s

वैदेशिक रोजगारीमा महिला : गन्तव्य र प्रक्रिया फेर्दै ठगी

दलालले चेलीबेटी फकाउने, सुरक्षा निकायलाई छकाउने र बेचबिखनका प्रक्रिया नै फेरेका छन् । पहिला भारतका कोठीमा बेचिन्थे, अचेल भारतको बाटो हुँदै तेस्रो मुलुक पुर्‍याउने गरिएको छ ।

सुम्निमा चाम्लिङ

मोरङ रंगेलीकी १३ वर्षीया बालिका मेलाबाट घर फर्कंदै थिइन् । २०७५ वैशाख ७ गते घरनजिकै लागेको मेलाबाट घर फर्कंदै गर्दा भारत अररिया डहोबारीका ३५ वर्षीय मुजफर मियाले उनलाई मोटरसाइकलबाट घर पुर्‍याइदिने बहानामा भारत पुर्‍याए ।

मिया रंगेलीस्थित ससुराली घरमा बस्दै आएका थिए । बालिकाले नमान्दासमेत उनले जबर्जस्ती घर पुर्‍याइदिने भन्दै मोटरसाइकलमा बस्न दबाब दिएका थिए । उनले भारत, महाराजपुरको ५ तले भवनको एक अँध्यारो कोठामा लगेर बालिकालाई थुने । उनी २० दिन त्यही अँध्यारो कोठामा बस्न बाध्य भइन् ।
 
बालिकाका अनुसार दैनिकजसो पुरुषहरू आएर उनलाई हेर्ने र मोलमोलाइ गर्ने गर्थे । घर पुर्‍याइदिन आग्रह गर्दा कुटपिट गर्ने र धम्की दिइन्थ्यो । एक दिन मुजफ मियाँले उनको कोठामा फोन छाडेर गएको मौका छोपी बालिकाले आफ्नो ठूलो बुवालाई फोन गरिन् । ठूलो बुवाका अनुसार उनी बसेको कोठा र भवन रहेको नजिकै पसलको फोटो इमोमार्फत पठाइन् । त्यही फोटोको आधारमा उनलाई प्रहरी र अधिकारकर्मीको टोली उद्धार गर्न सफल भयो । रंगेली इलाका प्रहरी कार्यालयमार्फत अदालतमा मियाविरुद्ध मानव बेचबिखन मुद्दा दर्ता भएको छ ।
 
यस्तै सिराहाका तीन जना युवती भारतको पटनामा काम गर्न जाने भनी विराटनगर जोगबनी नाकामार्फत जाँदै थिए । शंका लागेर माइती नेपालका कर्मचारीले सोधपुछ गर्दा घरमा थाहै नदिइ भारतको पटना जाँदै गरेको खुलेको थियो । उनीहरूलाई काममा लगाइदिने भन्दै एक महिला ती युवतीहरूलाई पटना लैजाने तयारीमा थिइन् ।
 
युवतीको परिवारलाई फोन गरेर जानकारी गराउँदा नभनी हिँडेको पाइएपछि उनीहरूलाई सीमा नाकाबाट प्रहरीले नियन्त्रणमा लियो । लैजान खोज्ने महिलाविरुद्ध सिरहा प्रहरी कार्यालयमार्फत मानव बेचबिखन मुद्दा दर्ता भएको छ । बयानका क्रममा ती महिलाले अन्य महिलालाई समेत काम लगाइदिने बहानामा भारत पुर्‍याउने गरेको खुलेको थियो ।
 
गन्तव्य फेरिँदै
 
अधिकारकर्मी र प्रहरीका अनुसार पछिल्लो समय भारतको पटना चेलीबेटी बेचबिखनको मुख्य गन्तव्य बन्दै गएको पाइएको छ । माइती नेपालको विराटनगर शाखा प्रमुख विनोद पोखरेलका अनुसार दलालले चेलीबेटी फकाउने र सुरक्षा निकायको आँखामा छारो हाल्ने शैली र बेचबिखनको गन्तव्य फेरेका छन् ।
 
‘नेपाली चेलीहरू पहिले भारतका कोठीमा बेचिन्थे,’ उनले भने, ‘तर अचेल भारतको बाटो हुँदै दलालले तेस्रो मुलुक समेत पुर्‍याउने गरिएको पाइन्छ ।’ ओखलढुंगा पात्ले ४ मैदानेकी २० वर्षीया फुर्वा शेर्पा (नाम परिवर्तन) को परिवारको मुख्य पेसा चौरीपालन । ठूलो परिवार । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउनका लागि डेढ वर्षअघि गाउंको एक जना नाताले दिदी पर्ने सँग काठमाडौं पुगेकी थिइन् ।
 
एउटा सानो कोठामा डेरा गरी बस्दै एउटा मम पसलमा काम गर्थे । काम गरेअनुसार कमाइ नहुने भएपछि उनीहरूले मम खाजा पसल खोलेका थिए । व्यापार राम्रै थियो । पसलबाट कमाएको पैसाले केही घरखर्च पठाउन समेत पुगेको थियो । कोठा खोज्न पुगेको घरमा खोटाङका ४० वर्षीय सन्तोष राई बस्थे । उनले नै घरमा कोठा समेत मिलाइदिएका थिए । राईले उनी र उनका साथीलाई वैदेशिक रोजगारको प्रलोभन देखाउने गर्थे । उनीहरूले सुरुमा विदेश जाने कुरालाई बेवास्ता गरे । तर पटकपटक विदेशमा तलब राम्रो हुने, विदेश जानपैसा नलाग्ने भन्दै मनाए ।
 
परिवारलाई समेत विदेश जाने कुरा नबताउन भनेका थिए । उनीहरूले समेत विदेश जाने कुरा उनका बहिनीलाई बाहेक परिवारलाई बताएका थिएनन् । विदेश जाने भएसँगै दलालले सुरुमा दाङको तुलसीपुर हुँदै बुटवल पुर्‍याए । बुटवल सीमा नाकामा कडाइ भएकाले ५ दिन बन्धकसरह राखी मोरङको पथरी ल्याए । पथरीमा रहेका अर्का दुई जना दलालले रानी सीमा नाका पार गर्दै तेस्रो मुलुक पुर्‍याउने योजना बनाएका थिए । नाकामा जाँच भए विवाहित जोडी भन्न लगाएका थिए । सीमामा समातिए जेल बस्न पर्ने भन्दै झूटो बोल्न सिकाएका थिए ।
 
जोगबनी सीमा नाका पार गर्ने क्रममा साना हातहरू नेपाल विराटनगरका प्रतिनिधिले शंका लागी जाँचबुझ गर्दा २०७५ फागुन १२ गते युवतीको उद्धार गर्न सफल भएको हो । फागुन २१ गते सन्तोष राईमाथि रानी इलाका प्रहरी कार्यालयमा मानव बेचबिखनविरुद्ध मुद्दा दर्ता गरिएको छ । प्रहरीले यस घटनामाथि अनुसन्धान गरिरहेको बताएको छ । युवती र परिवारबीच भेट भइसकेको छ । उनीहरू हाल साना हातहरू नेपालको आवधिक गृहमा छन् ।
 
यी चेलीबेटी ओसारपसार तथा बेचबिखनका प्रतिनिधि घटना हुन् । नेपाली चेली भारत तथा भारतको बाटो हुँदै तेस्रो मुलुक बेचिने क्रम बढ्दै गएको छ । सुरक्षा निकाय र धेरैवटा गैरसरकारी संस्थाले चेलिबेटी बेचबिखनविरुद्ध विभिन्न कार्यक्रम गरिरहेका भए पनि मानव तस्करी तथा बेचबिखनको क्रम भने रोकिएको छैन ।
 
१२३ जनाको उद्धार
 
साना हातहरू नेपाल आवधिक गृह विराटनगरको तथ्यांकअनुसार आव २०७४ साउनदेखि २०७५ असारसम्ममा १ सय २३ जनाको उद्धार गरिएको छ । जसमध्ये १८ वर्षभन्दा मुनिका बालक २८ जना, बालिका ३१ जना, १९ वर्षदेखि २४ वर्षभित्रका ४० जना,२५ वर्षभन्दा माथिका २४ जना छन् ।
 
भारत हुँदै तेस्रो मुलुकका लागि लैजाँदै गरेको १६ जना, बालश्रमका लागि बालक २४ र बालिका १२ जना, बाल विवाहमा २३ जना, घरबाट भागेर रोजगारका लागि भारत जाँदै गरेको १२ जना, सर्कसमा बेचबिखनमा गर्न लागेको २ जना, यौन शोषणका लागि भारत लैजाँदै गरेको २ जनाको उद्धार भएको छ । यसै वर्षमा ५ वटा मुद्दा मानव बेचबिखनविरुद्ध दर्ता भएको छ । ‘साना हातहरू नेपाल’ विराटनगरका स्टेशन म्यानेजर विवश श्रेष्ठका अुनसार विगतको तुलनामा बेचबिखनको घटना बढ्दै गएको छ ।
 
‘अधिकांश महिलाहरू वैदेशिक रोजगारका लागि लालायित हुने गरेको पाइएको छ । त्यसको फाइदा दलालहरूले उठाइरहेका छन्,’ उनले भने, ‘केही समय अघिसम्म दलालले मायाप्रेमको नाटक गरी विवाह गर्ने र भारतमा बेच्ने चलन थियो । अचेल वैदेशिक रोजगारको बहानामा भारत हुँदै तेस्रो मुलुकमा नेपाली चेलीहरू बेचिएको अवस्था छ ।’
 
उनका अनुसार पछिल्लो समय ५० प्रतिशत बेचबिखनको घटना रोजगारको प्रलोभनमा पर्दा भएको तथ्यांक छ । केही समययता बालबालिकाहरू समेत बढी प्रयोग हुने गरेको उनले बताए । नेपाल सरकारले मानव बेचबिखन न्यूनीकरणका लागि रोजगारमुखी अभियानहरू सञ्चालन गर्नजरुरी उनले बताए ।
 
भारतबाट फर्काइयो
 
माइती नेपाल आवधिक गृह विराटनगरका अनुसार आर्थिक वर्ष २०७४ साउनदेखि २०७५ असारसम्म विराटनगर जोगबनी नाकाबाट भारत तथा भारतको बाटो हुँदै तेस्रो मुलुक लैजाँदै गरिएका १ सय ७ जनाको उद्धार गरिएको छ । जसमध्ये १८ वर्षभन्दा माथिका ६३ जना र १८ वर्षभन्दा तलका ४४ जना छन् । तीमध्ये केहीलाई भारतका विभिन्न स्थानबाटै उद्धार गरीफकाइएको पोखरेलले बताए ।
 
विराटनगर रानीस्थित सीमा प्रहरी चौकीका असर्ई मिठुमाया खड्काले गरिबी, बढ्दो सहरीकरण तथा अर्काको देखासिखी, बेरोजगार, सामाजिक सञ्जालको दुरुपयोगका कारण चेलीबेटी बेचबिखनको घटना बढ्दै गएको बताइन् । ‘मानव बेचबिखनमा पछिल्लो समय पुरुषभन्दा महिला सक्रिय छन्,’ उनले भनिन् ।
 
घटनामा नजिकका व्यक्ति जोडिँदा पीडितले समाजमा पुनःस्थापना हुन समस्या हुने डरका कारण पीडितले दोषीविरुद्ध उजुरी गर्नै आनाकानी गर्ने गरेको पाइन्छ । मानब बेचबिखन तथा चेलीबेटी ओसारपोसार न्यूनीकरणका लागि समुदायमा विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको यस क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि बताउँछन् ।
 
बेरोजगारीका कारण थुप्रै नेपाली चेलीहरू विदेश जाने बहानामा बेचिने क्रम बढेको भन्दै उनीहरूले सरकारले सीमा नाकामा कडाइ गर्नुकासाथै युवालक्षित रोजगारमूलक तालिमहरू दिनुपर्ने बताउँछन् ।
 
Published on: 14 April 2019 | Kantipur

Back to list

;