s

वैदेशिक रोजगारका ठगी तथा गुनासा सम्वोधन गर्न खुल्यो ‘कल सेन्टर’

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कल सेन्टर’ संचालनमा ल्याएको छ। बैदेशिक रोजगार बोर्ड सचिवालयको ब्यवस्थापनमा सञ्चालनमा आएको कल सेन्टरमा विशेषत वैदेशिक रोजगारीमा हुने गरेका ठगी तथा गुनासाहरु टिपाउन सकिनेछ। साथै आफ्ना गुनासा तथा समस्या सम्वोधन भए नभएका बारेमा जानकारी पाउन सकिनेछ।
 
बैदेशिक रोजगारीका क्रममा ठगीमा परेका, बिदेशमा अलपत्र परेका वा स्वास्थ्य समस्याबाट पीडित भई घर फर्किन चाहनेले वा तिनका परिवारले निशुल्क कल सेन्टरमा सम्पर्क गरि सहायताका लागि अनुरोध गर्न सक्ने छन्। त्यस्तै विदेशमा कुनै कारणले मृत्यु भएमा उनीहरुको शव ल्याउन वा सहायताका लागि आग्रह गर्न सक्नेछन्। झुटा मुद्दामा परि जेल सजाय भोगिरहेका कामदारले पनि सहायता लिनसक्ने छन्।
 
कल सेन्टरमार्फत गुनासा तथा समस्याहरु मन्त्रालय र सम्बद्ध निकायसम्म पुग्नेछन्। ति गुनासा तथा समस्या सम्वोधनका लागि भइरहेका प्रयास र समाधान भए नभएको बारे पनि सूचना लिन सकिनेछ।कल सेन्टर मार्फत बैदेशिक रोजगार बिभाग, बैदेशिक रोजगार बोर्डको सचिवालय, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोष र मन्त्रालय मातहतका अन्य निकायबाट भइरहेका काम कारवाहीबारे जिज्ञासा राख्नेलाई जानकारी दिइने मन्त्रालयले जनाएको छ।
 
आन्तरिक तथा बैदेशिक रोजगारी, सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही र सरोकारवालाका समस्या, जिज्ञासा, गुनासा र सुझावलाई प्रत्यक्ष संकलन र संबोधन गर्नु नै कल सेन्टरको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। बैदेशिक रोजगारसँग सम्बन्धित पूर्व प्रस्थान अभिमूखीकरण कार्यक्रम, सीप बिकास कार्यक्रम, बैदेशिक रोजगारीमा सुरक्षित रुपमा जान अपनाउनुपर्ने प्रकृयाहरु यस क्षेत्रमा आवद्ध सरकारबाट स्वीकृति प्राप्त निजी संघसंस्थाबारे समेत यस कल सेन्टरमा आधिकारिक जानकारी प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।
 
यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमा सहभागि हुने प्रकृयाहरु, यस सम्बन्धमा भोग्नुपरेका समस्या तथा प्रधानमन्त्री रोजगार कार्यक्रमबारे कल सेन्टरमा जिज्ञासाहरु राख्न सकिनेछ। ति गुनासा सुनुवाई गरि तत्काल संबोधन गर्न कल सेन्टरबाट सम्वन्धित निकायमा सुनुवाईका लागि पहल गरिने छ। साथै सम्बन्धित निकायले सम्बोधन गरे नगरेको बिषयमा मन्त्री, सचिव लगायतका पदाधिकारीबाट नियमित अनुगमन गर्न सक्ने ब्यवस्थामा उल्लेख छ।
 
गुनासो, सुझाव वा जानकारी दिनका लागि स्वदेशबाट भए कलसेन्टरको नम्बर ११४१ वा १६६००१५०००५ मा फोन गर्न सकिने छ। तथा बिदेशबाट भए इमेल, फेसबुक, मेसेन्जर, इमो, भाइबर जस्ता अनलाईन नेटवर्क मार्फत वा कलसेन्टरको सम्पर्क नम्बर प्लस ९७७१५९७०००८ मा निशुल्क रुपमा फोन गर्न सकिने छ। हाल केही समयका यो सेवा परिक्षणका लागि सञ्चालन गरिने छ।
 
परीक्षणकालमा नेपाल टेलिकमका प्रयोगकर्ताका लागि मात्र निशुल्क गरिएको छ। कल सेन्टरको सेवा हरेक दिन बिहान ७ बजे देखि बेलुका ८ बजे सम्म उपलब्ध गराइने छ। सेवाग्राहीको मागलाई ध्यानमा राखि आउँदा दिनमा सेवा आवश्यकता अनुसार २४ घण्टा र निशुल्क गराउने मन्त्रालयले जनाएको छ।
 
Published on: 1 April 2019 | Setopati

Back to list

;