s

वैदेशिक रोजगारीबाट फर्केका युवाले पाउँछन् सहुलियत ऋण, कसरी लिने ?

वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै व्यवसाय गर्न चाहेमा सरकारले सहुलियत दरको ऋण प्रदान गर्ने गरेको छ।यस्तो ऋणमा ५ प्रतिशत व्याज अनुदान पाइन्छ। अर्थात ऋण लिएवापत बैंकलाई तिर्नुपर्ने व्याज सस्तो पर्न आउँछ। कुनै पनि देशमा कम्तीमा ६ महिना काम गरी फर्केका युवाले स्वदेशमै व्यवसाय गर्न यस्तो ऋण लिन पाउँछन्। ऋण लिने व्यक्ति विदेशबाट फर्केको ३ वर्ष नाघेको हुुनु हुँदैन।
 
यसरी ऋण लिँदा अर्को फाइदा पनि छ, थप सम्पत्ति धितो राख्नु पर्दैन। अर्थात जुन व्यवसाय गर्न थालिएको छ, त्यो नै धितो हुन्छ। बैंकको आधार व्याजदरमा २ जोडेर पर्न आउने व्याजमा सरकारले ५ प्रतिशत तिरिदिन्छ। ८ प्रतिशत आधार व्याजदर भएको बैंकबाट ऋण लिँदा व्याज ५ प्रतिशत मात्रै पर्न आउँछ। राष्ट्रिय वाणिज्य बैंकको आधार व्याजदर सबैभन्दा कम ६. ३३ प्रतिशत मात्रै छ। सो बैंकबाट लिँदा ३. ३३ प्रतिशत मात्रै तिरे पुग्छ। यसका लागि व्यवसाय गर्ने युवाले व्यवसायको बारेमा विस्तृत ढाँचा भने उपलव्ध गराउनुपर्छ। सो व्यवसायको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था छ। बीमा गर्दा पनि प्रिमियम रकम २५ प्रतिशत मात्रै तिरे पुग्छ। बाँकी ७५ प्रतिशत राष्ट्र बैंकको शोधभर्ना खाताबाट हुन्छ।
 
के के व्यवसायका लागि पाइन्छ ऋण ? 
 
खाजा, चिया पसल संचालन गर्न, कृषि उत्पादनको प्रशोधन कार्य गर्न, सुनचाँदी, फलाम तथा गरगहनाको व्यवसाय गर्न यस्तो ऋण पाइन्छ। टेम्पो, ट्याक्सी, बस संचालन गर्न यस्तो ऋण पाइन्छ। इलेक्ट्रोनिक्स सामान मर्मत केन्द्र, कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर सम्वन्धी व्यवसाय गर्न, साइबर संचालन गर्न यस्तो ऋण परिचालन गर्न सकिन्छ।
 
तिबाहेक सबै कृषि कामका लागि ऋण पाइन्छ। धान, गहुँ, मकै, कोदो, जौँ, तोरी, सरस्युँ, केराउ, चना, भटमास लगायत अन्नबाली उत्पादन तथा प्रशोधनका लागि यस्तो ऋण लिन सकिन्छ। त्यस्तै चिया, अलैँची, नरिवल, कपास, अल्लो, अदुवा, रबर, उखु, मरिच, बेसार जस्ता नगदेबाली गर्नेहरुले यो ऋण लिन पाउँछन्।
 
लसुन, प्याज, काउली, बन्दा, कुरिलो, भेन्टा, ब्रोकाउली, गोलभेंडा, खुर्सानी, पिडालु, मुला, गाजर, तरुल, घिरौंलाजस्ता तरकारी खेतीका लागि यो ऋण पाइन्छ। आँप, सुन्तला, स्याउ, अनार, अम्बा, कागती, केरा, लप्सी, लिची, मेवाजस्ता फलफूल खेतीका लागि यो ऋण लिन सकिन्छ। यीबाहेक गाई, गोरु, भैंसी, बाख्रा, कुखुरा, मौरीपालनका लागि ऋण लिन सकिन्छ। मत्स्यपालन, बंगुरपालन, रेशमकिरा पालनको लागि ऋण लगानी गर्न सकिन्छ। तपाईले गर्ने व्यवसायका लागि चाहिने कृषि यन्त्रहरु, औषधि तथा दानापानीका लागि यो रकम खर्चिन सकिन्छ।
 
कसरी लिने ऋण ?
 
वाणिज्य बैंकहरुको कुनै पनि शाखामा गई वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जाको आवेदन भर्न सकिन्छ। बैंकमै फारम पाइन्छ। त्यस्तै अर्को परियोजनाको प्रस्ताव भर्नुपर्छ।
 
परियोजनाको प्रस्ताव बैंकले उपलव्ध गराएको ढाँचामै भर्नुपर्छ। जुन व्यवसाय गर्ने हो त्यो फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी हुनुपर्छ। आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको स्थायी लेखा नं. प्रमाणपत्रको प्रतिलिपी हुनुपर्छ। राहदानीको प्रतिलिपी, प्रवेशाज्ञाको प्रतिलिपी, ऋणी र जमानतदाताको नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपी, परिवारका सदस्यको नागरिकता प्रमाणपत्र प्रतिलिपी आवश्यक पर्दछ। त्यस्तै निवेदक विदेशमा गई कम्तीमा ६ महिना सम्वन्धित तालिम वा पेशा गरेको खुल्ने कागजातको प्रतिलिपी चाहिन्छ।
 
ऋण नपाए राष्ट्र बैंकमा उजुरी गर्नुहोस् 
 
सहुलियत व्याजदरको ऋण लिनका लागि आफूले प्रक्रिया पुर्याउँदा पुर्याउँदै पनि चाहेको बैंकको कुनै शाखाले दिन नमानेमा तपाईले सिधै राष्ट्र बैंकमा उजुरी गर्न सक्नुहुन्छ। राष्ट्र बैंकको नजिकको क्षेत्रीय कार्यालय वा प्रधान कार्यालयमा सीधै फोन गरी वा इमेलमार्फत उजुरी गर्न सकिने प्रवक्ता नारायण पौडेलले जानकारी दिए। [email protected] मा इमेल गरी वा फोन नं. ०१ ४४११४०७ मा गुनासो गर्न सकिनेछ।
 सस्तो व्याजका लागि हेर्नुहोस् कम आधारव्याज भएको बैंक (असोज मसान्तसम्मको विवरणअनुसार) 
 
Rastriya Banijya 6.33%
Nepal Bank 7.52%
Nabil 8.06%
Standard Chartered 8.14%
Everest 8.80%
Nepal Investment 9.03%
Himalayan 9.22%
Prabhu 9.49%
Prime 10.39%
Nepal SBI 10.43%
Mega 10.55%
Sanima 10.55%
Global IME 10.59%
Siddhartha 10.62%
Bank of Kathmandu 10.62%
NMB 10.68%
NIC Asia 10.77%
Nepal Bangladesh 10.84%
Sunrise 10.97%
Civil 10.98%
Kumari 11.09%
Machhapuchchre 11.21%
Janata 11.22%
Laxmi 11.28%
Nepal Credit & Commerce 11.45%
Citizens 11.47%
Century 11.51%
Agriculture Dev 12.32%
 
Published on: 9 January 2019 ।  Setopati

Back to list

;