s

वैदेशिक रोजगारीमा रोकिएन ठगी

तुलसी सुवेदी

वैदेशिक रोजगारीमा सुधारका प्रयास थालिए पनि ठगी रोकिएको छैन। सरकारले असोज १५ देखि अनलाइन प्रणालीबाट सेवा सुरु गरेपछि नयाँ ढंगबाट कामदारमाथि ठगी हुने गरेको पाइएको छ।

सोल्टीमोड आसपासका एजेन्टले विभिन्न बहानामा कामदारलाई ठगी गर्दै आएका हुन्। एजेन्टले फारम भर्ने, बिमा गर्ने, बैंकमा कल्याणकारी कोषको रकम जम्मा गर्नेलगायत बहानामा ठगी गर्दै आएका छन्। अवैधानिकरूपमा स्थापना भएका एजेन्टका विभिन्न कार्यालयले औसत एक हजार रुपैयाँ ठगी गरेका छन्। विभिन्न झन्झटबाट मुक्त हुने भएकाले पनि कामदारले लाग्ने शुल्कभन्दा केही बढी रकम दिने गरेका छन्। तर एजेन्टले रसिद नदिँदा कामदारले कुन शीर्षकमा कति शुल्क तिरेको भन्ने कामदारले भेउसमेत पाउँदैनन्।
 
वैदेशिक रोजगार ताहाचल कार्यालयका निर्देशक सुरेश जोशी वैदेशिक रोजगारीमा जाने कामदारलाई सम्पूर्ण सेवा दिन आउट सोर्सिङ कम्पनी गठन गर्न आवश्यक भएको बताउँछन्। ‘कार्यालय परिसरभित्रै उक्त संस्था स्थापना हुन आवश्यक छ’ ,उनले भने, ‘यसो हुन सके सेवाग्राही ठगिँदैनन्।’
 
सोल्डीमोड आसपासमा खुलेका अनलाइन सर्भिस सेन्टर तथा विभिन्न नामका एजेन्टले अन्धाधुन्ध कामदारलाई ठगी गर्दा वैदेशिक रोजगारीमा बेथिती बढ्दै गएको छ। कतिपय ती संस्था दर्ता नभई सञ्चालनमा आएका छन्। उनीहरूले कामदारको अनुहार हेरेर शुल्क लिने गरेको कामदारको गुनासो छ। सोल्टीमोड आसपासमा विभिन्न नाममा सटर भाडामा लिएर कामदार ठग्ने एजेन्ट कुनै पनि निकायमा दर्ता भएका छैनन्। वैदेशिक रोजगार विभागले त्यस्ता कम्पनीको वैधानिकता र गुणस्तरीय सेवाका लागि मापदण्ड बनाउन आवश्यक भएको कामदार बताउँछन्।
 
बिमामा बेथिती
 
वैदेशिक रोजगारीमा जाने कामदारको बिमाका नाममा व्यापक ठगी हुने गरेको छ। एजेन्टले सोल्टीमोडमा अनलाइन सर्भिस सेवा, अभिकर्ता सहजकर्ता कार्यालय तथा बिमाकै कम्पनीका नाममा सटर भाडामा लिएर कामदारमाथि ठगी गर्दै आएका हुन्। ती एजेन्टले एक कामदारबाट झण्डै एक हजार पाँच सयसम्म थप रकम असुल्ने गरेको खुलेको छ।
 
निर्देशक जोशीले कामदारले अनलाइनबाट आफै डकुमेन्ट पठाउन नसक्ने भएकाले अधिकांश कामदार ठगिएको स्वीकार गर्छन्। ‘अनलाइन सेवामा एकरुपता ल्याउन खोजिए पनि कतिपय कामदार ठगीमा परेका छन्’, उनले भने। अनलाइन सेवा दिएबापत तीन सय रुपैयाँ लिन पाउने व्यवस्था गरिए पनि एजेन्टले पाँचदेखि एक हजार पाँच सयसम्म असुल्दै आएका छन्। उनीहरूले रसिदसमेत नदिँदा कामदार मारमा परेका छन्।
 
सोल्टीमोडका अधिकांश व्यापारी ऐजेन्टका रूपमा काम गर्दै आएका छन्। उनीहरूले एकमुष्ठ रकम माग्ने र रसिद नदिने गर्नाले कामदारले कुन शुल्कमा कति तिरियो भन्नेसमेत भेउ पाउँदैनन्। वैदेशिक रोजगार म्यादी बिमामा लाग्ने प्रिमियमभन्दा झण्डै दोब्बर शुल्क लिएर एजेन्टले कामदार ठग्ने गरेका छन्। दुई वर्षको करार अवधिका लागि १८ देखि ३५ उमेर समूहकाले तीन हजार ४६ रुपैयाँ र ३६ वर्षदेखि ५० वर्षसम्मकाले चार हजार २५ रुपैयाँ लिने व्यवस्था छ।
 
 बिमा अनलाइनबाटै
 
वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगार म्यादी बिमाका नाममा हुने ठगी रोक्ने अभियान सुरु भएको बताए। ठगी रोक्न आउँदो साउनदेखि मोबाइलबाटै बिमा गर्न सकिने प्रणाली ल्याउन लागेको उनले जानकारी दिए। विभागले यो प्रणालीको असारमा परीक्षण र साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ। विभागले उक्त प्रक्रियाका लागि बिमा कम्पनीलगायत सरोकारवाला निकायसँग छलफल अघि बढाएको छ। ‘यस प्रणालीको विकाससँगै वैदेशिक रोजगारीमा जाने कामदारले घरमै बसी बिमा गर्न सक्ने छन्’, उनले भने। विभागका अनुसार कामदारले मोबाइलबाट बिमा गर्दा पासपोर्ट नम्बर र बिमा कम्पनीको नाम उल्लेख गर्नुपर्छ। ‘मोबाइलमा पासपोर्ट नम्बर र बिमा कम्पनीको नाम उल्लेख गरी बिमा शुल्कबापत् लाग्ने रकम बैंक तथा अनलाइनबाट पठाउन सक्छन्।
 
मोबाइलबाट बिमा गर्दा कागजात लिएर बिमा कम्पनी धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ। विभागले लाइन बस्नुपर्ने तथा दलालबाट ठगिनेलगायत समस्या हटाउन अनलाइन बिमाको व्यवस्था गर्न लागेको हो। कामदारले घरमै बसीबसी फारम भर्ने व्यवस्था सुरु भएसँगै ठगी रोकिने र कामदारलाई लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्।
 
मोबाइलबाट बिमा गर्दा म्यानपावरको नाम तथा सिरियल नम्बरसमेत उल्लेख गर्नुपर्छ। यस्तो व्यवस्थाले कामदार ठगिनबाट बच्न सक्ने विभागको दाबी छ। सरकारले २०६४ देखि वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार (म्यादी) जीवन बिमा गर्नुपर्ने व्यवस्था सुरु गरेको हो। वैदेशिक रोजगार ऐन २०६४ को दफा २६ मा वैदेशिक रोजागारीमा जानेहरूले बिमा गर्नुपर्ने व्यवस्था छ।
 
१८–३५ वर्ष उमेर समूहका दुई वर्ष ६ महिनाको वैदेशिक रोजगारीमा जाने व्यक्तिले तीन हजार पाँच सय २४ रुपैयाँ प्रिमियम तिर्नुपर्छ। बिमा समितिका अनुसार रिलायन्स इन्सोरेन्स कम्पनी, नेसनल लाइफ इन्स्सोरेन्स कम्पनी, सूर्य लाइफ इन्स्सोरेन्स कम्पनी, युनियन लाइफ कम्पनीले वैदेशिक रोजगार म्यादी बिमा गर्दै आएका छन्।
 
बिमा समितिले वैदेशिक रोजगार म्यादी बिमामा एउटै पोलिसी बनाउने तयारी गरेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। ‘अहिले कम्पनी आफैंले पोलिसी जारी गर्छन्’, उनले भने, ‘आगामी दिनमा एउटै पोलिसी जारी हुनेछ।
 
Published on: 19 May 2019 | Annapurna Post

Back to list

;