s

वैदेशिक रोजगारीमा जानेको संख्या घट्नुका कारण

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेको संख्या घटेको बताएको छ। गत वर्षदेखि दैनिक १२ देखि १३ सय संख्याको हाराहारीमा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या अहिले ३९ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्म कुमार भुसालले बताए।

बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा महानिर्देशक भुसालले वैदेशिक रोजगारमा जानेहरूको संख्या घटे पनि रेमिट्यान्समा भने वृद्धि भएको बताए। मलेसिया, कतारजस्ता देशमा देखा परेको पछिल्लो परिस्थिति र नेपालको आन्तरिक अवस्था सुधारका कारणले पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको उनको तर्क छ। भुसालले वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणका लागि विभागले विशेष काम सुरू गरेको दाबी गरे। उनले पछिल्लो समयमा संस्थागत ठगी धेरै भएको भन्दै विभागले त्यसको नियन्त्रणका लागि काम गरिरहेको बताए। ‘वैदेशिक रोजगारमा जाने नपालीहरूमाथि संस्थागत ठगी बढेको पाइएको छ’, उनले भने,‘त्यस्ता ठगी नियन्त्रणका लागि विशेष रणनीतिका साथ काम गर्ने विभागले लक्ष्य लिएको छ।’ उनले विभागको प्रशासनिक क्षेत्रमा देखापर्ने अनुशासनहीनतालाई अन्त्य गर्ने विभागको योजना रहेको बताए। विभाग अर्धन्यायिक निकाय भएको भन्दै उनले ५ हजार मुद्दाहरू बक्यौता रहेको र दिनानुदिन मुद्दाहरू आउने हुँदा फरफारक गर्न समस्या देखिएको बताए। उनले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि कर्मचारी र व्यवसायीको शुद्धीकरण गर्न लागिएको बताए। रोजगारका लागि विदेश जाँदा कोही पनि ठगिन नपरोस् भनेर सूचना र सचेतना कार्यक्रमलाई स्थानीय तहमा केन्द्रित गरिने भुसालले जानकारी गराए। उनले ठगीमा गाउँगाउँमा रहेका एजेण्टहरूको ठूलो भूमिका रहेको भन्दै जापान जाने र पठाउने नाममा ठूलो चलखेल भैरहेको र हल्लैहल्लामा जापान अहिले कमाइ खाने भाँडो भएको बताए।

वैदेशिक रोजगारलाई सहज र व्यवस्थित गराउने गरी विभागले अनलाइन पद्धतिबाट श्रम स्वीकृति, नविकरणजस्ता विभिन्न सेवा उपलब्ध गराउने तयारी गरिएको बताए। उनले मेनपावर कम्पनीहरू खारेज भैसकेको भन्दै वैदेशिक रोजगारको नाममा पासपोर्ट होल्ड गर्ने जो कसैलाई पनि पक्राउ गर्ने र कानुन अनुसार कारबाही गर्ने बताए। जापानिज भाषाका लागि अझै पनि ‘लेवलिङ’ नभएको भन्दै इष्टिच्युटहरूले लेवलिङ गरिएको भन्ने विषयमा कुनै तुक नभएको बताए। ‘भाषाको नाममा कमाइ खाने गरी इष्टिच्युटहरूले काम गरिरहेका छन्’, उनले भने,‘जापानले भाषा र सीपको परीक्षणका आधारमा मात्र रोजगारमा लैजाने हो।’ साक्षात्कारमा बोल्दै इपियस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले कोरियामा रोजगारीका लागि लैजाने प्रक्रिया निश्चित प्रणालीमा नै सञ्चालन भैरहेको बताए। उनले नेपालमा नाम निकालेर पालो कुरेकाहरू सिस्टम अनुसार नै जाने बताए।

Published on: 2 June 2019 | Setopati

Back to list

;