठगीको सम्वन्धमा बैदेशिक रोजगार विभाग, प्रहरीको सिआईवी र महानगरीय प्रहरी अपराध महाशाखाले उजुरी सुन्ने गरेको छ । यी निकायहरूमा प्रत्येक दिन ठगीको उजुरी आउने गर्छन । बैदेशिक ठगीमा ब्यक्तिगत र संस्थागत दुबैको संलग्नता देखिएको छ । 
 
अपराध महाशाखा प्रमुख सिंहका अनुसार अन्य अपराधभन्दा ठगी अपराधको जालो चुनौतीपूर्ण ढङ्गले फैलिएको छ । महाशाखाका प्रत्येक दिन एकलाख रुपियाँभन्दा माथि रकम उल्लेख गरिएको १० वटा भन्दा बढी उजुरी पर्ने गर्छन । प्रमाणको अभावमा ठगीको कानुनी उपचार फितलो हुन जान्छ । 
 
त्यस्तैं, बैदेशिक रोजगार विभागमा पनि यस्तै समस्या देखिएको छ । विभागले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार, एकवर्षमा एक अर्ब ५२ करोड रुपियाँ विगो दावी सहित दुईहजार १२९ वटा ठगीका मुद्दा दर्ता भएका छन् । ती मुद्दामध्ये एकहजार २० संस्थागत छन् भने अन्य ब्यक्तिगत रहेका छन् । सरकारको स्वीकृति प्राप्त म्यानपावर कम्पनीमार्फत् भन्दा ब्यक्तिगत सम्वन्धका कारण अबैध बाटो प्रयोग गरी विदेश जान तछाडमछाड गर्दा ठगीको समस्या देखिएको दावी विभागको छ । कतिपयले बैदेशिक रोजगारकै नाममा ठगेर काठमान्डौमा घरजग्गा समेत खरिद गर्ने र शेयरमा लगानी गरेको पाइएको छ । 
 
यस्ता ब्यक्तिहरूले प्रायः नगद नै कारोवार गर्ने, रकम लिएको प्रमाण नदिने र उल्टै पीडितलाई हप्काउने गर्छन । ठगी गरी आर्जन गरेको घरजग्गा तथा अन्य कारोवार आफन्तको नाममा देखाइ कानुनी कारवाहीबाट समेत सजिलै उम्किने गरेको पाइएको छ । अपराध महाशाखाले आर्थिक वर्ष २०७४/७५ मा बैदेशिक रोजगारमा पठाइ दिने नाममा १२१ वटा उजुरी दर्ता भएको जनाएको छ । ती उजुरीमा १९१ निवेदकले १३ करोड ६९ लाख रुपियाँ ठगी भएको विगो खुलाइएको छ । ठगीमा संलग्न रहेको भनिएका १८७ मध्ये ३४ वटा मिलापत्र र २२ जनामाथि ठगी मुद्दा दर्ता गरिएको उल्लेख छ । 
 
अघिल्लो आर्थिक वर्षमा बैदेशिक रोजगार ठगीका ३६३ वटा उजुरी दर्ता भएका थिए । उजुरी दर्ता गर्ने ४५६ जनाले ४०४ जनालाई प्रतिवादी बनाएका थिए । महाशाखाले अधिल्लो आर्थिक वर्षमा ४४ करोड ४१ लाख ४७ हजार रुपियाँ बिगो बराबरको ठगी भएको जनाएको छ । सोमध्ये नौ करोड रुपियाँ असुल गरिएको तथ्याङ्मा उल्लेख छ ।
 
Published on: 31 July 2018 | Gorkhapatra

Back to list

;