s

वैदेशिक रोजगार विभाग, सोल्टीमोडबाट ७ जना बिचौलिया पक्राउ

प्रहरीले काठमाडौंको सोल्टीमोडस्थित वैदेशिक रोजगार विभागबाट ७ जना बिचौलियालाई पक्राउ गरेको छ।सो विभागमा सेवाग्राहीहरूलाई ठगी गर्ने बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको हो।
 
महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरू काभ्रे साखु घर भई हाल कालिमाटी बस्ने २५ वर्षीय भरत तामाङ, काभ्रे मंगलटार घर भई हाल काठमाडौं न्यूरोड बस्ने ३७ वर्षीय दिपु शाह, भक्तपुर बोडेका ३६ वर्षीय मनुराज न्यौपाने, मोरङ पट्यारी घर भई हाल भक्तपुर बालकोट बस्ने २४ वर्षीय पुजन राई, काभ्रे कोशीपारी घर भई हाल काठमाडौं सानो भर्‍याङ बस्ने ३५ वर्षीय गणेश तामाङ, काठमाडौं बाफलका २० वर्षीय बिकल शाही र काठमाडौं बाफलकै २६ वर्षीय राजेश तामाङलाई सार्वजनिक गरेको हो।
 
सेवाग्राहीमाथि ठगी गर्नेहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिए। यसैगरी, महानगरीय प्रहरी परिसर, काठमाडौंले सामान ठगीमा संलग्न कैलालीका बासुदेव  मैनालीलाई पनि पक्राउ गरेको छ।नक्कली चेक दिई काठमाडौंको विभिन्न स्थानबाट फ्रिज, टेलिभिजन, जेनेटर, विदेशी रक्सीलगायतका सामान ठगी गरेको आरोपमा मैनालीलाई पक्राउ गरिएको पनि एसएसपी लामाले बताए।प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट लागुऔषध २३ ग्रामसहित १० जनालाई पक्राउ गरेको छ।
 
काठमाडौंको सुकेधारा, नागढुंगा, तीनकुनेबाट खैरो हिराइन लागुऔषधसहित कारोबारमा संलग्न १० जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको पनि महानगरी प्रहरी परिसर, काठमाडौंले जनाएको छ। हिजो र आज बिहानभित्र लागुऔषध कारोबारमा संलग्न १० जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको परिसरका प्रमुख बसन्तकुमार लामाले जानकारी दिए।
 
Published on: 9 January 2019 । Setopati

Back to list

;