s

वैदेशिक रोजगार कार्यदल बन्यो

वैदेशिक रोजगारीका लागि गएका कामदारको अवस्था अध्ययन गर्न संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले बिहीबार सभासद शिवबहादुर खड्काको संयोजकत्वमा ७ सदस्यीय वैदेशिक रोजगार तथा निरीक्षण कार्यदल गठन गरेको छ ।

समिति सदस्यमा सभासद कौशर शाह, कमलाकुमारी घिमिरे, जीवन श्रेष्ठ, तेजकुमारी पौडेल, दलजित बीके श्रीपाली र उषा यादव छन् । समितिका सभापति सुशीलकुमार श्रेष्ठले कार्यदलले परराष्ट्र, श्रम, वैदेशिक रोजगार विभाग, म्यानपावर कम्पनीको निरीक्षण र जानकारी लिएर तीन हप्तामा प्रतिवेदन बुझाउने बताए । 'वैदेशिक रोजगारमा गएका कामदार ठगिएको, दुःख पाएको जानकारी आइरहेपछि अध्ययनका लागि कार्यदल गठन गरेका हौं,' श्रेष्ठले कान्तिपुरलाई भने, 'कार्यदलको रिपोर्टको आधारमा सरकारलाई निर्देशन दिनेछौं ।'

समितिले नेपालका कारागारको व्यवस्थापन र बन्दीहरूको मानवअधिकार अवस्थाबारे अध्ययन गरी ३ सातामा प्रतिवेदन बुझाउने गरी सभासद पाँचकर्ण राईको संयोजकत्वमा ७ सदस्यीय स्थलगत निरीक्षण कार्यदल गठन गरेको छ । कार्यदलका सदस्यमा भोटनीदेवी खवास, प्यारेलाल राना, सबिया प्रवीण, कमला दोङ, श्यामसुन्दर टिवडेवाल र गीता क्षेत्री छन् । समिति सभापति श्रेष्ठले मानवअधिकार उल्लंघनका जुनसुकै घटनाको खोजीमा आफूहरू लाग्ने बताए ।

Published on: 7 November 2014 | Kantipur

Back to list

;